हिउँदे वर्षा नहुँदा महोत्तरीका किसान चिन्तित « Khabarhub

हिउँदे वर्षा नहुँदा महोत्तरीका किसान चिन्तित


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– माघ दोस्रो साता लागेसँगै पारिलो घाम लाग्न थालेपछि त्यसअघिको बाक्लो हुस्सु र चिसो स्याँठको मुटु कमाउने जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत आइतबारयता बिहानै घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुसी छैनन् । 

यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन नसकेको हो । हिउँदे वर्षा नहुँदा खेतबारीका बालीका बिरुवा क्रकँदै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाइ छ । ‘ल हेर्नोस्, अब पारिलो घाम लागेर जिउ त तात्न थाल्यो, बाक्लो हुस्सु फाटेर झलमल्ल उज्यालो देखिँदा खुसी नै हुनुपर्ने हो’, बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय वासुदेव पासवानले भने , ‘यसपाली पानी नपरी हिउँद बित्यो, आउने दिन खुसीका हुने छैनन् ।’ हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कंन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जाने पासवानले चिन्ता व्यक्त गरे ।  

हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने यहाँका पाका किसान बताउँछन् । भर्खरै हुर्कंदै गरेका बैशाखी लहरे तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रूख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । यसपालि वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको भङ्गाहा नगरपालिका-४ पलारका ७५ वर्षीय किसान चौँठी बाँतरले बताए।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । भङ्गाहा–४ कै रामनगरका ८० वर्षीय किसान रामनन्दन महतो यसपालि हिउँदमा पानी नपरी माघ दोस्रो साता लागेसँगै घाम चर्कंदै गएको हुँदालगत्तै खानेपानीको हाहाकार पर्नसक्ने बताउँछन् । ‘माघ मध्यअघि नै खोल्साखोल्सी सुक्दैछन्, विगतका सदाबहार भुल्के पानीका मुहानमा अहिल्यै पानी देखिन छाडेको छ’, बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वाल भने , ‘अब यी पाखा बारीमा हरियो देखिने छाँट छैन ।’

फलफूल खेती सघन हुने बर्दिबास नगरपालिकाका बिजलपुरा, पशुपतिनगर, खयरमारा, चेरु, टुटेश्वर, पाटु, वरडाँडामाइस्थानका किसान यसपालि हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्तामा किसान छन् । यसैगरी जिल्लाकै फलफूल खेतीको पकेटक्षेत्र मानिने गौशाला नगरक्षेत्रका भरतपुर, लक्ष्मीनियाँ र बेलगाछीका किसान पनि हिउँदे वर्षा नहुँदा अपेक्षित उत्पादन लिन नसकिने चिन्ता व्यक्त गर्छन् ।

हिउँदे वर्षा बालीनालीका लागि माटो भिजाउने मात्र नभई रोग लाग्न नदिने र बाली हलक्क बढाउने अमृतसरह भएको किसानको अनुभव छ । ‘हिउँदे वर्षा सिँचाइका लागिमात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि रामवाण हुन्छ’, बर्दिबास-९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतोले भने, ‘हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छ, जताततै यसको असर बढ्नेछ ।’ 

हिउँदे वर्षाको मानव र यावत् जीवजन्तुको स्वास्थ्य र अन्य आहारव्यहारमा पनि सकारात्मक प्रभाव हुने विगतमा पशुपतिनगर गाविस छँदा अध्यक्षसमेत रहेका महतोको थप भनाइ छ । ‘यसपाली हिउँदे वर्षा भएन, खै के उल्का उत्पात व्यहोर्नु पर्ने हो’, महतोले चिन्ता व्यक्त गर्दै भने ।

जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांशमा आकाशे पानीको भरमा खेती गरिन्छ । यहाँ १० प्रतिशतमात्र खेतीयोग्य जग्गामा स्थायी सिँचाइ पुगेको छ । हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका प्रकोप पनि बढ्ने गर्छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ४ : ०५ बजे

गोप्य मतदानमै घात गर्ने कार्यकर्ता किन चाहियो ?

नेपाली राजनीतिको इतिहासले समय–समयमा दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको छ

संघीय संसदका दुवै सदनमा आजदेखि ‘प्रि–बजेट’ छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्गर्त प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

पोखराको विजयपुर खोला किनारमा तरबुजाखेती, मनग्य आम्दानी

गण्डकी– पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा

विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने

दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

हेटौँडा– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३