ग्रामीण महिलाको आम्दानी : आलु र कोदो | Khabarhub Khabarhub

ग्रामीण महिलाको आम्दानी : आलु र कोदो


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् । 

पश्चिम म्याग्दीको रणबाङ, बाबियाचौर, दरबाङदेखि निस्कोट, देविस्थान, रुमलगायतका गाउँका महिला कोही कोदो केलाउन, सुकाउन र बिक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन् ।

मङ्सिर जाडोको महिना । उत्तरतर्फ आँखै अगाडि चाँदी झैँ सेता टलक्क टल्केका हिमशृङ्खला । नागबेली हुँदै बगेको म्याग्दी नदी । चारैतिर हरियाली । हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा । चिसो सिरेठोबाट बच्न टाउकामा बाक्लो ऊनको टोपी र शरीरमा पछ्यौरी बेरेर काम गरिरहेका भेटिन्छन् यहाँका महिला । यस भेगका ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत भनेको कोदो र आलु हो । 

वैदेशिक रोजगार, सहर केन्द्रित बसाइँसराइ र अध्ययन वा व्यापार र व्यवसायलगायत कारणले गाउँ बस्ती युवाविहीन बन्दै गएपछि यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्र महिलाकै कारण धानिएको मालिका गाउँपालिका–६ दरबाङका बुद्धिजीवी एवं पूर्वजनप्रतिनिधि सन्तोष सुवेदीले बताएका छन् । ‘पछिल्लो समय ग्रामीण क्षेत्रका महिला स्वरोजगारतर्फउन्मुख हुँदै गएका छन् । कुनै सीप, इलम वा व्यवसाय नगरीकन गाउँमा महिला त्यसै बसेका भेटिँदैनन्’, उनले भने, ‘यस क्षेत्रका महिला विशेष गरी व्यावसायिक कृषिमा रमाउन थालेका छन् । आलुखेती र कोदोबाट मनग्य आम्दानी हुने भएपछि यही खेतीमा उनीहरुको रस बसेको छ ।’

पश्चिम म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु स्वादिष्ट र पोषिलो हुने भएकाले यहाँ उत्पादित आलुलाई बजारको अभाव छैन । मालिका–२ रुमकी टीकाकुमारी विकले यस वर्ष आलु .बिक्री गरेर रू ३२ हजार आम्दानी भएको बताएका छन् । विगतका वर्षमा बाँझै छोडिएको  बारीमा अहिले आलुसँगै कोदोखेती गरिरहेको उनले बताएका छन् । 

‘चार वर्ष बाँझिएको जग्गालाई खनजोत गरी मल हालेर रू चार हजार खर्च गरी कोदो रोपेको छु । यहाँबाट सात मुरी कोदो उत्पादन भएको छ’, विकले भने, ‘कोदोका लागि अहिलेदेखि नै सहर बजारबाट माग भइरहेको छ । भकारीमा नथन्क्याउँदै खरिदका लागि ग्राहक आएका छन् ।’

ओखरबोट र देविस्थानमा पनि पछिल्लो समय आलु र कोदो खेती विस्तार भएको छ । गत वर्ष चार मुरी कोदो र आलु बिक्री गरेर रू २२ हजार आम्दानी गरेकी मालिका–५ की सुकमती बुढाले यस वर्ष आलुबाट मात्रै १७ हजारभन्दा बढी आम्दानी भएको जानकारी दिएकी छन् । उनका अनुसार उत्पादित आलु प्रतिपाथी रू एक सय ५० देखि रू दुई सयसम्ममा बिक्री हुँदै आएको छ । 

मालिका गाउँपालिकाका सातवटै वडामा व्यावसायिकरुपमा आलुखेती गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । एकल र समूहगतरुपमा यहाँका महिलाले आलुखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका दरबाङका टीकाबहादुर सिउथानीले बताए। उनका अनुसार आलुसँगै पछिल्लो सयम यहाँका महिला कोदो उत्पादनतर्फ पनि आकर्षित भएका छन् ।

सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौंदेखि बाँझो रहेको जग्गामा खेती विस्तार गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताए । ‘कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ । पछिल्लो समय कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्’, उनले भने, ‘पालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ । कोदोबाट बनेको मदिरालाई ब्राण्डिङ गरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।’

आफूले उत्पादन गरेको कृषिउपजले बजार पाएपछि यहाँका किसान खुसी भएका मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । महिला आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । 

साथै स्थानीय महिलाले वन पैदावारबाट पनि मनग्य लाभ लिँदै आइरहेका वडाध्यक्ष पुनले बताए। उनका अनुसार वनमा पाइने रातो च्याउ, जङ्गली फलफूललगायतका वनस्पतिबाट पनि यहाँका महिला आम्दानी गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  २ : २२ बजे

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट