दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज दिनभर नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई नै थप २ दिन हिरासतमा राख्न अनुमति, मधेश प्रदेश सरकारका तीन मन्त्रीद्वारा शपथ ग्रहण, रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश,अर्थतन्त्रबारे अनावश्यक भ्रम नछर्न प्रधानमन्त्री प्रचण्डको आग्रह, प्रचण्ड सरकारले पूर्णता पायो, जसपा नेपालका दुई मन्त्री नियुक्त, मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, महानगरले हटायो सिंहदरबार अगाडिका अवैध संरचनालगायतका समाचारले प्रमुख स्थान पाए ।

नक्कली शरणार्थी प्रकरण : १६ जनालाई नै थप २ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका १६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले २ दिन म्याद थप गरेको छ ।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हिरासतमा रहेका १६ जनाकै म्याद २ दिन थपिएको हो ।

प्रहरीले मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ ।

मधेश प्रदेश सरकारका तीन मन्त्रीद्वारा शपथ ग्रहण

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ ।

नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी थिए ।

कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आज मधेश भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए।

केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गत चैत २१ गते नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिएको थियो । मधेस–प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जनाले मुख्यमन्त्री यादवसमक्ष सामूहिक राजीनामा दिएका थिए । एक मन्त्री पाउने सहमति भए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएको छैन ।

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।

गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो ।

तर, प्रशासनको निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर सुनुवाइ गर्दै मंगलबार सर्वोच्च अदालतले लामिछानेविरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।

अर्थतन्त्रबारे अनावश्यक भ्रम नछर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रका बारेमा अनावश्यक भ्रम नछर्न आग्रह गरेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुने कुरा साँचो नभएको भन्दै अर्थतन्त्रका बारेमा आतङ्कित पार्ने झुटो कुरा कसैले गर्न नहुने बताएका हुन् ।

उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातर्फ अघि बढ्ने सङ्केत प्राप्त भएकाले सरकारको कार्यक्रम र बजेट अर्थतन्त्रलाई लयमा ल्याउनेमा केन्द्रित गरिने बताए ।

उनले अहिलेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको भन्दै यसको विरोध गर्नुपर्ने कुनै कारण नभएको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितको रक्षा गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने सर्वोपरि लक्ष्य हासिल गर्ने दृढ सङ्कल्पका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए।

आयात व्यवस्थापन र निर्यात प्रवर्द्धन, विकास निर्माण कार्यको निर्धारित लागत र समयमा सम्पादन, शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण एवं सामाजिक न्याय र शान्ति सुरक्षा कायम गर्ने विषयलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको उनले बताए ।

त्यस्तै उनले आफ्नो निकट भविष्यमा हुने भारत भ्रमणका क्रममा समकक्षीसँग भेट हुने र राष्ट्रिय हितका साथै नेपाल भारत सम्बन्धका समस्यामा बारेमा पनि प्रस्ट ढङ्गले कुरा गर्ने बताए । भ्रमणका क्रममा मल कारखाना स्थापना गर्ने विषयमा पनि कुराकानी हुने उनको भनाइ छ ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको अर्को जेठ १४ गते आइतबार बोलाइएको छ ।

न्यायपरिषद्मा सदस्य नियुक्त गर्नु संवैधानिक व्यवस्था विपरित : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरमा नेकपा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषद्मा ६५ वर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहेपनि ७१ र ७७ वर्षका मान्छेलाई नियुक्त गरेको आरोप लगाएका छन् । उनले यस विषयमा संविधान र कानूनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताए ।

ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेड वर्षसम्म प्रतिपक्षीसँग संवाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने जिकिर गरे । वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको उनको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले मुलुकमा आर्थिक लगायत विभिन्न समस्या देखिएपनि सरकार बेखबर जस्तै देखिएको तर्क गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्य मान्यताविपरीतको काम गरे कारवाही गर्न अग्रसर हुने बताए । ओलीले एमालेमाथि सबैतिरबाट तीव्र हमला गरेर सिध्याउन खोजेपनि पार्टीलाई अझ सशक्त रुपमा अघि बढाउने पनि बताए ।

उनले पार्टी ध्वस्त पार्ने, पार्टी नेतृत्वप्रति अनास्था गर्ने काम भएपनि पार्टीलाई शुद्धिकरण गर्ने मौका पाएको र शुद्धिकरण कारण पार्टीलाई छोटो समयमा नै मजबुत अवस्थामा पुराएको दावी गरे ।

राष्ट्रियसभा बैठक : कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिनुपर्ने

सांसद भैरवसुन्दर श्रेष्ठले सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गन्जागोल दस्तावेजका रुपमा टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा यस वर्षको नीति तथा कार्यक्रम विगतकै निरन्तरताका रुपमा आएको दाबी गरे। उनले देशको आर्थिक अवस्थातर्फ सरकारको ध्यान नगएको, सरकारले लिएको निर्धारित लक्ष्य प्राप्ति नभएकामा नीति तथा कार्यक्रममा केही उल्लेख नभएको बताए ।

नीति तथा कार्यक्रममा भुलभलैया लाग्ने शब्दबाहेक केही पनि भएको उल्लेख गर्दै सांसद श्रेष्ठले कार्यक्रमले मुलुकको अहिलेको संकट समाधान गर्न नसक्ने जिकिर गरे । उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सरकारलाई सुझाव दिए ।

‘राष्ट्रिय गौरवका आयोजना निर्माणमा अर्बौँ रकम खर्चिएको भए पनि हालसम्म ती आयोजनाको प्रगति के हो भन्ने नीति तथा कार्यक्रममा खुलेको छैन’, उनले भने , ‘यी आयोजनालाई निर्धारित समयमा पूरा गर्नुपर्छ भन्ने कार्यक्रम आउनुपर्ने थियो तर त्यसो हुनसकेन ।’

प्रचण्ड सरकारले पूर्णता पायो, जसपा नेपालका दुई मन्त्री नियुक्त

जनता समाजवादी पार्टी नेपालकातर्फबाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका विरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन ।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार महतोले बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन भन प्रमिलाकुमारीले शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

दुई जनालाई मन्त्री नियुक्त गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ ।

मुख्यमन्त्री शाह नेतृत्व टोली र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच भेटवार्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ ।

मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतका अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता गरेको हो ।

भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेश पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए ।

भेटमा आयोगका उपाध्यक्ष डा श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको बताए । कुनै बेला काठमाडौँ आउनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदूरपश्चिम काठमाडौँको धेरै टाढा नरहेको उनको भनाइ छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा सुदूरपश्चिमलाई समेटेको भन्दै आयोग उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिइनेमा विश्वास दिलाए। ‘सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेरै संघीयता आएको हो’, उनले भने ‘त्यो कुरा हामी सबैले बुझ्नुपर्‍यो, सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो ।’

नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउनु पर्ने सांसद वाग्लेकाे भनाई

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद डा वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान आवश्यक रहेको बताए । उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरे ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा धवलशमशेर जबराले सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्ने र किसानलाई समयमा मलखाद उपलब्ध गराउने विषयलाई ध्यान दिन आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले नीति तथा कार्यक्रममा कुनै विषयलाई प्राथमिकता नदिइएको बरु कार्यक्रम छरिएर आएको टिप्पणी गरेका छन् ।

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो।

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

महानगरले हटायो सिंहदरबार अगाडिका अवैध संरचना

काठमाडौँ महानगरपालिकाले सिंहदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहरमैला हटाएको छ।

राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिएका छन्।

“सिंहदरबार अगाडिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएका छौँ। आफ्नो घर, कार्यालय अगाडि सरसफाइ गरिदिनुहुनका लागि महानगरले अनुरोध गर्दै आएको छ। महानगरलाई स्वच्छ, सफा बनाउन सम्पूर्ण व्यक्ति जिम्मेवार हुनुपर्दछ”, उनले भने।

सरकारी कार्यालय अगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिवाना गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले बताए। सिंहदरबारको पश्चिमगेट अगाडि पुल मुनी रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो। महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संरचना हटाएको छ।

महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी शनिबार वृक्षरोपणको कार्यक्रम गर्ने सुनाए।

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।

लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन्।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन्। उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका थिए।

स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाएको भन्दै हार्दिक बधाइ दिए। “हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ”, मन्त्री किरातीले भने, “उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ।”

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ९ : ०५ बजे

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको