तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो | Khabarhub Khabarhub

तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ । मन्दिरमा आज बिहानदेखि नै दर्शन, पूजा पाठ गर्न भक्तजनको घुँइचो लागेको हो । भक्तजन लामो लाममा दर्शन गर्ने प्रतीक्षामा बसेका छन् ।

तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानी मन्दिर वसन्तपुर दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एकपटक दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। यसैले गर्दा पनि यहाँ भक्तजनको भीड लागेको हो ।

हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा तलेजुका साथै जगन्नाथ, शिवपार्वती, ठूलो घण्टा, कालभैरव, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत सम्पदा छन् ।

सर्वसाधारणका लागि प्रत्येक वर्ष बडादसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइएको हो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । महाअष्टमीको रात्रिमा कालरात्रि नामले गरिने पूजामा यो बलि चढाउने गरिन्छ । नेपाली सेनाको मुख्यालयबाट मार हान्न सैनिक खटाउने गरिएको छ ।

पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा ढोका थिए । तलेजु भवानी मन्दिरमा चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो । जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे । देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै ढोकाबाट प्रवेश गराइन्थ्यो । सन् १९९० को भुइँचालोपछि भने अरू सबै ढोका बन्द गरेर एउटैबाट मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको हो ।

तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पूजिन्छ ।  तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि हुने गरेको छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् । उनी सिम्रौनगढका राजा थिए । 

मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर एक सय २ फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ ।  

तलेजु मन्दिर वर्षमा एकपटक महानवमी दिनमात्र  सर्वसाधारणका लागि खुला गरिए पनि यहाँ दिनहुँ पूजाआराधना हुन्छ । कर्माचार्यका थरका पुजारी यहाँ पूजा गर्ने परम्परा छ । तलेजुको पूजा गर्न आठ जना मानिस संलग्न हुन्छन् । त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर ९देवीको मूर्ति राखिएको ठाउँ० मा कर्माचार्य, जोशी र राजवंशी गरी तीनवटा थरका मानिसले मात्र प्रवेश पाउने नियम छ ।

राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् । थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ । नगरा बजाउने, घण्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि । यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए ।

तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ । एउटा पर्वमा १६ जातका ४२ जना मानिस अनिवार्य चाहिने व्यवस्था छ । तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन् । राणाकाल र त्यसअघि राजपरिवारका सदस्यले मात्र पूजा गर्ने अवसर पाएका थिए । तलेजु मन्दिरमा पूजा गर्न विधि–विधान पुर्‍याउनुपर्छ । त्यसका लागि ज्योतिष कहाँ गएर तिथिमिति हेराएर, शुभ साइत र शुभ मिति जुराउनुपर्छ । त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ ।

हनुमानढोका क्षेत्रमा तलेजु मदिर सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो । मन्दिर अग्लो भएकाले परदेखि नै यसको आकर्षण देखिने गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  २ : ४४ बजे

कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष

नारायणी अस्पतालका बिग्रिएका उपकरण आविष्कार केन्द्रले मर्मत गरिदिने

वीरगञ्ज– वीरगञ्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौँदेखि प्रयोगमा नआई थन्किएका उपकरण

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

महोत्तरी– तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित

खाँदबारी-किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको आग्रह

काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले

रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी

काठमाडौं- कजाकस्तानमा भएको घातक हवाई दुर्घटनामा रूसको हात रहेको जनाइएको