दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खबरहबको दिनभर आजमा खुला विश्वविद्यालयका विद्यार्थीलाई परीक्षामा सामेल गराउने सर्वोच्चको आदेश परिषदले मानेन, सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अब बुधबार सुनुवाइ हुने, लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा, रास्वपा सभापति लामिछानेलाई खोया हान्ने युवक १० दिन हिरासतमा रहने, कमल थापाले जलाए मन्त्री किराँतीको पुत्ला, १४ किलो सुन प्रकरण : भन्सार कार्यालयको छानबिन समितिले बुझायो प्रतिवेदनलगायतका समाचारले प्रमुख स्थान पाएका छन ।

खुला विश्वविद्यालयका विद्यार्थीलाई परीक्षामा सामेल गराउने सर्वोच्चको आदेश परिषदले मानेन

सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको आदेश नेपाल कानुन व्यवसायी परिषदले नमान्ने भएको छ । खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण विद्यार्थीलाई यही पुस १३ र १४ गते हुने अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा सहभागी गराउन सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार आदेश दिएको थियो ।

आइतबार महान्यायधिवक्ताको कार्यालयका अधिकारीहरु र परिषदका कर्मचारीबीच भएको छलफलले खुला विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई १३ र १४ गतेको परीक्षामा सामेल नगराउने निर्णय लिएको स्रोतले बतायो ।

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अब बुधबार सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ।

आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ।

लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो ।

एमालेको निष्कर्ष : नेपाली जनता गणतन्त्रको पक्षमा छन्

नेकपा एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म गरेको १९ दिने महाकाली मेची यात्राबाट ७ वटा निष्कर्ष निकालेको छ ।

देशमा संविधान र व्यवस्थाप्रति वितृष्णा बढिरहेको र राजावादीहरुतर्फ आकर्षण बढेको काठमाडौंमा चर्चा चलिरहेका बेला एमालेले नेपाली जनता संविधान र गणतन्त्रको पक्षमा रहेको निष्कर्ष निकालेको छ ।

दाहाल, देउवा र ओलीबीच भेटवार्ता, टीआरसी विधेयकबारे छलफल

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि रहेका थिए ।

किसुनजी नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व हाे : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्म दिवसका उपलक्ष्यमा आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्श सभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रूपमा आफूले पाएको बताएका हुन् ।

धारामा पानी नपठाउने तर बिल पठाउने काम अन्त्य गर्नुस् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ता दिक्दार भएकाले त्यो समस्या तुरुन्त समाधान गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् ।

आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन, आर्थिक समृद्धि र सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकता राखेको बताएकी छिन् ।

प्रेस सेन्टर मोरङद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने दायित्व बोकेको सरकारले सुन काण्ड, ललिता निवास प्रकरणजस्ता सुशासनका कामलाई व्यवस्थित ढङ्गले छानबिन गरेको बताइन् ।

रास्वपा सभापति लामिछानेलाई खोया हान्ने युवक १० दिन हिरासतमा रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा खोया हान्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ ।

सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उच्च अदालतमा पनि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली सुरु

मुलुकका सबै उच्च अदालतमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उच्च अदालत पाटनमा सो प्रणालीको उद्घाटन गरे ।

यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

१४ किलो सुन प्रकरण : भन्सार कार्यालयको छानबिन समितिले बुझायो प्रतिवेदन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले १४ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाएको छ ।

मंसिर २१ गते बिहीबार राति त्रिभुवन विमानस्थलमा बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न गठित समितिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिवेदन बुझाएको हो । समितिको प्रतिवेदनमा मीनबहादुर घले र उनको समूह नै सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकालिएको छ ।

कमल थापाले जलाए मन्त्री किराँतीको पुत्ला

राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेको छ।

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मावलम्बीहरूको आस्था र विश्वास माथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् ।

मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री कप महिला टी- २०: एपीएफ विजयी

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गरेको छ । एपीएफले दिएको १५२ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र बनाएपछि एपीएफ ९० रनले विजयी भएको हो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ९ : ०२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार

आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको