‘पढ्दै कमाउँदै’ कार्यक्रमप्रति विद्यार्थीको मोह | Khabarhub Khabarhub

‘पढ्दै कमाउँदै’ कार्यक्रमप्रति विद्यार्थीको मोह


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्दछन् ।

विद्यालयमा हरेक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइसम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसकेका छन् । ‘सधैँ किताबमात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैनथ्या तर फरक सीप सिक्दा नयाँ सीप र पढाइ दुवै राम्रो भइरहेको छ), उनले भने ।

गत दुई महिनादेखि विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गतको सिलाइकटाइ तालिममा सरुखाजस्तै सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत ४३ विद्यार्थी सहभागी भई पढाइसँगसँगै सीप पनि सिकिरहेका छन् । कक्षाका छात्र–छात्रा सबै जना सिलाइकटाइ तालिममा सहभागी हुने गरेका छन् ।

क्याट्रिना तामाङले पनि विद्यालयमा नै दैनिक सिलाइकटाइ तालिम लिन पाउँदा खुसी लागेको बताइन् । ‘विद्यालयमा पढाइमात्र हुने गरेको थियो तर यो वर्षदेखि सिलाइकटाइ तालिम पनि सुरु भएको छ, हामीलाई धेरै प्रभावकारी भइरहेको छ’, उनले भने ।

हुप्सेकोट गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको छ ।

सोहीअन्तर्गत सूर्यज्योति माविमा सिलाइकटाइ तालिम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक निमु गिरीले बताइन् । ‘हाम्रो विद्यालयमा एक सय ८० घण्टे सिलाइकटाइ तालिम सञ्चालन गरेका छौँ’, उनले भने, ‘कक्षा ९ का विद्यार्थी हेरक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइमा सहभागी हुन्छन् ।’

विद्यालयले १५ सिलाइ मेसिन स्थानीय अभिभावकसँग सहयोग मागेर तालिम सञ्चालन गरेको छ । ‘गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा उपलब्ध गराउने ६२ हजार पाँच सयबाट एक जना प्रशिक्षक र आवश्यक सामग्री व्यवस्थापन गरेका छौँ’, उनले भने ।

विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउने कार्यक्रमले विद्यालय तह उत्तीर्ण गर्दा विद्यार्थीमा व्यावसायिक सीपको पनि विकास हुने हुँदा यो कार्यक्रम निकै प्रभावकारी हुने प्रअ गिरीले बताए । हुप्सेकोट गाउँपालिकाले गत शैक्षिकसत्रमा चारवटा विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रम अहिले १२ विद्यालयमा सञ्चालन गरेको छ ।

कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीलाई एक सय ८० घण्टे सीपमूलक तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । ‘प्राविधिक तालिमकै लागि पालिकाले १२ विद्यालयलाई ६२ हजार पाँच सयका दरले सात लाख ५० हजार बजेट विनियोजन गरेको छ’, उनले भने ‘यो वर्ष चार सय ५० विद्यार्थीले तालिम लिइरहेका छन् ।’

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बर, ब्यूटीसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताए । ‘कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सीप बोकेर निस्किउन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागू गरिएको हो’, उनले भने । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सञ्चालन भएको तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को तह दुई बराबरको रहेको अध्यक्ष पाण्डेले बताए । ‘तालिम सकिएपछि विद्यार्थीलाई सिटीइभिटीकै प्रमाणपत्र पनि उपलब्ध गराइने छ’, उनले भने ।

हुप्सेकोट गाउँपालिकाको शिक्षा ऐनमा नै विद्यार्थीलाई प्राविधिक सीप सिकाउने बुँदा समेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका संस्थागत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।

सीपमूलक तालिम नियमित कक्षालाई असर नपर्ने गरी बिहान र साँझको समयमा सञ्चालन गर्न विद्यालयलाई समन्वय गरिएको घिमिरेले बताए । आर्थिकरूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो तालिमले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षा अधिकृत माधवराज गौतमले बताए । ‘यस क्षेत्रमा धेरै विद्यार्थी आर्थिकरूपले कमजोर छन्’, उनले भने ‘यस्ता व्यावसायिक सीपले वैकल्पिक आयआर्जनमा सहयोग पुग्ने छ ।’

पढ्दै कमाउँदै कार्यक्रमले विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको नेपाल शान्ति मावि हुप्सेकोट–३ बेलाहानीका प्रधानाध्याक सूर्य भण्डारीले बताए । ‘हाम्रो विद्यालयका कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थी प्लम्बिङ तालिममा सहभागी भएका छन्’, उनले भने, ‘यही तालिमले गर्दा बीचमा पढाइ छाड्ने सङ्ख्या यो वर्ष छैन ।’

तालिम लिन पाउँदा विद्यार्थी खुसी देखिएका छन् । सीपमूलक तालिममा सहभागी भएपछि विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गर्न सहज भएको शिक्षकहरूको अनुभव रहेको छ ।

हुप्सेकोट गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ५१ करोड ७८ लाख ८४ हजार रहेको छ । उक्त बजेटमध्ये शिक्षामा मात्रै २० करोड नौ लाख ५४ हजार विनियोजन गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : ४२ बजे

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ नहुने

औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि

सुनको मूल्य स्थिर, चाँदीमा बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठान कारबाहीमा

बागमती– बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा

साँफे–मार्तडी सडक अवरुद्ध

अछाम– पहिरोले सडक पुर्दा अछामको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।