साझा पर्वका रुपमा विकास हुँदै छठ पूजा « Khabarhub

साझा पर्वका रुपमा विकास हुँदै छठ पूजा


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शनिबार दिन ढल्दै गर्दा सन्तोष साह ललितपुरको कुपण्डोल नजिकै बागमती नदी किनारमा बत्ती जडान गर्दै थिए । भारत घर भएका साह हरेक वर्ष यसैगरी तिहार र छठ जस्ता पर्वमा बत्ती जडान गर्न यहाँ आउँछन् । नदी किनारमा छठ पूजाका लागि  झिलिमिली बत्ती सजावटको जिम्मेवारी यसपटक पनि उनी आफैले लिएका छन् । “हरेक वर्ष छठमा यहाँ बत्ती जडान मैले नै गर्दै आएको छु”, उनले भने, “यसपाली पनि मैले नै जिम्मेवारी लिएर काम गरेको छु ।”

साहसँगै विराटनगरका रमेश अग्रवाल पनि छठको तयारीमा व्यस्त देखिन्थे । छठ पूजाका लागि बागमती नदी किनारमा बालुवा मिलाउँदै उनले भने, “म विगत ३० वर्षदेखि थापाथली घाटमा छठ पूजा गर्दै आएको छु ।” अग्रवाललाई काठमाडौँका प्रदीप गिरीले साथ दिइरहेका छन् । उनीहरु नजिकै पाल टाँगिरहेका उदयपुरका प्रवेश परियारको व्यस्तता पनि कम थिएन । पाल कस्दै परियारले आफूले पछिल्लो तीन वर्षयता छठ पूजाका लागि यहाँ पाल बनाउँदै आएको सुनाए ।

आरके रेन्टल एण्ड टेण्ट हाउसमार्फत १५ भन्दा बढी मजदुर छठ पूजाको तयारीका लागि पूजास्थल बनाउन जुटिरहेका थिए । बत्ती जडान र गेट बनाउनेलगायतका काममा उल्लेख्य सङ्ख्यामा मजदुर खटिएका छन् । सजावटको काम सकिएपछि सो स्थानमा छठी माताको मूर्ति पनि राखिनेछ । छठ पूजा समिति कुपण्डोलका संयोजक सतिशकुमार झाले छठ पूजाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

उनले छ सय हाराहारी बर्तालुको व्यवस्थापन हुने गरी छठ पूजाको तयारी गरिएको बताए । संयोजक झाले भने, “पाल टाँगेर बत्ती सजावटको काम सकिएको छ । छठी माताको पूजा गरी रातभर जाग्राम बस्ने भक्तजनको व्यवस्थापनको काम गरिरहेका छौँ, गत वर्षको तुलनामा यसपटक भक्तजन बढ्ने अनुमान गरिएको छ ।”

काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो र ऐतिहासिक छठ पूजा समितिका रुपमा दर्ता भइ हरेक वर्ष छठ पूजा आयोजना गरिदै आएको संयोजक झाको भनाइ छ । कुपण्डोल पुलदेखि पश्चिमतर्फका बागमती नदी किनारमा १५ वर्षदेखि छठ पूजा गर्दै आइएको समितिले जनाएको छ । पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक बढ्दै गएको छ । तराई–मधेसमा मात्र नभई मुलुकका सबै भू–भागमा छठ पर्व मान्ने चलन विस्तार भइरहेको छ । विभिन्न समुदायले सामूहिक रुपमा छठ पर्व मनाउँदै गर्दा छठ साझा पर्वका रुपमा विकास भएको छ ।

छठ पर्वले सामाजिक सद्भाव कायम गर्दै आपसी भाइचारा अभिवृद्धिमा महत्पूर्ण योगदान दिएको छ । छठ सबै समुदायको साझा पर्वका रुपमा मानिँदै आएको समितिका संयोजक झाको भनाइ छ । “काठमाडौँमा छठ पर्व चिनाउने भनेकै यही छठ पूजा समितिले हो । उपत्यकाका सबै समुदायका मानिस आएर यहाँ सौहार्दपूर्ण वातावरणमा पूजा गर्दै आउनुभएको छ”, उनले भने ।

छठ पूजा समितिका अनुसार भोलि आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुले कुपण्डोलस्थित छठ पुजास्थल पुगी छठी माताको दर्शन तथा पूजा आराधना गर्ने कार्यक्रम छ । छठ पर्वको मुख्य दिन भोलि साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यससको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । राजधानीका अन्य स्थानमा पनि छठ पूजाको तयारी गरिएको छ । नेपाली समाजमा कुरितीका रुपमा रहेको जातीय विभेद र छुवाछूत अन्त्य गर्ने पर्वका रुपमा पनि छठलाई लिइन्छ ।

“छठ पर्वमा सबैभन्दा ठूलो महत्व भनेको हामीले समावेशी सिद्धान्तका लागि राजनीतिक सङ्घर्ष गरिरहेका छौँ, यो पर्वभन्दा ठूलो उदाहरण अरु हुन सक्दैन । किनकी छठ पूजाको सामग्री र सामूहिक पूजा गरिन्छ । मधेसका डोम जातिले बनाएको बाँसबाट बनाइएका सामग्री, कुमालेको भाडाकुडा, किसानले उत्पादन गरेका तरकारी भनेपछि सामान्यदेखि सम्पन्न किसानको सामग्री प्रयोग, घाटमा पूजा गर्न आउनेले कुनै जात नसोध्ने भएकाले यो समावेशिताको प्रतीक हो”, संयोजक झाले भने ।

गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठामाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ ।

छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ । कात्तिक शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी मनाइने यो पर्व वर्षको दुईपटक चैत र कात्तिक महिनामा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हात्ती, ढकनी, घैला र नयाँ बर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ । रानीपोखरीमा उल्लासपूर्वक मनाइने यो पर्व २०७२ सालमा गएको भूकम्पपछि गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, बागमती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाइने गरिएको छ । यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ ।

गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले तराई केन्द्रित छठ पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको बताए । “तराईका जिल्लामा मधेसी समुदायले मनाउनु यो पर्व पछिल्लो समयमा अन्य समुदायले पनि आस्थापूर्वक छठ पर्व मनाउने चलन बढेसँगै सांस्कृतिक विविधतामा एकता, सद्भाव बढाएको छ”, उनले भने । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने प्रचलन छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : ३६ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन