'लघुवित्त र सहकारी पीडितको जिम्मा सरकारले लिनुपर्छ' | Khabarhub Khabarhub

‘लघुवित्त र सहकारी पीडितको जिम्मा सरकारले लिनुपर्छ’

राष्ट्र बैंकलाई दोष लगाएर उम्कन मिल्दैन



यस आर्थिक वर्षको बजेटले चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ जस्तो विनियोजन गरेको छ, त्यसले नै अर्थतन्त्रको एउटा चित्र देखाउँछ । अघिल्लो आर्थिक वर्षमा २१ दशमलव २ प्रतिशत पुँजीगत खर्च थियो । यो वर्ष १७ दशमलव २५ प्रतिशत पुँजीगत खर्च विनियोजन गरियो । बजेट उस्तै आकारमा छ तर चालू खर्च बढ्यो, पुँजीगत खर्च घट्यो ।

वित्तीय व्यवस्थापनमा ऋणको साँवा-ब्याज भुक्तानीको पैसा बढेको देखिन्छ । आन्तरिक ऋण एकदमै बढेको छ । अहिले हाम्रो आन्तरिक र बाह्य गरेर करिब साढे २३ अर्ब ऋण छ । ऋण तिर्नलाई पनि ऋण गर्नुपर्ने अवस्थातिर सरकार उन्मुख छ ।

यस्तो बेलामा व्यवसायीहरूको माग खुकुलो मौद्रिक नीति बनाऊ र हामीलाई सस्तो ब्याजदरमा पैसा देऊ भन्ने छ । अर्कोतर्फ, मुद्रास्फीति ८-९ प्रतिशतको हाराहारीमा छ । त्योभन्दा कम ब्याजदर भयो भने निक्षेपकर्तालाई कुनै आकर्षण हुँदैन । उसले पाँच प्रतिशत ब्याज पाउँछ भने घाटामा जान बैंकमा पैसा राख्दैन । बैंकमा पैसा जम्मा गर्न आएनन् भने बैंकले कुन पैसा ऋणमा दिने व्यवसायीलाई ? कहाँबाट दिने ? सरकारको पैसा छ र ?

राष्ट्र बैंकसँग रहेको पैसा राष्ट्र बैंकको होइन । देशभरबाट उठेको कर त्यहाँ जम्मा भएर बस्ने हो । नेपाल सरकारले बेला मौकामा किनेको ट्रेजरी सबै त्यहाँ रहन्छ । उसले केही कमिसन र त्यसबाट प्राप्त भएको आम्दानी लिने हो । राष्ट्र बैंकले सबै पैसा दिए पनि अहिलेको आवश्यकता पूरा हुँदैन । त्यसैले, व्यवसायीको माग पनि व्यवहारिक छैन । सस्तोमा ब्याज नभएकाले मैले ऋण पाइन भन्ने छ । अर्को, एकखाले व्यवसायी कस्ता छन् भने आफैं बैंकर, आफैं उद्योगपति, आफैं व्यापारी । बैंकर र वित्तीय संस्था सञ्चालक एकै छ । 

उसले मौका अनुसार अलग–अलग कुरा गर्छ । बैंकर भएर गयो भने ब्याजदर घटाउदिनँ भन्छ । व्यापारी र उद्योगपति भएर गयो भने ब्याजदर घटाउ भनेर डेलिगेसनमा जान्छ । उसको दोहोरो भूमिका छ । यस्तो प्रकार चलाखी वा सन्तुलन बिग्रेको समयमा व्यवसायीले भनेको जस्तो मौद्रिक नीति हुन सक्दैन । सरकारले दिएको टारगेट भन्दा भिन्न ढंगले राष्ट्र बैंकले मौद्रिक नीति बनाउन सक्दैन ।

जब आफैँले दिएको टारगेटको विपरीतमा अर्थमन्त्री र अर्थमन्त्रालय बोल्छ भने उसको भूमिकालाई इमानदार भन्न मिल्छ ? ६.५ प्रतिशत मूल्य वृद्धिमा बस भन्छन् । त्योभन्दा खुकुलो नीति ल्याउ भनेर राष्ट्र बैंकलाई किन भनेको ? जस्टिफाई गर्नुपर्दैन ? दोष अर्कातिर फाल्दिने, आफ्नो जिम्मेवारी पूरा नगर्ने । त्यसकारण अहिलेको यो संकट घट्ने होइन, अझै बढ्ने देखिन्छ । 

सबैभन्दा ठूलो समस्या भनेको सरकारको भूमिका कमजोर हुनु हो । बैंकको भन्दा सरकारको भूमिका बलियो हुनुपर्छ । अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा सरकारको हुन्छ । राजस्व संकलन सरकारले गर्छ । नीति सरकारले बनाउँछ । खर्च सरकारले गर्छ । चालू खर्च घटाउने काम पनि सरकारले गर्नुपर्‍यो । पुँजीगत खर्च सरकारले नै बढाउनु पर्यो । राष्ट्र बैंकले गर्ने त होइन, सरकारले गर्नुपर्यो ।

यो पाटोको काम ठिक छ त ? छैन । पछिल्लो तथ्याङ्क हेर्ने हो भने राजस्व ३० प्रतिशतले घटेको छ । यसको जिम्मेवार को हुन्छ ? पुँजीगत खर्च भएन, २९ अरब मात्रै भएको छ । यसको जिम्मेवारी कसले लिन्छ ? अर्थमन्त्रालय होइन ? सरकार होइन ? विभिन्न मन्त्रालय भनौँ न । बाटो बनाउने मन्त्रालय, बिजुली बनाउने मन्त्रालय, निर्माणसँग सम्बन्धित मन्त्रालयले किन खर्च गरेनन् ? अर्थमन्त्रालयले कोषमा नभएर पैसा नदिएको हो भने किन दिइएन ? 

व्यवसायीहरू राष्ट्र बैंकलाई मात्रै भन्ने । सरकारले पनि राष्ट्र बैंकलाई भन्ने । राष्ट्र बैंकले के भन्छ भने मेरोतर्फबाट ठीक छ । विदेशी मुद्रा सञ्चितिको कुनै चिन्ता छैन, किनभने बढेर आएको छ । राष्ट्र बैंक यसमा ढुक्क छ । हिजो उसले आयातमा कडाइ गरेको थियो, अहिले खुला गरिसक्यो । सरकारले आयात गर्दैन, बढ्दैन त मेरो जिम्मेवारी भएन भन्छ राष्ट्र बैंक । यसमा सरकारले भूमिका खेल्नुपर्यो । 

वाणिज्यको एलसी खोल्ने काम बैंकको होइन, सरकारले गर्ने हो । कुनै उद्योगलाई विचार गर्नुपर्ला, अथवा व्यापार राष्ट्र बैंकको काम होइन, यो त सरकारको नीतिको कुरा हो, बैंकको छैन भन्छ । ब्याजदर बढी भयो भनिएको छ, अब ब्याजदर पनि घट्न थाल्यो, मेरो साइडबाट सबै ठिक छ भन्छ राष्ट्र बैंक । हेर्दा त्यो यस्तै देखिन्छ । सरकारको तर्फबाट हेर्ने हो भने ऊ अर्कैंलाई जिम्मा लगाएर बसेको छ ।

सरकार आफ्नो भूमिका निर्वाह गरिरहेको छैन । यहाँनिर सरकारकै भूमिका कमजोर देखिन्छ । किन कमजोर भयो भने–पहिलो-अनावश्यक खर्च कटौती गर्छु भनेको थियो । त्यो गर्न सकेन । चालू खर्च बढ्ने कुराले त्यही कुरा पुष्टि  गर्‍यो । दोस्रो– पुँजीगत खर्च बढाउँछु भन्यो, कम सिलिङ्ग तोक्दा पनि खर्च नहुने अवस्था आयो । पुँजीगत खर्च बढ्यो भने नै बजारमा त्यो पैसा जान्छ र बजार चलायमान हुन्छ ।

त्यो कामै रोकिएपछि राष्ट्र बैंकमा १६ खर्ब भए पनि के गर्ने ? कहिलेकाँही धेरै पैसा जम्मा भएर बस्नु पनि आफैँमा समस्या निम्तिन्छ । जस्तो मानौं- अहिले १३३ रुपैयाँमा डलर खरिद गरिँदैछ । अन्तर्राष्ट्रिय कारणले डलरको भाऊ १२० मा झर्यो भने त्यसै २ देखि ३ खर्ब पैसा नोक्सान हुन्छ ।
एकले भन्छ, सञ्चिति बढाउनाले सन्तुष्टि गर्छ । यो किन बढेर बसेको छ, यसको असर के हो उसले भन्दैन । यसको जोखिम बताउँदैन । सरकारले केही गर्दैन ।

अब अगाडि पनि केही सुधार हुने अवस्था देखिँदैन । किनभने, चाडपर्व सकिएपछि, मंसिर लागेपछि ठेक्कापट्टाको काम सुरु हुन्थ्यो । यो आन्दोलन, प्रदर्शन के–के जातिले यो हिउँदभरि वा यो तीन महिना यत्तिकै बित्यो भने के हुन्छ ? पुँजीगत खर्च होला ? यो वर्षको अन्तिममा आर्थिक नतिजा के हुन्छ ? कुनै सुधार हुने लक्षण छैन ।

अर्को, उपभोग्य सामानको मूल्य बढिरहेको छ । चामलको भाउ बढेको छ । भारतले पहिले निर्यातमा ३० प्रतिशत कर लगाइदिन्छु भन्यो । आलु, प्याज, फलफूल लगायतमा कर लगाएको छ । स्वदेशी वस्तुमा पनि कर लागेको छ । जस्तै– प्याकिङ्ग गरेको मासुमा १३ प्रतिशत कर छ । त्यसले स्वतः मूल्यवृद्धिलाई बढाएको छ । यता पेट्रोलियमजन्य पदार्थको मूल्य बढेको छ । यो वर्ष मुद्रास्फिति माथि जाने अवस्था पनि छैन । मूल्यवृद्धि माथि जाने स्थिति छ ।

तर, सगँसँगै चालू खर्च नघट्ने, पुँजीगत खर्च घट्ने । परिणामतः आर्थिक दृष्टि राम्रो छैन । विपक्षी भएर तर्साउन भनेको होइन । एक विज्ञ भएकाले विश्लेषण गरेको हुँ । जति सन्तोषको कुरा गरिएको छ, त्यो छैन । नीतिगत सुधार छैन । सरकार त्यसतर्फ तयार पनि देखिन्न । अब वैदेशिक लगानी आउला त भन्दा त्यो स्थिति पनि छैन । नयाँ लगानी आएर अर्थतन्त्रलाई लाई उकास्छ कि भन्ने सम्भावना छैन ।

किनभने, राजनीतिक-आर्थिक अस्थिरताको प्रचारबाजी छ । नयाँ लगानी गर्न कोही उत्साहित छैन । कहिलेकाहीँ अन्य सूचकहरू नकारात्मक हुँदा पनि अन्य क्षेत्रले आर्थिक क्षेत्रलाई धकेल्न सक्थ्यो । त्यो धकेल्ने तत्व पनि कमजोर छ । अहिले ३ महिनामा आन्तरिक ऋणको प्रयोग ९७ अर्ब गरिएको छ । हाम्रो ट्रेजरी आम्दानीले नपुगेर ५७ अर्ब घाटामा छ । ट्रेजरी घाटामा हुने बित्तिकै तलब भत्ता खुवाउन पनि पैसा नपुगेपछि ७ प्रतिशतमा ऋण लिएर चालू खर्च धान्नुपर्ने स्थिति छ ।

ऋणमा पैसा उठाएर खर्च गरिँदैछ । उत्पादित क्षेत्रमा पैसा नगएपछि ऋण स्वतः बढ्छ । यही वर्षमात्रै २४० अर्ब ऋण उठाउने भनेका छन् । जम्मै ऋण उठ्ने, त्यसमा ब्याज जोडदै जाने अनि यता गर्नुपर्ने खर्च चालूमा जाने, पुँजीगत खर्च नहुने । यो राम्रो तस्बिर होइन । 

रेमिट्यान्समा खासै असर नपर्ला
हामीलाई इजरायल–हमास युद्धले खासै असर गर्दैन । इजरायलमा हाम्रा नेपालीहरुको करिब ४ हजार संख्या हो । ‘अर्न एण्ड लर्न’ कार्यक्रममा गएकालाई  यसले प्रभावित गर्न सक्छ, बाँकी मान्छे फर्किन्न भनिरहेका छन् । करिब १२ सय जना मात्रै ‘अर्न एण्ड लर्न’ मा गएका छन् । बाँकी रहेका खाडीका अरु देशबाट युद्ध भएर मान्छे फर्किएको सुनिएको छैन । त्यसो हुँदा अन्त जाने रोकिएको पनि छैन । ती जानेहरु अहिले फर्किने सम्भावना देखिन्न । इजरायलमा सानो कार्यक्रममा गएकाहरू प्रभावित भए पनि अरु प्रभावित छैनन् । अन्य देशमा जानेहरूको  संख्या घटेको छैन । त्यसकारण रेमिट्यान्सको हकमा कुनै असर छैन ।

सरकारले अब के गर्नुपर्छ ? 

सरकारले सबैभन्दा पहिला आफ्नो काम गर्नुपर्यो । मान्छेहरूले अहिले किन आर्थिक गतिविधि गरिहेका छैनन् ? गतिविधि गर्न उनीहरुको आत्मविश्वास किन कमजोर भइरहेको छ ? त्यो आत्मविश्वास जगाउनका लागि सरकारले केही काम गर्नुपर्यो ।  माइक्रो फाइनान्स, लघुवित्त, सहकारी र बैंकको व्याज उच्च भयो, यसले हाम्रो ऋण तिर्न सक्दनौं भनेर एकथरिले भन्ने । अर्कोथरी बैंकहरु चिन्तित छन् ।

यो सडकको आन्दोलनले आफ्नो लगानी डुब्ने हो कि भनेर थप लगानी गर्न तयार छैनन् । यो ब्याज घटोस्, बढोस् मतलब छैन । अब लगानी तयार छैन । यस्तो बेलामा सरकारले छलफल गर्नुपर्यो । लघुवित्तको ऋणलाई यो–यो किसिमको सम्बोधन गर्छु र तिमीहरूको उद्धार गर्छु भन्नुपर्यो ।

सहकारीका बारेमा सरकारले केही गरेको छैन । सहकारी भागेका भाग्यै छन् । सहकारीको ऋणका बारेमा सरकारले ग्यारेण्टी गर्छ, तिमी नआत्तिऔँ । अहिले नझिक भन्न सकेको खोई ? सहकारीको यो–यो पैसा धितो लिलाम गरेर पनि तिमीहरुको पैसा तिराउँछु, यसको जिम्मा सरकारले लिन्छ भनेको कतै सुनिएको छैन । बैंकको बारेमा पनि सरकारले केही भनेको छैन ।  

त्यस्तै, निर्माण व्यवसायीले काम गरेको पैसा नपाएको भन्दै आन्दोलन गरे । मन्त्रीले दिन्छु भने, तर अर्थमन्त्रालयले दिएन । त्यसमा कारवाही भयो ? छैन । दुई खर्ब ३२ अर्ब पुँजीगत खर्च भनेर यति थोरै छुट्याएको छ । त्यै पनि पुरै खर्च गर्ने योजना छैन । ठेक्कापट्टा लगाउने र समयमा काम गर्ने कुनै सुरुवात वा दौडधुप छैन । त्यसका लागि मन्त्रालयहरुबीच आन्तरिक छलफल छैन । खर्च किन गर्दैनौ भनेर पहल गरेको केहीँ कतै छैन । मुक्तिनाथ घुम्न जाने, विदेश घुम्न जाने गरेका छन् । 

यतिबेला बेलायती दूताबासले बेलायतका लगानीकर्ताहरुको कन्फरेन्स गर्यो । त्यो राम्रो कुरा हो । त्यो सम्मेलनमा सहभागी भएर मात्रै नेपालमा लगानी गर्न आउँछन् त ? त्यसका लागि अर्थमन्त्री गएर कतिलाई प्रोत्साहित गरे ? कति आउलान् त लगानी गर्न ? जब आन्तरिक वातावरण नै ठीक छैन भने बाहिर सम्मेलन गरेर के हुन्छ ? यस्ता कामहरु नगरी सुधार कसरी हुन्छ ? गर्नुपर्ने काम सरकारले गरेकै छैन ।

अझ विरोधाभाषपूर्ण कुरा गरिरहेको छ । प्रधानमन्त्री उच्चस्तरको समिति बनाउँछु भन्छन् । अर्थमन्त्री त्यसको आवश्यकता छैन भन्छन् । सुधार भइरहेको छ, किन गर्नुपर्यो भन्छन् । राष्ट्र बैंक एकदम सहज स्थितिमा छौं भन्छ ।

व्यवसायीहरु संकटै संकट छ भन्छन् । यीनीहरु बीचमा समन्वय बनाएको छ त ? एक–अर्कोमा कसैले ठिक छ भन्ने, कसैले ठिक छैन भन्ने । एउटा धारणामा कोही उभिएको छैन । यसको प्रयास भएको पनि देखिँदैन । अनि कसरी आत्मविश्वास जाग्छ ? ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : २१ बजे

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स

केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख– कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै