हुप्सेकोटका पहिरोपीडित अस्थायी शिविरमा « Khabarhub

हुप्सेकोटका पहिरोपीडित अस्थायी शिविरमा


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु- नवलपरासी बर्दघाट सुस्तापूर्व हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगर झरी परेको दिन निदाउन सक्दिनन् । दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उनीसहित १८ घरपरिवार पूर्ण रूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ । पहिरोपछि गाउँपालिकाले उद्धार गरेर विस्थापितलाई सुरक्षित स्थानमा राख्यो । तर अस्थायी शिविरमा आएपछि सुत्केरी भएकी दिलमायालाई आजभोलि तिनै विपदका दिनसँगै सन्तान हुर्काउने चिन्ताले सताउने गरेको छ ।

“विस्थापित भएको दुई वर्ष भइसक्यो, दैनिकी कष्टपूर्ण बनेको छ”, उनले भनिन् “यहीँ आएर सुत्केरी भए बच्चा पनि यहीँको भुइँमा हुर्किएर दुई वर्षको भइसक्यो । तर हाम्रो स्थायी बासको टुङ्गो लाग्न सकेन ।”

सोही स्थानका खेमबहादुर सोमै मगरले १३ रोपनी जग्गासहितको घर, खेतबारी अनि घाँस–दाउरा गरेका दिन सम्झना आइरहने बताए । “एकै रातको पानीले जमिन भासिने र पहिरो जाने भएपछि गाउँपालिकाले उद्धार गर्दा ज्यान त बाँच्यो अब कसरी बाँच्ने भन्ने चिन्ता रहेको छ”, उनले भने ।

प्राकृतिक विपत्तिले निम्त्याउने विविध समस्याको उच्च जोखिममा पर्ने हुँदा पहाडी र नदी तटीय क्षेत्रका बासिन्दालाई वर्षाको समयमा धेरै चिन्ताले सताउने गर्दछ । दुई वर्षदेखि अस्थायी टहरामा बस्दै आएका हुप्सेकोटका पहिरो प्रभावित भने सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतिक्षामा छन् ।

विसं २०७८ असार २४ गते पहिरोले विस्थापित भएका घरपरिवारको यत्तिका समयसम्म पनि स्थायी बसोबासको टुङ्गो लाग्न सकेको छैन । पहिराका कारण पूर्ण रूपमा विस्थापित भएपछि विद्यालय र सामुदायिक भवन हुँदै अहिले दुई कठ्ठाको सानो चौरभित्र १८ घरका बासिन्दा अटाइनअटाइ बसेका छन् । एकातिर दुर्गन्ध, अर्कातिर गाउँबासको चिन्ता, बालबालिकालाई हावापानी र सर्पको टोकाइबाट जोगाउनु चुनौतीमाथि चुनौतीको चांङ थोपरिएको यहाँका बासिन्दा वर्षात् र झरीमा झन् आत्तिने गरेका छन् ।

अहिले उनीहरू हुप्सेकोट–१ जुकेपानीको एउटा सानो चौरमा बस्दै आएका छन् । हुप्सेकोटले निर्माण गरिदिएको अस्थायी घरमा उनीहरू आश्रय लिइरहेका छन् । विस्थापित १८ घरपरिवारको दैनिकी अहिले ज्याला मजदुरी गरेर बितेको छ । ब्लक र टिन लगाइएको एक–एक कोठा र एउटा टेन्ट उनीहरूको बास काट्ने थलो भएको छ । बिहान–बेलुकाको छाक ज्याला मजदुरीकै भरमा काटे पनि यो बर्खा कसरी काट्ने चिन्ता उनीहरूमा छाएको छ । गत वर्ष पनि टेन्टकै भरमा खाली चौरमा जाडो काटेका उनीहरूलाई अहिले पनि टेन्ट सानो टहरो र खाली चौरमै काट्नुपर्ने बाध्यता छ ।

यो झरीमा खासगरी सुत्केरी महिला र ज्येष्ठ नागरिकको हेरचाहमा समस्या हुने गरेको तिलबहादुर सोमै मगरले बताए । “सानो एउटा कोठाभित्र आठदेखि १०–१२ जनाको परिवार बस्नुपर्ने बाध्यताले अहिले पिरोलिरहेको छ”, उनले भने “पहिरोपीडितको एउटै चाहना छ– कुनै एक ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो ।”

उनीहरु बस्दै आएको गाउँमा प्रतिघर एकदेखि तीन बिघा जमिन थियो । अहिले ती जमिनमात्र खोसिएन बस्ने बास पनि खोसिएको छ । अरुको जग्गामा शरण लिएर बस्नुपरेको छ । पहिरोपीडितको एउटै स्वर छ– पहिराले विस्थापित भएपछि पुनः गाउँ फर्किएर जान सक्ने अवस्था छैन । विस्थापतिलाई अहिलेसम्म गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ । तर स्थायी व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारले पहल गर्नुपर्ने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : १६ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति