तीन महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुलेनन्  « Khabarhub

तीन महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुलेनन् 


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– तीन महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुल्न सकेका छैनन् । बाढी र पहिराले अवरुद्ध बनेका सडक अहिलेसम्म सञ्चालन नहुँदा चाड पर्वका लागि सामान ढुवानीमा समस्या भएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार तथा आसपासका व्यापारिक केन्द्रदेखि गाउँ-गाउँ जोडिएका सडक गत असारदेखि नै बन्द भएका हुन् । 

ठूलो वर्षा हुन रोकिए पनि सडक सञ्चालन नहुँदा सामान ढुवानी र यात्रा गर्न समस्या भएको बडिगाड गाउँपालिकाका तिलबहादुर घर्तीमगरले बताए । चाडपर्व सुरु हुँदा पनि गाउँपालिकाले सडक खुलाउन चासो नदेखाएकाले बजारबाट सामान ढुवानी गर्न नसकिएको उनको गुनासो थियो ।

‘यस वर्ष पोहोर परार सालको जस्तो ठूलो वर्षा भएको छैन तर पनि बजारबाट आउने मोटरबाटोको धेरै ठाउँमा पहिरोले सडक ठप्प भएका छन्, सडक कहिले खुलाउँछन् थाहा छैन, तीजपछि दसैँ र तिहार पनि आउन थाले,’ तिलबहादुरले भने , ‘बर्खाभरि घरमा भएका सबै सामान सकियो, बजारबाट बोकेर ल्याउनुपर्छ, गाडी चले त एक-दुई घण्टामै गाउँमै सामान आउँथ्यो, सडक कहिले खुल्ने हो थाहा छैन ।’

बागलुङमा तीनवटा राष्ट्रिय सडक पर्छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडकले बागलुङमा विकासका थुप्रै सम्भावनाका ढोका खोले पनि लोकमार्गबाहेक अन्य मुख्य सडक बाह्रै महिना चल्दैनन् । कोरिडोर हिउँदमा चले पनि बर्खामा पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । सालझण्डी–ढोरपाटन सडक भने अहिलेसम्म सिधा सञ्चालन हुन सकेको छैन । बरेङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक बर्खाका कारण बन्द छन् ।

सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याउन समस्या भएको स्थानीयवासी वीरबहादुर विकले बताए। उनले गाउँमा सडक आए पनि बर्खामा गाडी नचल्दा स्थानीयवासीले सास्ती खेप्नु परेको गुनासो गरे । अघिल्लो वर्षको जस्तो यस वर्ष धेरै सडकमा क्षति नभएकाले  पालिकाले केही ठाउँका पहिरो पन्छाए सहज रुपमा गाडी चल्ने गराउनुपर्नेमा बीरबहादुरले जोड दिए ।

उनले भने, ‘गाडी नचल्दा सबैभन्दा समस्या त गाउँमा कोही बिरामी हुँदा हुँदोरहेछ, अस्पताल लगिहाल्नु पर्ने बिरामी  बाटो बन्द भएको हुँदा बोकेरै लैजानु पर्छ, बोकेर लैजाँदा समयमै अस्पताल पुर्‍याउन नसक्दा दुःखद घटना हुने गर्छ, सरकारले बाह्रै महिना बाटो चलाउने गरी काम गर्नुपर्छ ।’

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोले अवरुद्ध सडक अब तत्काल खुलाउने बताएका छन् । पालिकाका अधिकांश सडक सञ्चालनमा रहेको भन्दै उनले  केही ग्रामीण सडक अवरुद्ध रहेकाले खुलाउनका लागि बजेटको व्यवस्था गरिसकेको र केही दिनमै काम  सुरु हुने बताए। ‘बर्खाका कारण केही गाउँ जोडिएका सडकहरू ठप्प छन्, अहिले सञ्चालनमा रहेका सडक पनि अप्ठ्यारा छन्, पालिकाभरिका सबै सडक खुलाउन बजेटको व्यवस्था गिरेका  छौँ’, अध्यक्ष अधिकारीले भने , ‘मौसम हेरिराखेका छौँ, बर्खा केही कम भएको छ, अब सडक खुलाउँछौँ, यति बेला खुलाइसक्थ्यौँ, फेरि पहिराले पुर्‍यो  भने खर्च बढी हुने हुँदा अब बल्ल खुलाउने तयारीमा छौँ ।’

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १२ : ३७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील