काठका सामग्री बनाउने सीप हस्तान्तरण « Khabarhub

काठका सामग्री बनाउने सीप हस्तान्तरण


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

देउखुरी– बङ्गलाचुली –३ भेँडाबारीका लालबहादुर रानाले २२ वर्षको उमेरबाट सिकर्मी र डकर्मीको काम गर्दै आइका थिए । उनलाई भाँडा बनाउने तालिम लिन पाए त घर छेउमा भएका काठको सदुपयोग गर्न सकिन्थ्यो होला भन्ने लागेको थियो । 

उनले भनेजस्तै घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको काठका भाँडा बनाउने तालिममा भाग लिने अवसर पाएका छन् । उनले भने, ‘भर्खरै बजारबाट खुर्पा राख्ने खुर्पेटो  किनेर ल्याएँ ।  अहिले त आफैँ बनाउन सक्ने भएको छु । आखिर सीप  सिकेपछि आफैँले पनि गर्न सकिँदोरहेछ । अरू चीज पनि बनाउन सक्ने भएको छु ।’

बङ्गलाचुली –३ मूलाबारीका शिवराज घर्तीलाई पनि काठबाट बनाउने सामग्रीका बारेमा धेरै कुरा सिक्ने मौका मिलेको छ । ‘आफूले नगर्दासम्म के होला र भन्ने लाग्थ्यो, मैले यो बनाउँछु भनेर ताछ्न थाल्दा काठ ताछेरै सकियो तर आकार बनेन’, उनले भने। ‘अहिले सिक्दै जाँदा कुन वस्तुको कुन आकार दिने, कसरी गर्ने भन्ने जान्ने भएको छु, बाँकी फिनिसिङको काम गर्दै जाँदा राम्रो जाला भन्ने लागेको छ । काठको सामान बनाउने आत्मविश्वास जागेको छ, यो परम्परागत पेसा हो । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो’, उनले भने। परम्परागत सीपलाई आधुनिकीकरण गर्नुपर्ने उनले बताए । 

बङ्गलाचुली–३ गुमानसिंह विश्वकर्माका बाजेले घरायसी प्रयोजनका लागि काठका सामग्री बनाउथे। उनले आफ्नै हातले ठेकी, कोर्रे, बाँटा, कोशी, हर्पे, गर्रे बनाएर प्रयोग गर्थे। गाउँघरमा पनि गएर बनाउथे । काठका सामान बनाउने अनि गाउँघरका लागि चाहिएको अवस्थामा त्यहीँ गएर बनाउने गर्ने । बाजेको निधनपछि अहिले गुमानसिंहले बाजे पुस्ताबाट सिकेको सीपलाई निरन्तरता दिँदै छन् । ‘बाजेले गरेको देखेको थिएँ, मेरो बुबाले पनि काठबाट विभिन्न सामान बनाउनुहुन्थ्यो’, उनले भने, ‘पछिल्लो समय बजारमा पाइने प्लास्टिक, आल्मुनियमको भाँडाले गाउँले सामानले स्थान पाउन छाड्दै गयो । सस्तो अनि प्रयोग गर्न छरितो हुने भन्दै उपभोक्ताले बजारका भाँडा किन्न थालेपछि काठका सामानको महत्व कम हुँदै गएको थियो ।’

उनीसँग काठका सामग्री निर्माण गर्न प्रयोग हुने भाँडी, दाती, बाँक, रुखान, छिनो, जारे, बसुला, बन्चरो सबै छ । तिनै औजारको सहायतामा गाउँघरका अरू व्यक्तिलाई आफूले सिकेको सीप सिकाउँदै छन् । पछिल्लो समय नयाँ पुस्ताले यस बारेमा चासो लिएपछि सिकेको सीपलाई हस्तान्तरण गर्ने काममा गुमानसिंह लागेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयले चैतको १३ गतेदेखि सुरु गरेको एकमहिने काठजन्य भाँडाकुँडा ठेकी तथा आरीजन्य सामग्री निर्माणको काममा गुमानसिंहले स्थानीय १६ जनालाई नियमित रुपमा सिकाउने काम गर्दै आएका छन् । जिल्लामा पछिल्लो समय काठका भाँडा बनाउने सीप लोप हुने अवस्थामा पुगेको बेला पुस्ता हस्तान्तरण हुने र पुराना चीज वस्तुको उपयोगिता बढाउन सीपमा आधारित उद्यम गर्न टेवा पुग्ने घरेलु कार्यालयले अपेक्षा गरेको छ । 

कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार, काठको ठेकी बनाउनेलगायत सीपलाई पुस्तान्तरण गर्न लागिएको छ । गाउँका युवालाई  पुराना कला, सीप ज्ञान दिएर उनीहरुलाई व्यावसायिक बनाउन कोसिस गरेको हुँदा युवालाई सीप सिकाउने र ठेकी उद्योग सञ्चालन गर्न सकून् भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।

जिल्लामा पाइने ठेकीलगायत काठबाट निर्मित वस्तु परम्परागत रूपमा बनाउने गरिन्छ । गिठी काठको ठेकीमा बनाएको दही अन्य विधिबाट बनाइएको भन्दा मिठो हुने तथा लाभदायक मानिन्छ । गिठी प्रजातिको काठ पाउन केही कठिन भए पनि खमारी, गुराँस आदि काठबाट काठजन्य सामग्री बनाउन सकिने र ती सामग्री पनि उत्तिकै उपयोगी रहेको स्थानीयवासीको भनाइ छ । 

यस्तै, काठको सामग्री बनाउन दार, पँयले, लोठसल्ला, मौवा, कटहरलगायत रुखको काठ पनि उपयोगी हुने बताइन्छ । परम्परागत रुपमा गरिँदै आएको काठको ठेकी बनाउने पेसा पछिल्लो समय संकटमै परेको छ । संरक्षण अभाव तथा पुस्तान्तरण नहुँदा यो पेसा संकटमा परेकाले स्थानीय सरकारले पनि सीप जोगाउँदै पुस्ता हस्तान्तरणका लागि अग्रसरता देखाउन थालेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ४ : १५ बजे

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ