काभ्रेपलाञ्चोकमा नमूना एकीकृत बस्तीकाे निर्माण अलपत्र « Khabarhub

काभ्रेपलाञ्चोकमा नमूना एकीकृत बस्तीकाे निर्माण अलपत्र


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- बजेट अभावमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती अलपत्र परेको छ । पाँच वर्षअघि राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्ने गरी निर्माण थालिएको उक्त बस्ती निर्माणअन्तर्गत केही घर बन्न बाँकी छन् भने बनेका घरको ‘फिनिसिङ’ गर्न बाँकी छ ।

नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्नेमा  बजेट अभावका कारण केही महिनादेखि काम रोकिएको छ । छ घर निर्माण गर्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । बस्ती निर्माण सम्पन्न हुनुअघि नै प्राधिकरणको म्याद सकिएपछि घर निर्माण तथा फिनिसिङको काम अलपत्र बनेको हो ।

बाँकी काम सम्पन्न गर्नका लागि नगरपालिकाले  ४० लाख रुपैयाँ सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताए । उनका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइएको छ ।

नगरप्रमुख टोकबहादुर वाइबाले पहिलो चरणमा लगेको पेस्की फर्छ्यौट भएपछि बस्ती निर्माणका लागि उपलब्ध गराउने रकम निकासा गरिने बताए । यसअघि पालिकाले १० लाख रुपैयाँ सहयोग गरेको थियो । प्राधिकरणबाट समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो ।

समितिका अध्यक्ष आइतमान तामाङले पटक पटक ५४ लाख रुपैयाँ ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणलाई निरन्तरता दिइएको बताए । समितिका अनुसार प्राधिकरणबाट विभिन्न मितिमा दुई करोड ८० लाख रुपैयाँ निकासा भएको छ ।

तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो । एक तले तीन कोठा भएका एकै डिजाइनका घर निर्माण सम्पन्न गर्न जनश्रमदानबाहेक १३ लाख रुपैयाँ लाग्ने समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माणार्थ दुई वर्षअघि एक सय ५० दिन खटेकी थिइन् । नमुना तामाङ बस्ती निर्माण थालेपछि कामको दिन हेरेर उनीसँगै गाउँका महिला, पुरुष जनश्रमदानमा जुटेका थिए । ‘गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउँथ्यौँ, अहिले पैसा छैन भनेर काम रोकिएको सुनेका छौँ’, पञ्चकुमारीले भनिन् ।

उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ पाँच वर्षअघि सोही बस्ती निर्माणका लागि दिएकी थिइन् । सरकारसँग सम्झौता गरी तीन धारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा एक करोड ४० लाख रुपैयाँ रकम निकासा भएको थियो । स्थानीय विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत सहयोग गरिरहेको बताए । ‘भूकम्प पीडितको आवास निर्माणका लागि भनेर आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि बस्ती निर्माणमा खर्चिइएका छौँ’, उनले भने  ।

बस्ती निर्माण कार्य योजनाअनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्ने सम्झौता गरिएको छ । ४० लाख रुपैयाँमा निर्माण भएको सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायत सामाग्री सङ्ग्रहित गरिने समितिका अध्यक्ष तामाङले बताए । उनका अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । ‘छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० घर निर्माण गरिएको हो’, उनले भने ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ४ : ०६ बजे

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति