थारु बस्तीमा सखिया नाचको रौनक « Khabarhub

थारु बस्तीमा सखिया नाचको रौनक


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दोधाराचाँदनी– यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाचमा झुम्छन् ।

सीतागायत गाउँका सबैजना साँझ आठ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाच्छन् । “साँझ खाना खाएर सबै जना बडघरको आगनमा जम्मा भएर सखिया नाच्छौँ ।” उनले भनिन्, “सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौँ ।” उनले दसैँसुरुआत भएसँगै थारु समुदायमा सखिया नाचको रौनक छाउने गरेको बताइन्।

“यो नाचमा गाउँका सबैले अनिवार्य उपस्थिति हुनुपर्छ नआउनेले जरिवाना तिर्नुपर्छ,” सीताले भनिन्, “सखिया नाच सुरु नभएसम्म गाउँमा दसैँ आएको आभासनै हुँदैन ।” उनले पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडि देखिनै सखिया नाच्ने गरे पनि पछिल्लो सयम यो नाच छोट्टिँदै गएको बताइन्। “अहिले दसैँसम्म मात्रै नाचिन्छ पहिलेको पुस्ताले एक महिनाअघिबाटै सखिया नाच्न सुरु गर्थे,” उनले भनिन्, “हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।” 

थारु समुदायमा दसैँमा सखिया नाचको विषेश महत्त्व हुने देवी चौधरीले बताइन् । “सखिया नाच नभएपछि गाउँमा दसैँ आएको हो कि होइन थाहा हुँदैन ।” उनले भनिन्, “थारू भाषामा सखीको अर्थ साथीसङ्गी हुन्छ, गाउँका सबै साथीसङ्गी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको हो ।”  

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने स्थानीय लक्ष्मीरा चौधरीले बताइन् । उनका अनुसार सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचि अनुसारको रङको कमिज लगाउने गर्छन् । ‘गीत नसकिएसम्म नाच सकिँदैन यो धेरै लामो हुन्छ गीत सकिएपछि मात्र नाच सकिन्छ ।’ उनले भनिन्, ‘गीत गाउने चलन छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्तयमा गाउन मिल्दैन ।’

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाँच्ने प्रचलन यो समुदायमा रहिआएको छ । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरेको उनले बताइन्।

‘आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ,’ उनले भनिन्, ‘हाम्रो समुदायमा दसैँ धुमधामका साथ मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।’

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने थारू अगुवा बताउँछन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ । 

दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ६ : ०४ बजे

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र