राष्ट्रपति भण्डारीद्वारा कालिका मन्दिरमा विशेष पूजाअर्चना « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा कालिका मन्दिरमा विशेष पूजाअर्चना


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बलेवा– राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गरेकी छिन् । आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० बजे  बागलुङ आएकी राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गरेकी थिइन् ।

उनी बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बागलुङ आएकी गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेशसभा सदस्य कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अम्मर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले कालिकाको विशेष पूजाअर्चनापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहण गरिन् । मूल पुजारी खड्काले उनलाई पूजाअर्चनामा सहयोग गरेका थिए । पूजाअर्चना पूर्व राष्ट्रपति भण्डारीले कालिका मन्दिरको परिक्रमा गरेकी थिइन् । कालिका भगवती मन्दिरको दर्शपछि राष्ट्रपति भण्डारीले कालिका मन्दिरको संरक्षणसम्बद्र्धनप्रबर्द्धन गर्न आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले कालिका मन्दिरको विशेष आगन्तुक पुस्तिकामा लेखेकी छन् “बागलुङ जिल्लामा अवस्थित यस प्रसिद्ध कालिका भगवतीको दर्शन गर्ने सु-अवसर प्राप्त भएकोमा म साह्रै हर्षित छु, यो अवसर जुटाउने कालिका भगवती गुठीका संरक्षक तथा पदाधिकारीहरू, कर्मचारी एवं नागरिक समाजलाई विषेश धन्यवाद दिन चाहन्छु, यो समितिले यस ऐतिहासिक र धार्मिक मन्दिरको संरक्षण, सम्बद्र्धनप्रवर्द्धन मिलाउन विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले उनलाई कृतज्ञता पत्र र विशेष मायाको चिनो दिएर बिदाइ गरेको थियो । अध्यक्ष कुमार खड्काले कालिका मन्दिरको प्रचारप्रसार र बागलुङको विकासका लागि राष्ट्रपतिको भ्रमण फलदायी भएको व्यहोरा सहितको कृतज्ञतापत्र प्रदान गरेका थिए ।

नेपालका पहिलो महिला राष्ट्रपतिद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै बढ्ने बताउँदै बागलुङ कालिका गुठी व्यवस्थापन समितिले राष्ट्रपतिको कालिका मन्दिर दर्शन कार्यक्रमलाई भव्य बनाउन सबैले सहयोग गरेको बताए। अहिले बागलुङ कालिका मन्दिरलाई पुननिर्माण गरी कलात्मक स्वरूपमा परिवर्तन गरिँदै छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हरेक महिना ठूलो सङ्ख्याका  दर्शनार्थी आउने गर्दछन् । 

हिन्दु धर्ममा कालिका भगवतीको महत्वपूर्ण स्थान छ । राष्ट्रपतिको भ्रमणपछि दर्शनार्थीको सङ्ख्या थप बढ्ने विश्वास लिइएको छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजाआराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले भगवती प्रसन्न हुने र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ । 

पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी इतिहासमा पाइन्छ । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ ।

वर्षको दुई पटक चैते दशैँ र बडा दशैँमा नियम पूजा हुदैँ आएको छ । नियम पूजामा पञ्चबलि चढाइन्छ । सामान्यतया पाँच बलि अन्तर्गत एक बोका, दुई राँगो, तीन कुखुरा, हाँस परेवा र पाँच सुङ्गुर पर्दछन् । 

भक्तजनले विभिन्न मनोकामना पूर्ण हुने इच्छा राखी पूजापाठ गर्ने, सुन चढाउने तथा देवीलाई बलि दिनका लागि बोका, कुखुरा, राँगा आदि ल्याउने गर्दछन् । बागलुङ नगरपालिका– १ मा मन्दिर अवस्थित छ । पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालीगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ । मन्दिरको वरिपरि साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखले घेरिएको दृश्य देख्न पाइन्छ । 

बागलुङ कालिका भगवतीको दर्शन गर्न देशभरिका दर्शनार्थी बागलुङ पुग्ने गर्छन् । सडकमार्ग हुँदै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरू बागलुङ कालिका भगवतीको दर्शन गर्न पुग्ने गर्दछन् । 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १२ : ४९ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा