३० करोड इसाईले आज किन मनाएनन् क्रिसमस ? | Khabarhub Khabarhub

३० करोड इसाईले आज किन मनाएनन् क्रिसमस ?

पात्रोमा कुरा नमिल्दा क्रिसमसको मिति मै फरक



काठमाडौं– आज डिसेम्बर २५ अर्थात् क्रिसमस डे । विश्वका अरबौँ इसाईहरुले आजको दिनलाई जिजस क्राइस्टको जन्मदिनका रुपमा क्रिसमस मनाउने गर्छन् । चौथो शताब्दीमा जनवरी २५ लाई क्राइस्टको जन्मदिन मानेर यही दिन क्रिसमस मनाउन थालिएको बताइन्छ ।

तर, क्याथोलिक र प्रोटेस्टेन्ट इसाईहरुले आजको दिनलाई क्रिसमसका रुपमा मनाए पनि दशौँ करोड अर्थोडक्स इसाईहरुले आज क्रिसमस मनाएनन् । उनीहरु जनवरी महिनामा क्रिसमस मनाउँछन् ।

रुस, ग्रीस, रोमानिया, इथियोपिया, सर्बिया, मोल्दोभा, बुल्गेरिया, जर्जिया, मोन्टेनेग्रोजस्ता देशमा अर्थोडक्स इसाईहरुको मुख्य बसोबास रहेको छ । अर्थोडक्सहरु कुल इसाई जनसङ्ख्याको १२ प्रतिशत अर्थात् करिब ३० करोड छन् ।

इतिहास

क्याथोलिक र अर्थोडक्स सम्प्रदायलाई बुझ्न हामीले रोमन साम्राज्यका अन्तिम दुई शताब्दीबारे जान्नुपर्ने हुन्छ । तेस्रो शताब्दीमा भूमध्य सागरको आसपास इसाई धर्म तीव्र गतिमा फैलिरहेको थियो । भूमध्य सागरलाई चारैतिरबाट घेरेर विस्तार भएको रोमन साम्राज्यका शासकहरुले नयाँ धर्मलाई अनेक किसिमले दमन गरेका थिए । धेरै इसाई धर्मप्रचारक एवम् सेन्टहरुलाई रोमन शासकले यातनापूर्वक मृत्युदण्ड समेत दिने गरेका थिए ।

‘तेस्रो शताब्दीको संकट’ भनिने विभिन्न घटनाक्रमका कारण त्यसबेला रोमन साम्राज्य कमजोर भइसकेको थियो । फलस्वरुप सन् २८४ मा सम्राट बनेका डायोक्लिसनले शासन सुधार गर्न रोमन साम्राज्यलाई पूर्वी र पश्चिमी गरी दुई भागमा विभाजित गरिदिए । पूर्वमा युनानी भाषा बोल्ने जनसङ्ख्याको बर्चश्व थियो भने पश्चिमी रोमन साम्राज्यमा ल्याटिन भाषा बोल्नेहरुको बर्चश्व थियो ।

सन् ४७६ मा जर्मनेली आक्रमणका कारण पश्चिमी रोमन साम्राज्य पतन हुनुअघि विभिन्न कालखण्डमा महान् शासकहरुले दुबै रोमन साम्राज्यलाई एकीकरण गरेका थिए । यस्तै, एकीकरण गर्ने एकजना महान् शासक थिए, कोन्स्टेन्टाइन द ग्रेट । उनैले कोन्स्टेन्टिनोपोल (हालको इस्तानबुल) शहरको पनि स्थापना गरेका थिए ।

बेलायतको योर्कमा रहेको कोन्स्टेन्टाइन द ग्रेटको प्रतिमा । तस्बिर- क्रिएटिभ कमन्स

कोन्स्टेन्टाइनले रोमन साम्राज्यमा पहिलो पटक इसाई धर्मलाई वैधानिकता दिएका थिए । त्यसबेलासम्म इसाई धर्म रोमन साम्राज्यभर फैलिसकेको थियो भने रोमनहरुले मान्ने पुरानो धर्म लोप हुने अवस्थामा पुगेको थियो । उनै कोन्स्टान्टाइन द ग्रेटले इसाई धर्मका लागि विभिन्न औपचारिक मान्यता एवम् संस्थाहरुको स्थापना पनि गरिदिएका थिए ।

त्यसबेला अलेक्जाण्ड्रिया, एन्टियोक, रोम र कोन्स्टेन्टिनोपोल गरी चार वटा मुख्य चर्च अस्तित्वमा थिए । सन् ४७६ मा पश्चिमी रोमन साम्राज्य पतन भयो । त्यहाँ जर्मनेलीहरु बसोबास गर्न लागे । उनीहरुले रोममा रहेको चर्चमा आस्था राख्थे । ल्याटिन उनीहरुको धार्मिक भाषा थियो । रोमन अधिराज्यको पालामा स्थापित परम्परागत रोमन धार्मिक संस्थाका सर्वोच्च अधिपति ‘पोन्टिफस म्याक्सिमस’ लाई नै इसाईहरुले रोमन चर्चका अधिपति मान्न लागे । जसलाई पछि गएर ‘पोप’ भन्न थालियो ।

तर, कोन्स्टान्टिनोपोलमा आधारित पूर्वी रोमन (बैजान्टाइन) साम्राज्य भने केही भएन । ग्रीक भाषा बोल्ने भएपनि उनीहरु आफूलाई रोमन नै भन्दथे । उनीहरु पनि इसाई धर्म नै मान्दथे । तर, कोन्स्टान्टिनोपोलमा आधारित चर्च उनीहरुको आस्थाको केन्द्र थियो । तैपनि रोमका पोप भने कोन्स्टिान्टिनोपोलका सम्राटकै मर्जीअनुसार चयन हुन्थे ।

सातौँ शताब्दीमा अरबमा इस्लाम धर्मको उदय भयो र तीव्र गतिमा पश्चिम एसिया र उत्तर अफ्रिकामा फैलियो । इस्लामिक रशिदून खिलाफातको आक्रमणका कारण उत्तर अफ्रिका र सिरियामा बैजान्टाइन साम्राज्यको शासन समाप्त भयो । यसका साथै एन्टियोक र अलेक्जाण्ड्रियाको चर्च मुसलमानको कब्जामा पुग्यो ।

सन् ७२६ मा रोमन सम्राट लियो तृतीयले एकतर्फी रुपमा इसाईहरुका लागि जिजसको मूर्ती र तस्बिरको पूजा गर्न प्रतिबन्ध लगाउने घोषणा गरे । यसबाट पोप क्रुद्ध बने । यही घटनाबाट रोम र कोन्स्टान्टिनोपोलका चर्चबीच विभाजन सुरु भएको विश्वास गरिन्छ । यसपछि रोममा आधारित चर्च कोन्स्टान्टिनोपोलमा आधारित साम्राज्यबाट उम्कने प्रयासमा लाग्न थाले ।

सन् ७९७ मा कोन्स्टान्टिनोपोलको सत्ता आइरिन नाम गरेकी महारानीको हातमा पुग्यो । उनले आफ्नो छोरा कोन्स्टान्टाइन छैटौँको आँखा फुटाइदिएर सत्ता आफ्नो हातमा लिएकी थिइन् । त्यहीबेला पश्चिममा फ्राङ्क जातिका राजा सार्लमेनले पश्चिम तथा मध्य युरोपमा सैनिक अभियान चलाएर अधिकांश क्षेत्रमा आफ्नो शासन विस्तार गर्दै लगेका थिए । कोन्टान्टिनोपोलमा आधारित साम्राज्यको सत्ता महिला शासकको हातमा हुनु र पश्चिममा सार्लमेनले युरोपभर आफ्नो सत्ता विस्तार गरिरहेको अवस्थामा रोमन चर्च फ्र्याङ्कका राजाप्रति निकट हुन पुगे ।

सन् ८०० को क्रिसमसका दिन पोप लियो तृतीयले सार्लमेनलाई रोमन चर्चमा बोलाएर ‘पवित्र रोमन साम्राज्य’ को सम्राट घोषणा गरे । पोपले नै सार्लमेनको टाउकोमा सम्राटको मुकुट लगाइदिएको विश्वास गरिन्छ । यसबाट सार्लमेनलाई आफ्नो साम्राज्यमा शासन गर्ने वैधानिकता मिल्यो भने पोपका लागि पनि आध्यात्मिक रुपमा सम्राटका माध्यमबाट साम्राज्यमा आफ्नो प्रभाव विस्तार गर्ने मौका मिल्यो ।

त्यसबेलासम्म कोन्स्टान्टिनोपोलका सम्राटलाई मात्रै इसाईहरुको एकमात्र वैधानिक शासक मानिन्थ्यो । तर, त्यसबेला कोन्स्टान्टिनोपोलमा आधारित साम्राज्यमा सम्राट नभएको र शासनका लागि महिला योग्य नभएको तर्क दिँदै पोपले सार्लमेनलाई रोमन सम्राट घोषणा गरिदिएका थिए ।

सार्लमेनलाई पवित्र रोमन सम्राट घोषणा गर्दै पोप लियो तृतीय । चित्रकार- फ्रेडरिख भोन काल्बाख (१८२२-१९०३)

 

यसबाट साम्राज्ञी आइरिन क्रुद्ध त बनिन् तर पोपविरुद्ध जान उनको ल्याकत र क्षमता भने थिएन । उनले सार्लमेनसँग विवाह गर्ने प्रस्ताव त गरेकी थिइन् तर सफल हुन सकेन । सन् ८०२ मा आइरिन सत्ताच्युत भएर लेस्बोसमा निर्वासित हुनुपर्यो । तैपनि, सार्लमेन आफ्नो पदबाट पछि हट्न मानेनन् । अब दुबै साम्राज्यले आ–आफूलाई इसाई धर्मको संरक्षक दाबी गर्न थालिसकेका थिए ।

व्यवहारिक हिसाबमा कोन्टान्टिनोपोल र रोमका चर्च अलग भएपनि औपचारिक रुपमा यी दुई एउटै थिए । ८६३ मा कोन्स्टान्टिनोपोलका सम्राटले पोपको सल्लाहबिनै त्यहाँको चर्चका पेट्रियार्कको बर्खास्ती र नियुक्तिको अधिकारका विषयलाई लिएर दुई चर्चबीच पुनः तनाव उत्पन्न भयो । यो विवाद एउटा सम्झौतामा पुगेर साम्य भयो । पोपले पेट्रियार्कको नियुक्तिलाई वैधानिकता दिए भने सम्राटले पनि पोपको प्रसंशा गरेपछि दुबै पक्ष सन्तुष्ट भए ।

यतिका शताब्दीसम्म कोन्स्टान्टिनोपोल र रोमको चर्चबीच इसाई आस्था, परम्परा, संस्कृतिजस्ता कुरामा फरकपन आइसकेको थियो । यसबेलासम्म दुई चर्चले एक अर्काको अस्तित्व स्वीकार गरेका थिए । तर, कोन्स्टान्टिनोपोलका सम्राटको शासनमा रहेको दक्षिणी इटालीलाई नोर्मनहरुले आक्रमण गरेर कब्जा गरेसँगै दुई चर्चबीचको मतभेद अझ गहिरियो ।

सन् १०५३ मा रोमन चर्चले कोन्स्टान्टिनोपोलमा आधारित चर्चको मातहतमा रहेका गिर्जाघरहरुलाई रोममा आधारित चर्चको मातहतमा रहेका गिर्जाघरमा परिणत गराउने घोषणा गर्यो । कोन्स्टान्टिनोपोलको चर्च मातहत रहेका गिर्जाघरहरुले युनानी भाषा, परम्परा अनुसार आफ्नो धर्म मान्दथे । यससँगै अब ती चर्चहरु ल्याटिन भाषा र परम्परा मान्न बाध्य भए ।

यस घटनासँगै कोन्स्टान्टिनोपोलमा रहेको चर्च क्रुद्ध भएर आफ्नो शासन क्षेत्रमा रहेका सबै ल्याटिन गिर्जाघर बन्द गर्ने आदेश दियो । यस घटनासँगै दुई साम्राज्यबीच कूटनीतिक तनाव पैदा भयो । सन् १०५४ मा पोपले कोन्स्टान्टिनोपोल पठाएका साल्भा क्यान्डिडाका कार्डिनल हुम्ब्रेले हाया सोफियामा कोन्टान्टिनोपोलको हाया सोफिया गिर्जाघरका पेट्रियार्कसमक्ष धार्मिक विच्छेदको पत्र चढाए । यसको बदलामा कोन्स्टान्टिनोपोलका सम्राट र पेट्रियार्कले पनि रोमन चर्चसमक्ष धार्मिक सम्बन्ध विच्छेदको घोषणा गरे ।

यससँगै दुई सम्प्रदाय अलग हुन पुग्यो । त्यसयता अहिलेसम्म एक पटक पनि यी दुई चर्चहरु मिलेर एउटै संयुक्त चर्चका रुपमा पुनस्थापित हुन सकेका छैनन् । अहिले रोममा आधारित चर्च रोमन क्याथोलिक कहलाउँछ भने पूर्वी चर्चहरुलाई अर्थोडक्स भनेर पुकारिन्छ । रोमन क्याथोलिक र पछि मध्य एवम् प्रारम्भिक आधुनिक युगमा रोमन चर्चसँग असन्तुष्ट भएर नयाँ धार्मिक अभियान सञ्चालन गरेका प्रोटेस्टेन्टका विभिन्न सम्प्रदायले आज कै दिनमा क्रिसमस मनाएका छन् ।

हाल रोमन क्याथोलिकको मुख्य बसोबास युरोपका इटाली, स्पेन, फ्रान्स, पोर्चुगल, आयरल्याण्ड, पोल्याण्ड, अस्ट्रिया र उपनिवेशकालमा यी मुलुकहरुको प्रभावमा परेका ल्याटिन अमेरिकी मुलुकहरु, फिलिपिन्सजस्ता देशमा रहेको छ भने अर्थोडक्सहरुको मुख्य बसोबास मध्ययुगमा बैजान्टाइन साम्राज्यको सम्पर्कमा रहेका एवम् बैजान्टाइन साम्राज्यसँग निकट सम्बन्ध रहेका ग्रीस, रुस, सर्बिया, बुल्गेरिया, रोमानिया, मोल्दोभामा रहेको छ ।

पात्रोमा भिन्नता

क्याथोलिक र अर्थोडक्सहरुले किन फरक दिनमा क्रिसमस मनाउँछन् भनेर बुझ्न हामीले फेरि पनि रोमन साम्राज्यलाई नै बुझ्नुपर्छ । रोमका संस्थापक रोमुलसले रोमन जनताका लागि पात्रो बनाइदिएको किंवदन्ती छ । यी पात्रोमा मार्सियस, अप्रिलिस, मायस, युनियस, क्विन्टिलिस, सेक्सटिलिस, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बर गरी १० वटामात्रै महिना थिए ।

रोमन पात्रोअनुसार एक वर्षमा ३ सय ४ दिनमात्रै हुन्थ्यो । पछि रोमका दोस्रा राजा नुमा पोम्पिलियसले पात्रोमा डिसेम्बरपछि ज्यानुअरियस र फेब्रुअरियस गरी दुई महिना थपे ।

उनले महिनाका दिन (तारिख) मा पनि फेरबदल गरे । यसअनुसार हरेक वर्ष ३५४ दिन हुने भयो । तर, वर्षमा ३६५ दिन हुने भएकाले यस पात्रोमा केही वर्षको अन्तरमा ‘इन्टरक्याल्केरियस’ भनिने एउटा बेग्लै महिना थप्ने व्यवस्था थियो । यस महिनामा २७ दिन हुन्थ्यो । ‘इन्टरक्याल्केरियस’ को वर्षमा ३ सय ७७ दिन हुन आउँथ्यो ।

कति अन्तरमा यस्तो ‘इन्टरक्याल्केरियस’ हुने भन्ने निश्चित व्यवस्था भने थिएन । त्यसको केही शताब्दीसम्म रोमनहरुले यस्तै पात्रो चलाउँथे । तर, यस्तो कतिसम्म चलोस् ! वर्षमा हुने दिनहरु र पात्रोको तालमेल नमिल्दा कहिलेकहीँ रोमनहरुले खेती गर्ने समयमा मनाउने पर्व उपज काट्ने समयमा पर्ने हुन थाल्यो ।

ईसापूर्व ४५ मा रोमन राजनेता जुलियस सिजरले पात्रोलाई सुधार गरी हरेक वर्ष ३६५ दिन हुने र हरेक ३ वर्षमा पात्रोमा एक दिन थपिने व्यवस्था ल्याए । यसै पात्रोलाई जुलियन क्यालेन्डर भन्न थालियो । उनको उत्तराधिकारी अगस्टसले क्विन्टिलिस महिनालाई जुलियस सिजरको सम्मानमा जुलाई र सेक्सटिलिस महिनालाई आफ्नै नाममा अगस्ट नामकरण गरे । उनले हरेक ३ नभइ ४ वर्षमा मात्रै ‘लिप इयर’ हुने र पात्रोमा एक दिन थपिने थिति बसाले ।

रोमको फोरम रोमानममा रहेको जुलियस सिजरको प्रतिमा ।

रोमुलुसले बनाएको पात्रोभन्दा जुलियन पात्रो धेरै अर्थमा उत्कृष्ट थियो । यो पात्रो र व्यवहारिक एक वर्षबीच केबल ११ मिनेट प्रतिवर्षको मात्रै फरक थियो । हरेक वर्ष ३६५ दशमलव २५ दिन हुन्छ भन्ने मान्यतामा यो पात्रोले बनाइएको थियो । तर, वास्तवमा एक वर्षमा ३६५ दशमलव २४२२ दिन हुन्छ । रोमनहरुका लागि यति सानो त्रुटिले कुनै फरक भने पारेको थिएन । यसरी हिसाब गर्दा हरेक ४ सय वर्षमा रोमन पात्रोमा ३ दिनको अन्तर आउँछ ।

तर, केही दिनको अन्तरले पछि गएर पात्रोमा अर्को सुधारको खाँचो पर्न गयो ।

इसाईहरुले मार्च महिनामा पर्ने इक्वेनक्स (दिन र रात बराबर हुने दिन) लाई आधार बनाएर हरेक वर्ष इस्टर मनाउने गरेका थिए । आठौँ शताब्दीमा इसाई सेन्ट भेनेरेबल बिडले इस्टर मान्नुपर्ने वास्तविक दिन र पात्रोमा उल्लेखित इस्टरको मितिबीच ३ दिनको अन्तर रहेको दाबी गरेका थिए ।

१३ औँ शताब्दीको सुरुमा अङ्ग्रेजी दार्शनिक रजर बेकनले इस्टर मान्नुपर्ने दिन र पात्रोको मितिबीच ७ वा ८ दिनको अन्तर भएको उल्लेख गरेका थिए । १४ औँ शताब्दीसम्म आइपुग्दा इस्टर मनाइने दिन र पात्रोको मितिबीच स्पष्ट भिन्नता देखिन थालिसकेको थियो ।

१६ औँ शताब्दीसम्म पनि यही पात्रो प्रचलनमा थियो । त्यसबेलासम्म यो पात्रो र यथार्थमा १० दिनको फरक थियो । यही पात्रोका कारण इस्टर पर्वको मिति गणना गर्न इसाईहरुलाई असजिलो हुन गयो । यसलाई सम्बोधन गर्न इटालियन खगोलशास्त्री एलुविसियस इलियसले नयाँ जुक्ति निकाले ।

यदि हरेक ४ सय वर्षमा ३ दिनको तलमाथि हुन्छ भने हरेक ४ सय वर्षमा ९७ वर्षमात्रै ‘लिप इयर’ कायम गर्ने उनको जुक्ति थियो । उनले अघि सारेको मान्यता अनुसार हरेक ४ वर्षमा एक दिन ‘लिप इयर’ हुनेछ । तर, त्यो वर्षको गणना १०० ले भाग नलाग्ने हुनुपर्नेछ । तर, यसमा पनि एउटा अर्को व्यवस्था थियो । उनको मान्यता अनुसार कुनै वर्ष १०० ले पनि भाग लाग्छ र ४०० ले पनि भाग लाग्छ भने त्यो वर्ष पनि ‘लिप इयर’ हुनेछ । यही सानो परिवर्तनले जुलियन पात्रो थप सटिक र स्पष्ट भयो । यसबाट पात्रोको गणना गर्दा ११ वर्ष तलमाथि हुनेमा अब भने केबल २६ सेकेण्डमात्रै तलमाथि हुने भयो ।

तर, पात्रोलाई नयाँ व्यवस्थामा लैजान जुलियस सिजर र सम्राट अगस्टसले धेरै अघि लागू गरेको पात्रोमा ठूलै परिवर्तनको खाँचो थियो । सन् १५८२ मा पोप ग्रेगोरी तेह्रौँले यस परिवर्तलाई सार्थकता दिए ।

उनले जुलियन पात्रोमा भएका त्रुटिलाई समाधान गर्न १० दिन अघि सारेर नयाँ पात्रोलाई वैधानिकता दिए । यही पात्रोलाई ग्रेगोरियन पात्रो भनिन्छ । यससँगै अक्टोबर ४, १५८२ बेलुका सुतेका मानिसहरु नयाँ पात्रोअनुसार अक्टोबर १५ मा उठे ।

अक्टोबर १५ १५८२ लाई ग्रेगोरियन पात्रोको पहिलो दिन मान्न सकिन्छ । तर, धेरै लामो समयसम्म उनको पात्रो सबैतिर भने लागू भएन । सुरुमा उनको अधिकारक्षेत्र भएको राज्यमा र विस्तारै इटाली, स्पेन, पोर्चुगल, पोल्याण्डजस्ता क्याथोलिक मुलुकमा यो पात्रो लागू भयो ।

इङ्ग्ल्याण्ड र स्विडेनजस्ता प्रोटेस्टेन्ट मुलुक र रुस, ग्रीसजस्ता मुलुकले यो व्यवस्था स्वीकार गरेनन् । जर्मनी, स्विट्जरल्याण्ड, डेनमार्क, नर्वेजस्ता मुलुकले सन् १७०० मा जुलियन पात्रो त्यागेर ग्रेगोरियन पात्रो अपनाउन लागे ।

पोप ग्रेगोरी तेह्रौँको तस्बिर । चित्रकार- बार्थोलोमेउ पासेरोट्टी (१५२९-१५९२)

बेलायत र त्यसबेलाको बेलायती उपनिवेश अमेरिकाले सन् १७५२ मा ग्रेगोरियन पात्रो अपनायो । रुस, रोमानिया, बुल्गेरियाजस्ता देशले २० औँ शताब्दीको सुरुतिर मात्रै यो पात्रो अपनाए । सन् २०१६ मा मात्रै साउदी अरबले ग्रेगोरियन पत्रो अपनाउन सुरु गरेको हो ।

क्याथोलिक चर्चबाट सुरु भएको र पोपलाई इसाई धर्मको सर्वोच्च संस्था मान्न अस्वीकार गर्ने भएकाले अर्थोडक्स चर्चले ग्रेगोरियन पात्रोलाई मान्यता दिएको छैन । सोही कारण अर्थोडक्सहरुले जनवरी ७ मा मात्रै क्रिसमस मनाउँछन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : ५५ बजे

व्यास नगरपालिकालाई जातीय विभेद मुक्त बनाउने जनप्रतिनिधिको प्रतिबद्धता

तनहुँ – व्यास नगरपालिका क्षेत्रलाई जातीय विभेद र छुवाछुतमुक्त पालिका

भरतपुर भ्रमण वर्षमा यात्रुलाई भाडा छुट

चितवन – भरतपुर भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले यहाँका तीन

मिलेनियम ट्रेकमा समेटिँदै महत्वपूर्ण गन्तव्य

गण्डकी – तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने मध्यपहाडी पदमार्ग मिलेनियम

अमेरिकालाई दक्षिण अफ्रिकाले दियो १९५ रनको चुनौती

काठमाडौं – आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको पहिलो

खैरहनीमा चैते धानको उत्पादन वृद्धि

चितवन –  चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले