दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ, पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री, जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग, नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त हुँदैन :रक्षामन्त्री, अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता सन्दीपविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन अदालतको आदेशलगायतका समाचारले प्रमुख स्थान पाए ।

नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए ।

शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

आरजु राणा देउवा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको छैन : गृह मन्त्रालय

गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरु डा आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको स्पष्ट पारेको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा। राण देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको उल्लेख गरेको हो ।

मन्त्रालयले उपप्रधान एवम् गृहमन्त्रीले कार्यभार सम्हालेयता भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्दामा स्वच्छ निष्पक्ष र दबाबरहित ढंगले अनुसन्धान तथा कारवाही अघि बढाउन प्रहरीलगायत सुरक्षा निकायलाई निर्देशन दिएको जनाएको छ ।

सन्दीपविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले पीडित नाबालिग गौशाला २६ लाई क्षतिपूर्तिबापत एक लाख रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो ।

पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन् ।

अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ ।

जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग

पशुपतिनाथमा राखिएको जलहरीको विषयले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

माओवादीका सांसद देवेन्द्र पौडेलले जलहरीको नापतौल तथा सुनको भए नभएको विषयमा भएको गतिविधिबारे सदनलाई जानकारी गराउन माग गरे भने कांग्रेसका सांसद प्रदीप पौडेलले जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरे।

सरुवापछि रमाना नलिने र नदिनेलाई विभागीय कारबाही

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ ।

यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरु गरिएको छ ।

न्याय परिषद् बैठक निष्कर्षविहीन
न्याय परिषद्को सोमबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो ।

अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान, हवाई उडान, पर्यटन तथा आर्थिक विकासलगायत विषयमा कुराकानी भएको छ ।

नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त हुँदैन : रक्षामन्त्री

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताएका हुन् ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत, कानुनी उल्झनका कारण कतिपय क्षेत्रमा बजेट बिनियोजन गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयसम्बन्धी शीर्षकमा अधिकतम कार्यक्रम समेटिए पनि कतिपय कार्यक्रम छुटेकामा आफू दुःखी रहेको बताए ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल एक साताअघि २ असारदेखि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइरहेका छन् ।

नेपालको भूमि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री 

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने प्रतिबद्धता जनाएका छन् । 

विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने गरी सीमा समस्या आपसी समझदारीमा समाधान गर्ने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको जानकारी दिए।

बेरुजु बढ्नुका कारणबारे संसदीय समितिमा छलफल

संघीय संसद्, राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था, महालेखाको प्रतिवेदन कार्यान्वयन स्थिति, लेखापरीक्षणका समस्या तथा चुनौती र समाधानका उपायबारे महालेखा परीक्षकको कार्यालयसँग छलफल गरेको छ ।

अख्तियारद्वारा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारको कूल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो
सरकारको हालसम्मको कूल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था लगायतका विषयमा जानकारी गराउँदै उपमहालेखापरीक्षक महेश्वर काफ्लेले संघीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह र अन्य संस्था गरि ६ हजार बढि निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्षसम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको बताएका हुन् ।

बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बिजुलीको आन्तरिक खपत वृद्धि गर्ने योजनाका साथ सरकार लागिपरेको बताएका छन् ।

उनले उत्पादन वृद्धि, वितरण प्रणालीको सुधार तथा आन्तरिक खपत बढाएर बाँकी रहेको बिजुली मात्रै भारत निर्यात गर्ने सोचका साथ मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : ०० बजे

काभ्रेमा एमालेको ‘जरा अभियान’

काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आजदेखि

कञ्चनपुरमा पाटेबाघ मृत फेला

कञ्चनपुर – बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज

बलिउडमा किन हुँदैछ ६९ वर्षीय उदितनारायणको ‘चुम्बन चर्चा’ ?

काठमाडौं – भारतीय गायक उदित नारायण झा विवादमा परेका छन्

केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई

कास्की– विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर