सीप बेच्न बजार अभाव | Khabarhub Khabarhub

सीप बेच्न बजार अभाव


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कमलामाई – सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार)सँग मान्द्रो बनाउने सीप छ। बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन। सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्दै आएको थियो। अहिले घरखर्चका लागि ऋण गर्नुको विकल्प छैन। आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेरै भए पनि व्यवहार धान्नु परेको उनले बताइन्।

मान्द्रोको ठाउँका पछिल्लो समय प्लास्टिकका सामग्रीले प्रभाव जमाएको छ। सस्तो र सहज रुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ। जङ्गलमा पहिलाको जसरी बाँस पाइँदैन। मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको उनले सुनाइन्। सगरवत्तीले भनिन्, ‘‘पटिया बिक्री हेतो त फेरि बुन थाल्बो (मान्द्रो बिक्री हुन्छ भने फेरि बुन्न सुरु गर्नेछु)।’’ केही वर्षअघि सम्म चुरे क्षेत्र प्रवेश गर्ने बित्तिकै बाँस पाइन्थ्यो। बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी लिएर आइन्थ्यो। मान्द्रो किन्न ग्राहक घरै आउँथे। बिक्री नहुने समस्या थिएन। त्यतिबेला दिनकै पाँच सय कमाई हुने उनी बताउँछिन्, “त्यो पैसाले घरायसी सबै खर्च टर्थो।’’

“एनिस, ओनिस करब ऋणै हप्छो, उही जुमा त मान्द्रो बेचिक खर्च टर्तो, ऋण नइरहोक”, केही शब्द नेपाली र धेरै शब्द दनुवारी भाषामा बेलिविस्तार लगाउँदै उनले भनिन्, “आजकाल ऋणै करपर्तो, ऋण बढ्ल खाली।” अर्थात् यताउता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको उनको दुखेसो छ। “त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन। अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यैँ”, उनले भनिन्।

सगरवत्तीको पाँचजनाको परिवार छ। श्रीमान् दुई लाख ऋण गरेर साउदी गएका छन्। दुई वर्ष बितिसक्दा पनि विदेश जाँदाको ऋण तिर्न सकेका छैनन्। तीन सन्तानको पालनपोषणलगायत घरायसी खर्च टार्न उनलाई यतिबेला धौधौ छ। जङ्गलमा खेर गइरहेका बाँसको चोयाबाट घर व्यवहार धान्दै आइरहेकी उनको हातमा अरू काम गर्ने सीप छैन। पढाइलेखाइ पनि छैन। अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ।

सगरवत्तीले मात्रै होइन, दनुवार समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो। “गाउँका मानुक सभेले बुन्तो नी, आभे छोड्लासे”, पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे सोम्नी दनुवारले भनिन्। ‘उहाँले पनि तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउनु हुन्थ्यो। उनले भनिन्, “श्रीमान्ले जङ्गलबाट बाँस ल्याइदिनु हुन्थ्यो। चोया आफैँ काट्थे। मान्द्रो बनाउँथे। ग्राहक घरैमा आउँथे”, १० वर्षअघिको समयलाई सोम्नीले यसरी सम्झिइन्।

दिनमा पाँचवटासम्म मान्द्रो बुन्ने गरेको बताउने उहाँले शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गरेको सुनाइन्। “पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे। भिमान बजार समूहमा जान्थ्यौँ। मान्द्रो बेच्यौँ, चाहिएको सामान किनेर ल्याउँथियौँ”, उनले भनिन्, “त्यतिबेला जति वटा लगे पनि घर फर्काएर ल्याउन पर्दैनथ्यो। अहिले बिक्री नै हुँदैन, धेरैले मान्द्रो बुन्न छोड्दै गएका छन्, मैले पनि छाडेँ।”

मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको उनले बताइन्। उनीसँग आकर्षक मान्द्रो बनाउने, थरीथरीका डालो बनाउने सीप छ। गर्दै आएको पेसा सङ्कटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थालेको सोम्नी उपयुक्त कामको खोजीमा छिन्। “जाँड, रक्सी उधारो माग्छन्, दियो पैसा उठाउन सकिँदैन। व्यवसाय घाटामा गएको छ। केही इलम पाउन पाए गर्थें”, उनले भनिन्।

दनुवार समुदायको परम्परागत तथा पुख्र्यौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण धेरैको रोजीरोटी नै गुम्ने अवस्था आएको छ। स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो। दुई–चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनु पर्ने बाध्यता थिएन। पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसारसमेत नपाउँदा लोप हुँदै गएको छ।

बाँसको चोयाबाट आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप भएकी मुन्डी कुमर दनुवारले नजिकै गाउँ बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउनसमेत प्लास्टिकको किनेर ल्याएको बताइन्। उनले भनिन्, “नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको १५ देखि २० हजारसम्म कमाउँथे। अहिले बाँस पाउनै मुस्किल छ, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नु ?”

ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा छन्। बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापनसमेत नहुँदा दनुवार समुदायका महिलाले पुर्खौंदेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुगेको दनुवार जागरण समिति सिन्धुलीका सदस्य सुकुमलाल कुमर दनुवारले बताए। “दनुवार समुदायको पुख्र्यौली पेसा लोप हुँदै गएको छ। नयाँ पिँढीमा सीप हस्तान्तरण हुन सकेको छैन। सीप पुस्तान्तरण हुन नसक्दा पनि पेसा लोप हुन थालेको हो”, उनले भने।

पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लाहरुमा निर्यात हुने गरेको उनलाई जानकारी छ। अहिले स्थानीय बजारमा समेत प्लास्टिकका बिछ्याउने सामग्रीले प्रभाव बढेको उनले बताए। बजारमा प्लास्टिकका सामग्रीको उत्पादन सस्तो र सहज रुपमा पाउन थालेपछि ग्रामीण क्षेत्रमा निर्माण गरिएका यस्ता सामग्रीले बजार पाउन सकेका छैनन्। स्थानीय सरकारले दनुवार समुदायको परम्परागत पेसाको संरक्षण, प्रवर्द्धन र विकासका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।

प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग र बाँसका सामग्री बनाउने पेसा अँगाल्ने युवा पुस्ताको कमीका कारणले पनि यो व्यवसाय सङ्कटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारूको धारणा छ। यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारी जस्ता सामग्रीको उत्पादनसमेत अत्यन्तै न्यून हुने गरेका उनले बताए।

-रासस

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १२ : ५७ बजे

छुद्र ग्रहमा पहिलोपटक देखिएको ‘जागरण’ के हो ?

एजेन्सी– खगोलविद्हरूले पहिलो पटक एउटा महाविशाल ब्ल्याक होल आफ्नो होस्ट

‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भन्दै ठगी, समातिए चार जना

काठमाडौं– भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा प्रहरी

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

काठमाडौं – सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल-भारत सीमामा

बर्लिनबाट दोहा उडे राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने

‘बर्ड फ्लूले भविष्यको महामारीविरुद्ध जुध्न विश्व तयार नभएको देखायो’

एजेन्सी– अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा