खडेरीले हिउँदे बालीको उत्पादन घट्यो | Khabarhub Khabarhub

खडेरीले हिउँदे बालीको उत्पादन घट्यो


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पर्वत– लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित बनेका छन् । झन्डै पाँच महिनासम्म वर्षा नहुँदा कृषकहरूले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ ।

पर्वतमा यति बेला खेतमा मकैबाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरूले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका कृषकहरूसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । धेरै वर्षपछि यति लामो खडेरी परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए । खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उनले बताए । गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेष गरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्‍याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । उनका अनुसार बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ, त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ । ‘सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन झनै बढ्छ’, थापाले भनिन् ।

पर्वतमा आकासे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रूपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरूले ठूलो नोक्सानी व्यहोर्नु परेको थापाले बताइन् । तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आउने उनको अनुमान छ ।

त्यसै गरी लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषकहरू मारमा परेका छन् । उनका अनुसार जिल्लाको पातिचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ । कतिपय ठाउँमा बालीनाली नै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनाली नै सखाप भएपछि कृषकहरूसमेत चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको कृषकहरूले गुनासो गरेका छन् ।

जिल्लामा झन्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँचाइ नहरमासमेत पानी बन्द हुँदा झनै समस्या भएको छ । सानातिना मूलहरूको भरमा खेतीपाती गर्दै आएका कृषकहरूमा प्रचण्ड खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शङ्करपोखरीका कृषक कुलप्रसाद तिवारीले जानकारी दिए । उनले भने, ‘मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्या भएको छ ।’

अर्कोतर्फ पिउने पानीका मुहानहरू सुक्न थालेका छन् । यो महिनाभरिमा वर्षा नहुने हो भने मकै खेती र लहरेबालीसमेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्रका प्रमुख थापाको अनुमान छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : ५३ बजे

बुद्धले आफ्नो मृत्यु घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाऊँ : उपप्रमुख डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गौतम बुद्धले आफुले निर्वाण

भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधि  ‘राजनीतिकरण’ को विरोध

बेइजिङ– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘अधिनायकवादी शासनहरू’ ले नागरिकहरूमाथि बढ्दो

नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी : मन्त्री पाण्डे 

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नातिकाजी शब्द,

जब खोलामा नआएको बाढी बबरमहलमा उर्लियो (तस्बिरहरू)

काठमाडौं- बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूको एउटा टोली ड्रिल मेशिनसहित

काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

काठमाडौं : सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार