म्याग्दीको बेनीमा परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी « Khabarhub

म्याग्दीको बेनीमा परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ ।

बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।

बर्खेनाचअन्तर्गत सोमबारदेखि बेनीमा लाखेनाच देखाउन सुरु भएको छ । नागपञ्चमीको दिनदेखि लाखेनाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलःले जनाएको छ ।

मंकाखलअन्तर्गत युवाहरूको समूह ल्यामः पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने भएको छ ।

परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बालानाच देखाउन लागिएको हो ।

मंकाः खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ । नाचका विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृतिहरू लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन् ।

बर्खेनाचका दर्जनौँ नाच लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरूको जागरणले संरक्षण र संवर्द्धनमा टेवा पुगेको नेपाल भाषा मंकाःखलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । यस वर्ष पनि युवाहरूलाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको उनले जानकारी दिए ।

बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

खासगरी लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ ।

नागानागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिको सम्झनामा देखाउने चलन छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : ४७ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको