सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य « Khabarhub

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य


१ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ ।

चार किलोमिटर टाढा छरिखोलागाउँबाट मूलको पानी लिएर एक सय ८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ । 

तीन महिनामा बागलुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र स्थानीय रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा  एक करोड नौ लाख खर्चेर घरघरमा खानेपानीको धारा निर्माण गरिएको स्थानीय मुरारी शर्माले बताए ।

विसं २०५८ सालबाटै छरिखोलाबाट पानी ल्याउन थाले पनि व्यवस्थित नहुँदा सामुदायिक धाराका कारण खानेपानीको समस्या भएको र अहिले घरघरमै २४सै घन्टा खानेपानीको सुविधा भएको उनको भनाइ छ ।

‘काठेखोला पुगेर पानी लिएको पुर्खाले बताएको सुन्दै आएका थियौँ, अहिले घरघरमै खानेपानीको धारा आएको छ, पहिलाको पानी व्यवस्थित नहुँदा समस्या थियो, हिउँदमा त पानी भर्न पालो कुर्नुपर्ने अवस्था थियो’, स्थानीय मुरारी शर्माले भने, ‘बागलुङ नगरपालिकाको पहलकदमीलाई विशेष धन्यवाद दिन चाहन्छौँ, बागलुङ बजारसँग जोडिएको गाउँ भए पनि बत्तीमुनिको अँध्यारो जस्तो भएको थियो रातमाटा, यहाँको खानेपानीको दुःख, सङ्घर्ष र पीडा भनिसाध्य थिएन, अहिले विकासको महसुस गरेका छौँ ।’

पटकपटक खानेपानी आयोजना परे पनि व्यवस्थित नहुँदा खानेपानीको दुःख नगएको भन्दै अहिले नेवाको आर्थिक तथा प्राविधिक सहयोग नगरपालिकाको र स्थानीय उपभोक्ताको साझेदारीमा एक सय ८१ धारा बनेकामा एक सय ७५ घर र छ वटा सार्वजनिकस्थल तथा विद्यालयलगायतका स्थानमा धारा निर्माण गरिएको हो ।

रातमाटामा खानेपानीको दुःख पहिलेदेखि सुन्दै आएको बताउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले तीन महिनामा एक करोड नौ लाखको आयोजनाको काम सम्पन्न हुनु गौरवको विषय भएको बताए । उनले आफ्नो कार्यकालभित्रै सर्भे गरेको योजना यति छिट्टै सम्पन्न भएर आफ्नै हातले उद्घाटन गर्न पाएकामा नेवालाई धन्यवाद व्यक्त गरे ।

‘नेवाको साझेदारीमा एक वर्षभित्रै सङ्कटग्रस्त क्षेत्र लङ्गाउँमा लिफ्टमार्फत खानेपानी वितरण गरियो, त्यसको एक महिनापछि रातमाटामा एक सय ८१ घरमा खानेपानी पुर्‍याएको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘खानेपानीको दुःख रहेको रातमाटाका घरघरमा धारा बन्दा स्थानीयको दैनिकी फेरिने भयो ।’

नेवाको ६७ लाख ५९ हजार नौ सय ८५, नगरपालिकाको १६ लाख ९३ हजार सात सय ९४, स्थानीय समुदायको नगद ६ लाख ३४ हजार एक सय ८३ र स्थानीयको श्रमदान बराबरको १९ लाख ६९ लाख नौ सय १६ गरी एक करोड नौ लाख ७५ हजार सात सय ५७ रकममा उक्त खानेपानी आयोजना निर्माण सुरु भएको तीन महिनामै सकिएको रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव दिपक शर्माले जानकारी दिए ।

शर्माका अनुसार आयोजना सम्पन्न गर्न नेवासँग २०७९ पुस २६ गते सम्झौता भए पनि चैतदेखि निर्माणको काम थालिएकामा निर्माण सुरु भएको तीन महिनामै खानेपानी आयोजनाको काम सकिएको हो । 

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हितनाथ शर्माले चार किलोमिटर मुख्य पाइपलाइनसहित घरमा घारा पुर्‍याउँदासम्म १८ किलोमिटर पाइपलाइन, तीन वटा इन्टेक, पाँच वटा वितरण ट्याङ्कीमार्फत रातमाटा गाउँका घरघरमा धारा वितरण गरिएको बताए ।

खानेपानीको चरम सङ्कट भएको स्थानमा नेवाले स्थानीय सरकारको नगद साझेदारीमा –एक घर, एक धारा’ निर्माण गरिरहेको जनाउँदै नेवा बागलुङका कार्यालय प्रमुख रमेश दाहालले बागलुङको रातमाटासहितका ठाउँमा पाँच वर्षमा पाँच हजार धारा निर्माण गरिएको बताए ।

विसं २०५८ सालमा मा ‘रातमाटाको नारा घरघरमा खानेपानीको धारा’ भन्ने गरिएको अभियान अहिले आएर मात्रै पूरा भएको स्थानीय लक्ष्मी शर्माले जानकारी दिए । 

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  १ : ३१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको