पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो « Khabarhub

पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

बीस–बीस मिटर दूरीका दुईवटै पुल निर्माणको लागि विसं २०७५ मा गणपति निर्माण कम्पनीले बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । पटक–पटक ताकेता गर्दासमेत सन्तोषजनक काम गर्न नसकेर पुल अलपत्र बनाएपछि गत असोज अन्तिम हप्ता निर्माण उक्त कम्पनीसँगको ठेक्का तोडेर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

केही दिनअघि मात्र सो आयोजनाबाट सरुवा भएका तत्कालीन आयोजना प्रमुख जगत् प्रजापतिले पुल अलपत्र बनाएको गणपतिसँगको ठेक्का सम्झौता तोडेर धरौटी जफत गर्नाका साथै र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

“ठेक्का तोडेको सार्वजनिक सूचना जारी गरेका छौँ”, उनले भने, “जमानत बसेको बैंकमार्फत धरौटी जफत र कालोसूचीमा राख्न सार्वजनिक खरिद कार्यालयमा सिफारिस हुन्छ ।”

सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बाँकी निर्माणकार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुलउपर गरिने भएको छ । पुरानो ठेक्का तोडेर अलपत्र पुललाई पूर्णता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाउने आयोजनाको तयारी छ ।

कैकुखोलामा २० मिटर लामो मोटरेबल पुल बनाउन रु तीन करोड २५ लाख र लार्जुङखोलाको पुलको रु तीन करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो । पचास–पचास प्रतिशत भौतिक प्रगति भएको दुईवटै पुलको पिलर ठड्याउने काम सकिएको छ ।

साँघुरो पुलबाट सवारीसाधन आवतजावत गर्ने लार्जुङखोलामा तीन वर्षयता पुल निर्माणको कुनै पनि काम नभएको स्थानीयवासीले बताएका छन् । कैकुखोलामा बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ ।

त्यहाँ अस्थायी पुलमा जोखिम मोलेर सवारीसाधन वारपार गराइन्छ । गत असार महिनायता पुल निर्माणको काम नगरेका ठेकेदार कम्पनीका सञ्चालक सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो । पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत आठवटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण सकिएका छन् ।

थप एक मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बाह्रवटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । तेह्रवटा खण्डमध्ये आठ खण्डको निर्माण सकिएको छ । म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन रु सात अर्ब ५५ करोड लागत अनुमान गरिएको योजनाका लागि गत आर्थिक वर्ष २०७९/८० सम्म रु छ अर्बभन्दा बढी खर्च भइसकेको छ । छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुुईवटा खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  २ : ३९ बजे

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि