सडकमा प्रहरीको मनपरी | Khabarhub Khabarhub

सडकमा प्रहरीको मनपरी



काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शुक्रबार बिहानैदेखि प्रहरी तैनाथ गरियो । प्रसाईले आफूलाई नजरबन्दमा राखेको बताए भने भक्तपुर जिल्ला प्रशासनले सुरक्षा प्रदान गरिएको तर्क गर्‍यो ।

व्यवस्था परिवर्तनका लागि भन्दै ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का नाममा मंसिर ७ गते काठमाडौंको बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आजदेखि तीनकुने केन्द्रित प्रदर्शनको घोषणा गरेको थियो । तर, प्रशासनले तितरवितर र धरपकड गरेपछि आज तीनकुनेमा प्रदर्शन हुन पाएन ।

प्रशासनले तीनकुनेमा प्रदर्शनको अनुमति नभएको प्रसाईं समूहलाई बिहानै जानकारी गराएको थियो । त्यसका बाबजूत पनि प्रदर्शनका लागि तीनकुने पुगेका केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लियो । बाक्लो सङ्ख्यामा प्रहरीको उपस्थिति देखिएको तीनकुनेमा शुक्रबार प्रदर्शनकारी मात्र होइन, बाटो हिँड्ने सर्वसाधारणले समेत दुःख पाए ।

तीनकुनेको बाटोमा हिँडेका नागरिकदेखि रमिता हेर्न पुगेका सर्वसाधरणलाई पनि प्रहरीले छोडेन । उपचारका लागि अस्पताल हिँडेका सर्वसाधारणमाथि पनि प्रहरीले अभद्र व्यवहार गरेको पीडितको गुनासो छ ।

समाचार संकलनका लागि गएका सञ्चारकर्मी सविन तिमल्सिनालाई पनि प्रहरीले पक्राउ गरेर चार घण्टा हिरासतमा राख्यो । सूचना विभागबाट जारी भएको प्रेस कार्ड देखाउँदा पनि आफूलाई प्रहरीले पक्राउ गरेको तिमल्सिनाले खबरहबसँग गुनासो गरे । उनलाई प्रहरीले काठमाडौं जिल्ला परिसरमा लगेर चार घण्टा थुनेको थियो ।

तिमल्सिनाले आफूलाई प्रहरीले अमानवीय र अभद्र व्यवहार गरेको बताए । आफूमात्र नभई सडकमा हिँडेका प्रेसर र सुगरका बिरामीलाई पनि प्रहरीले नछोडेको उनले सुनाए ।

दमन र धरपकडको विरोध

यसैवीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञप्ति नै निकालेर प्रसाईंलाई नजरबन्द गरिएको र उनको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा दुर्गा प्रसाईं नेतृत्वको अभियानमाथि प्रहरीले अनावश्यक दमन र धरपकड गरेको बताएका छन् । कुनै पनि विचार लिएर शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्ने अधिकार संविधानले सुनिश्चित गरेको भन्दै उनले सरकारको कार्यशैलीको निन्दा गरेका छन् ।

‘अभियानको मुख्य नेतृत्वलाई घरमा नजरबन्द गर्ने तथा प्रदर्शनकारी पुग्नुअगावै कार्यक्रमस्थलमा सुरक्षाकर्मीले कब्जा गर्ने कार्यहरु आपत्तिजनक छन्, हामी यसको निन्दा र भत्र्सना गर्छौं,’ राप्रपाको विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्रले दिएको अधिकार सबैले बराबरी उपभोग गर्न पाउँछन् ।’

दुर्गा प्रसाईंको निवास अगाडि प्रहरी

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको कदमको विरोध गर्दै धरपकड र नजरबन्द जस्ता अलोकतान्त्रिक कामले कुनै पनि समस्याको समाधान ननिस्कने बताएका छन् ।

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि सरकारको कदमको विरोध गर्दै सरकारको निरंकुश र दमनकारी कार्यको भत्र्सना गरेका छन् ।

सरकारको कदमलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि विरोध गरे । लोकतन्त्रमा सबै नागरिकलाई समान अधिकार भएको उनले बताएका छन् ।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले जनताका मुद्दा सबैले उठाउन पाउने भन्दै निषेधको राजनीति नटिक्ने बताए ।

अधिकारकर्मी भन्छन्- सरकारको रबैयाले जटिलता ल्याउँछ

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन सरकारका लागि यतिबेला टाउको दुखाइको विषय बनेको छ । व्यवस्था नै नउल्ट्याएसम्म आफ्नो अभियान नरोक्ने दाबी गर्दै आन्दोलनमा होमिएका प्रसाईंले आजदेखि तीनकुने केन्द्रित आन्दोलन घोषणा गरेपछि सरकारले उनलाई रोक्न खोजेको हो ।
पूर्वराजनीतिज्ञ एवं नागरिक अगुवा डा. सूर्यराज आचार्य सरकारको यो कार्यशैलीबाट राजावादीहरुको आन्दोलनलाई थप टेवा पुग्ने बताउँछन् ।

खबरहबसँग संक्षिप्त कुरा गर्दै आचार्य भन्छन, ‘सरकारले सडकमा नागरिकमाथि देखाएको प्रवृत्तिले राम्रो सन्देश दिएन । देशमा जुन किसिमले ध्रुवीकरण हुन खोज्दैछ, यसलाई यस्ता क्रियाकलापले सहयोग पुग्छ।’

हिजो निरंकुश व्यवस्थामा जस्तो आज लोकतान्त्रिक व्यवस्थामा सरकारका यस्ता क्रियाकलाप सुहाउँदो नभएको आचार्यको तर्क छ । आज सरकारले गरेको गलत अभ्यास भोलिका लागि नजिर हुने भन्दै आचार्यले नागरिकहरुलाई स्वतन्त्रतापूर्वक विरोध गर्न दिइनुपर्ने बताए ।

हिजो केपी ओली नेतृत्वको सरकारका गलत कदमको विरोध गरेका गठबन्धन दलहरुको सरकार नै आज नागरिकमाथि अमानवीय ढंगले प्रस्तुत हुन नमिल्ने आचार्यको सुझाव छ ।

त्यस्तै, सरकारको कार्यशैलीको विरोध गर्दै नागरिक अभियन्ता एवं पत्रकार कनकमणि दीक्षितले सञ्चार माध्यम र आम नागरिकहरु सरकारका गलत कामको विरोधमा नभई कांग्रेस र एमालेको विरोधमा लागेको गुनासो गरे । सरकारको नेतृत्व गरेको दल नै आज भइरहेका गलत कामको जिम्मेवार रहेको उनको तर्क छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा बरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने नागरिकलाई धरपकड नगरिएकाे दावी गरे ।  प्रहरी नागरिकको सुरक्षाका लागि सडकमा खटिएको भन्दै उनले अनावश्यक धरपकड गरेर दुःख दिने प्रहरीको कुनै नियत नभएको बताए ।

यो पनि..

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : २२ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको