मौलिकता संरक्षणसँगै स्वरोजगार « Khabarhub

मौलिकता संरक्षणसँगै स्वरोजगार


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् ।

सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन युवा मौलिक सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन् । बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका–८ का अमर विश्वकर्मा र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जनका साथै मौलिकता संरक्षणमा परिचालन गरेका छन् ।

घर, भवन, मन्दिर, गुम्बा, सङ्ग्रहालयमा राखिने काठका टुँडाल, झ्याल, ढोका, थाम, कुर्ची, खाट, दराजमा मौलिक बुट्टा भरेर आकर्षक बनाउने सीप उनीहरुसँग छ । काठ र बाँसबाट सामान बनाउन उनीहरुले जामुनाखर्कमा ‘राउटे हस्तकला उद्योग’ खोलेका छन् । एक पटक देखेको र चित्र हेरेको आधारमा काठ कुँदेर दुरुस्त सामग्री तयार पार्नु उनीहरुको विशेषता हो ।

“सानैदेखि काठ कुँदेर विभिन्न सामान बनाउने गर्दथे”, शाहीले भने, “काठका सामान बनाउने रुचि भएका तीन जना मिलेर माग लिने र सामान बनाएर बेच्ने गरेका छौँ ।” प्रर्दशनीका लागि तयार पारेको काष्ठकलाका सामग्री प्रयोग गरेर जामुनाखर्कमा मौलिकता झल्काउने घर पुनःनिर्माण गरिएको छ । वैदेशिक रोजगारीका लागि ३६ वर्षीय शाही २७ महिना मलेसियामा बिताएर विसं २०७४ मा स्वदेश फर्केका थिए । मलेसियामा सोचेजस्तो नभएपछि शाहीले घर फर्किएर काठ र बाँसका सामान बनाउने व्यवसाय सुरु गरे । शाहीले सात वर्ष मेलिसियाको फर्निचर उद्योगमा काम गरेर फर्किएका ३८ वर्षीय अमर र बेनीमै फर्निचरमा काम गर्दै आएका रुपेशलाई रोजगारी दिए ।

सुरुमा बाँसका सिन्का बनाउन चीनबाट रु नौ लाख खर्चेर मेसिन ल्याएका शाहीले उद्योगमा रु १५ लाखभन्दा बढीको लगानी गरेको बताए । रु पाँच सयदेखि रु दुई लाख ५० हजार मूल्यसम्मका सामग्री बनाएको उनको भनाइ छ । बाँसका सिन्कालाई डिजाइन र स्वरुपअनुसारको टुक्रा बनाएर फेबीकोलले टाँसेर मोडाका साथै कुर्ची, टेबल र चोयाबाट डोका, डाला, नाङ्लो, थुन्से, भकारीजस्ता परम्परागत घरायसी सामग्री तयार पारिँदै आएको उद्योगमा पछिल्लो समय काठका सामान उत्पादन हुन थालेको हो । भवन, घर, मन्दिरका फर्निचरका साथै उपहार र सजावटका लागि मागबमोजिमका हस्तकलाका सामान बनाउने गरिएको छ ।

शाहीले पशुपतिनाथ, जानकी, मुक्तिनाथ, रानीमहल, गलेश्वर, पाँचतले दरबार, घर, दर्जनौँ मन्दिर तथा ऐतिहासिकस्थलका दुरुस्त आकृति तयार पारेका छन् । “एक पटक देखेका जुनसुकै वस्तुको पनि आकृति तयार पार्न सक्छु”, शाहीले भने, “कतिपय सामग्री आफ्नै सिर्जनामा पनि बनाएको छु ।”

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : १० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी