विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज जेठ १२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

‘उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा’

गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले जनाएको छ ।

सन् २०२२ को अन्त्यमा ०.५ प्रतिशतले सङ्कुचन आएको युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको उत्पादन यस वर्षको पहिलो तीन महिनामा ०.३ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

सङ्घीय तथ्याङ्क कार्यालयले अघिल्लो त्रैमासिकको तुलनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शून्य वृद्धिको अघिल्लो अनुमानलाई घटाएको छ ।

सीएनएनका अनुसार मन्दीलाई लगातार दुई त्रैमासिक घट्दो उत्पादनको रूपमा परिभाषित गरिएको छ । कार्यालयले भनेको छ, “उच्च मूल्य वृद्धिको निरन्तरताले वर्षको सुरुमा जर्मन अर्थव्यवस्थामा बोझ परेको छ । यो विशेष गरी परिवारको अन्तिम उपभोग खर्चमा प्रतिबिम्बित भएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा उपभोग खर्चमा १.२ प्रतिशतले घटेको थियो ।”

प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख युरो क्षेत्र अर्थशास्त्री क्लज भिस्टेसनले पहिलो त्रैमासिकमा उपभोक्ताले गरेको खर्च ‘ऊर्जाको मूल्यमा आएको झट्का’ले खुम्चिएको बताए । गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि युरोपेली ऊर्जाको मूल्य वृद्धि भएको थियो ।

सिएनएनका अनुसार त्यसपछि मस्कोले युरोपेली देशहरूमा ग्याँस आपूर्तिमा अवरोध पुर्यायो, जसले गर्दा जर्मनीले आपतकालीन अवस्था घोषणा गरेको छ ।

दक्षिण कोरियामा उद्दण्ड यात्रीले अवतरण गर्नै लागेको विमानको ढोका खोलेपछि खैलाबैला

दक्षिण कोरियामा एक जना यात्रीले अवतरणको तयारीमा रहेको विमानको आपत्कालीन ढोका खोलेपछि खैलाबैला मच्चिएको छ ।

राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित डेगु विमानस्थलमा अवतरणको तयारीमा रहेको एशियाना एयरलाइन्सको विमानको आपत्कालीन द्वार एक जना उद्दण्ड यात्रीले जबरजस्ती खोलेका विमान कम्पनीले बताएको छ ।

उनले धावनमार्गबाट दुई सय मिटरको उचाइमा विमान रहेका बेला ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो । यद्यपि विमान सुरक्षित रुपमा अवतरण भएको जनाइएको छ ।

विमान कम्पनीका अनुसार सास फेर्न गाह्रो भएका ती यात्रीलाई अस्पताल भर्ना गरिएको छ । मध्यआकाशमा विमानको आपत्कालीन द्वार खोल्ने ती यात्रीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ ।

चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न

चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो ।

बैठकमा चीनको कुन्मिङमा भएको ११औँ बैठकमा भएको सकारात्मक सहमतिको समीक्षा गर्दै दुई देशबीचको सीमा वार्तालाई तीव्रता दिने तीन चरणको मार्गचित्रलाई कार्यान्वयनमा लैजान भएका प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका थिए । मैत्रीपूर्ण वातावरणमा भएको बैठकमा चीन–भुटान सीमासमबन्धी सबै विषयमा गहन छलफल भएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिलासम्बन्धी विभागका महानिर्देशक होङ लियाङले गरेका थिए ।

भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानको अन्तर्राष्ट्रिय सीमा सचिव लेथो तोब्धेन ताङ्बीले गरेका थिए । समूहको अर्को बैठक आपसी सहमतिमा दुवै पक्षलाई सहज हुने मितिमा बेइजिङमा आयोजना गर्न चीन र भुटान सहमत भएका छन् ।

युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ : रुसी पूर्व राष्ट्रपति मेदेभदेव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । “यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,” आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

मेदभदेव प्रायः कडा टिप्पणी गर्छन् । गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए । साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका थिए । मस्कोले पनि शब्द दाबी दोहार्‍याउँदै आएको छ । गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए ।

पूर्वप्रधानमन्त्री खानलाई पाकिस्तानबाहिर जान प्रतिबन्ध

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ।

खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको हो ।

अदालतमा मुद्दा चलिरहेको समयमा फरार हुन सक्ने शंका गर्दै रोक लगाइएको हो।

गत मे ९ मा प्रहरीले खानलाई पक्राउ गरेपछि भड्किएको हिंसामा झण्डै एक दर्जनको मृत्यु भइसकेको छ।

उनीविरुद्ध झण्डै १४० मुद्दा दर्ता छन्।

जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन्।

मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

जापनिज सञ्चार माध्यमका समाचार अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए। सो घटनामा समग्रमा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ। तर, उनको नाम भने सार्वजनिक गरिएको छैन।

तर, उनले चार चार जनामाथि किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो ? त्यो भने अझै खुल्न सकेको छैन। प्रहरी हिरासतमा रहेका कारण उनी माथि छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उद्देश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

गत वर्ष जुलाईमा पूर्व प्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानी हत्या गरिए पछि यो पछिल्लो घटनालाई उत्तिकै दर्दनाक मानिएको छ किनभने जापानमा बन्दुकमार्फत हुने हिंसा अत्यन्तै दुर्लभ घटनाको रूपमा लिइन्छ।

पाकिस्तानमा छुट्टाछुट्टै आक्रमणमा ६ जना आतङ्ककारी र ४ सर्वसाधारणको मृत्यु

अफगान सीमा नजिकै उत्तरी वजिरिस्तानमा बुधबार आत्मघाती बम आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई आक्रमण गर्दा दुई सैनिक र एक प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । डनले जिल्ला प्रशासनलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ ।

उत्तरी वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाकले आत्मघाती बम आक्रमणकारीले नियमित सुरक्षा जाँच भइरहेका बेला दत्ता खेल सहरको लियाकत चौकीमा आक्रमण भएको बताएका छन् ।

स्रोतका अनुसार सुरक्षाकर्मीहरूले गोप्य रूपमा आक्रमण गर्दा विद्रोहीहरूको मृत्यु भएको डनले उल्लेख गरेको छ । सेनाको सञ्चार शाखा, आईएसपीआरले जारी गरेको विज्ञप्तिमा घटनाक्रम पुष्टि गरेको हो । कारवाहीका क्रममा सुरक्षा बलहरू बीच तीव्र फायरिङ आदानप्रदान भएको र आतङ्ककारीहरू मारिएका हुन् ।

आतङ्ककारीहरूबाट बन्दुक र गोली बरामद भएको छ । यस क्षेत्रमा अन्य आतङ्ककारीहरूको पनि खोजी भइरहेको छ ।

रुसी गुप्तचर विमान खसालेको जापानको दाबी

प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी गुप्तचर सूचना सङ्कलन विमान फेला परेपछि खसालेको जापानले दाबी गरेको छ ।

एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन् ।

जासुसी विमान उडेको पाइएपछि जवाफमा कारबाही गरिएको जापानले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ७ : ५८ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन