थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण | Khabarhub Khabarhub

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि म्याग्दीको बेनीमा सुरु भएको ‘खिमीच्हुव’‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ ।

संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको समितिका उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताए ।

‘थकालीको विवाहका क्रममा माइतीको सम्मानमा खिमीच्हुव र फागु पूर्णिमामा क्होई अनिवार्य गाउनुपर्छ,’ उनले भने, ‘गीत गाउन जानेकाहरू मरेर जाने र नयाँ पुस्तामा ज्ञान, सीप नहुँदा संस्कार नै लोप हुन थालेको छ । थकालीको बसोबास भएको ठाउँमा तालिममार्फत संस्कारको पुस्तान्तरण र संरक्षण गर्ने प्रयासमा छौँ ।’

भट्टचनले बेनी, दरवाङ र दाना क्षेत्रका १८ जनालाई गीतको शब्द, भाका र लयको विषयमा प्रशिक्षण दिएका थिए । खिमीच्हुवमा गाइने गीतको एउटा टुक्का ‘ल्ह्लाङ स्ह्युवे स्ह्याङ, तेलाङ स्ह्युवे स्हयाङ’ को अर्थ देवताको मुलुकमा बस्नु हुने सुखी जीवनमा बस्नुहुने माइती भन्ने हुन्छ ।

मगनी भएपछि माइतीको घरमा जाँदा केटा पक्षले माइतीको सम्मान हुने शब्दहरु समेटिएको खिमीच्हुव गाउने चलन छ । तोरन्ल चाडमा गाउने क्होईको एउटा टुक्का ‘च्ह्योङजी तोरन्ल स्हेम्ब, च्ह्योङजी तोरन्ल’को अर्थ आइपुग्नुभयो तोरन्ल चाड, आइपुग्नुभयो तोरन्ह चाड भन्ने हुन्छ ।

नेपालमा पछिल्लो जनगणनाअनुसार कूल १३ हजार जनाको हाराहारीमा जनसङ्ख्या रहेको थकालीलाई सरकारले अल्पसङ्ख्यक जातिमा सूचीकृत गरेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका ओमप्रकाश शेरचनले शब्द अप्ठ्यारो भए पनि ‘खिमीच्हुवक्होई’ गाउन सक्ने भएको बताए ।

नरेश कुमार तुलाचनले ‘खिमीच्हुव’‘क्होई’ का शब्द सङ्कलन गरेर थकाली र नेपाली भाषामा लिपिबद्ध गरेका छन् ।

थकाली सेवा समिति नेपालका पूर्वअध्यक्ष कृष्णकुमारी शेरचनले समितिले संस्कार र संस्कृति संरक्षणका लागि ३० लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिए ।

सोही कोषको ब्याजबाट यसअघि सल्यान, बुटवल र काठमाडौँमा भाषा तथा संस्कारसम्बन्धी तालिम आयोजना गरिएको थियो । थकाली नेपालका अल्पसङ्ख्यक समुदाय हुन् । थकालीको उद्गम थलो मुस्ताङको थासाङ गाउँपालिका हो ।

थकाली समुदायको जन्मदेखि मृत्युसम्मका मौलिक संस्कार, चालचलन र रहनसहन रहेको छ । थकालीको भाषा पनि छ । पुराना पुस्ताका मानिसको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा थकाली समुदायका संस्कार र संस्कृति लोप हुने जोखिममा छ ।

लोप हुन लागेको थकाली समुदायको संस्कारमध्ये विवाह र तोरन्ल (फागु पूर्णिमा) पर्वमा गाउने ‘खिमीच्हुव’‘क्होई’ गीत हो ।

खिमीच्हुव थकाली समुदायको विवाह र क्होई तोरन्ल (फागु पूर्णीमा) पर्वमा अनिवार्य रुपमा गाउनुपर्ने थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष भट्टचनले बताए । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ४९ बजे

अर्थसहित चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ

इंग्लिस प्रिमियर लिग : आर्सनल पुनः शीर्षस्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ

कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज

भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको निर्वाचन अन्तर्गत

मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल