बुद्ध खोज्दै रातारात मैले छाडेको बस्ती
अझै अशान्त छ
ममा अशान्तिको जुलुस
उसैगरी दौडिरहेको छ ।
एक्लो, बिल्कुल एक्लो बनेपछि
मैले, मेरो इतिहास खोज्न थालेको छु
आस्था र भरोसाको प्रतिमूर्ति
मेरो देश खोज्न थालेको छु ।
बुद्धको प्रस्थानसँगै
हाँस्न थालेको अँध्यारो चपाएर
वृद्ध बा–आमाले कुरिरहेका छन्
उराठ बस्ती
म त्यही बस्ती फर्कन चाहन्छु
बुद्ध बोकेर
जहाँ मान्छेको दीर्घायुको अर्चना गर्दै बसेका
मायावी मनहरू छन् ।
अविश्वासको कोर्राले भत्किएको बस्तीमा
म विश्वासको दीप बाल्न चाहन्छु
भाग्दै गरेको युवा वर्तमानको हात समाएर
मान्छेको मन बनाउन खोजिरहेको छु
फेरि पनि म एक्लो एक्लो बनेको छु ।
समय गहिराइ बिर्सिएर उत्रिएको छ सतहमा
अनि हल्लिएको छ फेद विहीन टुप्पो भएर
उसैगरी हल्लिएको छ समाज
अनि लर्खराएका छन् मेरा पाइलाहरू ।
पीडा र अभावमा बाँचेको मान्छे
विकृति र नग्नताबाट लखेटिएको मान्छे
आँसु र रगतले पखालिएको मान्छे
अँध्यारै अँध्यारोमा उज्यालो बुद्ध खोज्न निस्किएको
म, देशजस्तै एउटा मान्छे
बुद्ध बोकेर बस्ती फर्कन खोज्दैछु ।
प्रतिक्रिया