वसन्तको आगमन र फागुको चर्चा | Khabarhub Khabarhub

वसन्तको आगमन र फागुको चर्चा



यो वर्ष हिउँदे वर्षा फागुनको मध्यमा भएको छ। मौसम जाडोबाट बिस्तारै गर्मीतिर उन्मुख छ भने प्रकृतिले नयाँ पालुवाहरू दिन थालेको छ। यही फागुन १५ गतेदेखि देशव्यापी उत्सव, वसन्तोत्सव फागुको उत्सव सुरु भइसकेको छ।

रंगको पर्वका रुपमा चिनिएको यो महोत्सव फाल्गुण शुक्ल अष्टमीदेखि आरम्भ भएर ०७९ फागुन २३ पूर्णिमासम्म भनौँ तराई भेगमा भोलिपल्ट उत्सर्गको रुपमा पुग्छ।

होली खेल्ने रंग, अबिरहरु पनि देशले आयात गर्ने गरेको छ। अधिकारको दुरुपयोग गर्नेलाई होलिकाको अवस्था हुने बिम्ब पस्कँदै समापनतिर जाने यो पर्व सत्ययुगदेखि नै आरम्भ भएको हो।
धर्म, संस्कृतिको अक्षुणतालाई कायम राख्ने नेपालीका घर आँगनमा वसन्तको महोत्सव, होली पर्व, हर्ष र विजयोत्सवका रुपमा सदाझैँ यस वर्ष पनि आइपुगेको छ, विखण्डनतिर उन्मुख भइरहेको, हरेक विषयमा समर्थन र विरोध भनौँ अन्तर विरोधको स्वरमा हुर्कन लागेको हाम्रो समाजलाई यो पर्वले निश्चय नै सद्भाव र भाइचारा अनि राष्ट्रिय एकताको सन्देश दिन्छ नै।

नयाँ ऊर्जा, नयाँ उत्सव, नवीनतम जोस र जाँगर लिएर नेपालको भावी चित्र खिच्ने अभिलाषा बोकेर नव वसन्तको खोजी गरिरहेका आम नेपालीबीच अतीतका कटु यथार्थलाई बिर्सेर धार्मिक, सांस्कृतिक सद्भाव र मौलिक चिनारी प्रस्तुत गर्न उद्यत् नेपाली के तराई, के उपत्यका के पहाड सबैतिर एक हप्तासम्म होली महोत्सव मनाउँदैछन्। देश विकास भनौँ प्रगतितर्फ उन्मुख हुन पहिले मनोमालिन्यलाई छोड्नु पर्छ र त चीरदाहको नामले परिचित फागुलाई असत्यमाथि सत्यको विजय उत्सवका रुपमा लिने चलन रहेको हो।

राजधानी काठमाडौंको वसन्तपुरमा एकहप्ता अगाडि नै पच्चीस फिट अग्लो काठको लिङ्गो ठड्याइ विभिन्न रङ्गका कपडाले बेरेर बडो उल्लासका साथ फागु आगमनको संकेत दिने लिंगोलाई वृन्दावनको आनन्द कदमको रुखको प्रतीक मान्ने चलन छ। लिङ्गोको टुप्पोमा छत्राकार दिइएको चीर ठड्याउने कार्यलाई फागु पूर्णिमाको अघिल्लो रातिसम्म राखेर जलाइन्छ। चीरलाई दहन गरिने भएकाले चीरदाहको नामले फागु पूर्णिमाका दिन खुशीयालीका रुपमा पनि मान्ने चलन छ। चीरलाई दहन गरिने भएकाले चीरदाहको नामले फागु पूर्णिमाका दिन खुशीयालीका रुपमा जात्रा मनाइन्छ। चीरको खरानी दल्ने, त्यसको टीका लगाउने, घर सजाउने, शरीरमा रंगी विरंगी चित्र वनाई एक आपसमा फागु खेल्ने चलन पनि रहेको छ। शत्रुता र वैरभावलाई बिर्सेर आपसी भाइचाराको रुपमा, मित्रताको गाँठो बलियो पार्ने चाडको रुपमा पनि फागुलाई मनाइने गरिन्छ।

तराईमा फागुको रौनक पूर्णिमाको भोलिपल्ट हुन्छ। मिथिला (जनकपुर)मा धुमधामसाथ मनाइने यो पर्वले तराईका प्रत्येक कुनासम्म आफ्नो पहुँच बढाएको छ। तराईका ग्रामीण परिवेशमा रहेका फोहोर, घाँस पतझरलाई जलाएर पुराना दर्द बिर्सने, चीरदाह, उत्सवका रुपमा मनाइन्छ।

वसन्तका नयाँ पालुवाझै जीवनमा नयाँ उत्साहको ऊर्जा थप्ने चाड फागु नेपालका कुनाकाप्चा ग्रामीण परिवेशसम्म बडो उत्सुकताका साथ मनाइने गरिन्छ। अधिकारको दुरुपयोग गर्नेलाई विशेष सतर्क गराउने संकेत दिने होलिका दहन उत्सवले प्राचीन इतिहासको पनि संकेत गर्छ। धन, पद प्रतिष्ठाको अनि क्रोध, लोभको प्रतीक हिरण्यकशिपुले सात्विक कार्यका प्रतीक प्रह्लादको अन्त्य गर्न भरमग्दुर प्रयत्न गरेको तर सत्यको विनाश भने हुन नसक्ने देखेपछि अग्निले दहन गर्न नसक्ने दैवीशक्ति लिएर बसेकी आफ्नै बहिनी होलिकाको काखमा राखेर भक्त प्रह्लादको अन्त्य गर्ने प्रयास स्वरुप प्रह्लादलाई जलाउन प्रयत्न गर्यो। अन्ततः प्राप्त शक्तिको दुरुपयोग भएको देखेर अग्निदेवले प्रह्लादको सट्टा होलिकालाई नै दहन गरिदिए। असत्यको प्रतीक हिरण्यकशिपु र उसकी समर्थक होलिका दहनको खुशियालीमा त्यसै होलिका दहनको खरानीको टीका लगाई खुशी व्यक्त गर्ने क्रममा फागु खेल्ने परम्परा विकसित हुँदै आयो।

प्रह्लादलाई बाजा गाजासहित रङिन उत्सवका साथ अविरयात्रा गरिएको संस्मरण स्वरुप फागु पूर्णिमा मनाउने चलनले सबै जन मानसमा एउटा अमिट छाप छोडेको छ।

सत्ययुगको उपयुक्त संस्मरणले द्वापरयुगको संकेत स्वरुप वृन्दावनमा गोपिनीहरूका साथ श्रीकृष्णले रसरङ्ग गर्नुभएको प्रसङ्ग पनि जोडिन पुग्छ। होलीको उत्सव मान्दै कल्मष हटाउने, आत्मीय स्नेह बढाउने, सुख, समृद्धि र ऐश्वर्य वृद्धि गर्ने चाडको रुपमा द्वापरयुगदेखि नै मान्दै आएको पर्व कलियुग आजसम्म आइपुग्दा पनि बढेको छ। आफन्त सँग भेटघाट गरेर खुशीको साटासाट गर्दै उपहार दिँदै, मीठा खानेकुरा खाने पर्वका रुपमा पनि यसलाई लिइन्छ। नयाँ अन्न स्वास्थ्य वर्द्धक जौ, चना, गहुँको परिकार बनाउने त्यसको आहुति दिँदै आत्मेश्वर शरीर भित्रको परमेश्वरलाई भोगप्रसाद लगाउने चाडका रुपमा पनि यसलाई हेर्ने गरिन्छ। यसमा आहुती दिइएको तिलकप्रसाद टीका लगाउने चाडको रुपमा पनि लिइन्छ।

द्वापर युगमा राजा युधिष्ठिरको पालामा पनि होलिमहोत्सव मनाइने गरिन्थ्यो। भविष्य पुराणको कथानक अनुसार ढुण्डा नामकी राक्षसनीले केटाकेटीलाई बडो उपद्रव गर्न थालेकीले हातमा मसाल लिएर ठूलो जनसमूहका साथमा अग्नि प्रज्वलित गर्दा ढुण्डा राक्षसी डराई केटाकेटी अपहरण गर्ने कार्य बन्द गरेकी र सबैलाई सुख शान्ति मिलेको कुरा पनि पौराणिक कथाको प्रसङ्ग पाइन्छ। फागु महोत्सवमा अग्नि दहन गर्दा वरिपरिको वातावरण स्वच्छ, पवित्र हुने, रोग निरोधक शक्ति वृद्धि हुने, रोगका किटाणुहरू, फोहोर नाश हुने, शरीर निरोगी हुने वैज्ञानिक दृष्टिकोणले पनि यो उत्सवलाई सबैले मान्ने गरेका हुन्। प्रदूषित वातावरण, समयमा सहरमा फोहोर नउठ्ने कार्यलाई यो पर्वले तिखो व्यङ्ग्य गरेको छ ।

नेपालमा यस पर्वको थालनी मल्ल राजाहरूबाट भएको हुनसक्ने कुरा हनुमान ढोकामा चीर ठड्याउने कार्य आरम्भले स्पष्ट संकेत दिन्छ। फागुको राग गाउने परम्परा पनि मल्लकालीन इतिहासबाट आरम्भ भएको देखिन्छ। एउटा किम्वदन्तीका अनुसार भोट गएका एक व्यापारी आफ्नो बस्ती काठमाडौंको ठहिटी टोलमा फर्कन सकेको खुशियालीमा काठमाडौं शहरमा अबीर जात्रा गर्ने परम्परा सुरु भएको भन्ने पनि छन्। काठमाडौंको ठबली महाबिहारबाट ‘चक्रद्य’ जात्रा सुरु हुने परम्परा भएकाले सो कुराको पुष्टि हुन्छ।

काठमाडौँवासीले होलिलाई ‘चक्रद्य’ भन्ने गरेका र यो जात्रा होलिकै सम्झनामा सुरु भएको हुनसक्ने कुरा संस्कृतिविद्काे मत छ। भगवान मत्स्येन्द्रनाथको पुकार गर्दै ‘सार्थबाहु’ नामक व्यापारी ठूलो कष्टका साथ भोटबाट फर्कन सकेको स्मरणस्वरूप पनि काठमाडौँवासीले यो जात्रा सुरु गराएको भन्ने किम्वदन्ती छ। आफ्नो भदा प्रह्लादलाई काखमा राखेर जलाउन खोज्दा आफैं डढेकी र त्यसको खुसियालीमा होलिका दहन उत्सव मनाइने गरिएको हो। सत्ययुगदेखि नै आरम्भ गरिएको फागु उत्सवले प्राप्त अधिकारको दुरुपयोग गर्नेलाई होलिकाकै हालत हुन्छ भन्ने संकेतसमेत दिन्छ। हिरण्यकशिपुको वितण्डा समाप्त पार्न, सत्य, शान्त र भक्तिभावले ओतप्रोत प्रह्लादलाई बचाउन जगदीश्वर श्रीविष्णु आज्ञाले हिरण्यकशिपुकी बहिनी होलिकाको अन्त्य गरेको प्रसङ्ग पनि पौराणिक चर्चाको विषय बनेको छ।

पुरानो मनोमालिन्य, शत्रुता र वैरभावलाई बिर्सेर घर घरमा गई शुभकामना, भोज भतेर, बधाई साटासाट गरिने यो फागुपर्व काठमाडौंमा मल्लकालदेखि आरम्भ भएको कुरा इतिहासले पुष्टि गरेको छ। पच्चीस फिट अग्लो काठको लिङ्गो वसन्तपुरमा ठड्याउने, विभिन्न रंगिन कपडाले त्यसलाई बेर्ने, टुप्पामा एक किसिमको झल्लरी छाताजस्तो बनाउने र होलिको रात्रिमा त्यसलाई जलाउने गरिन्छ। यसै कार्यलाई चीरदाह भनिने र चीरको खरानी टिका लगाउँदै, फागुका अनेकौँ गीत, नृत्य र खासगरी व्यङ्ग्य गीत गाउँदै बडो हर्षोल्लासका साथ मनाइने पर्व फागु विजय उत्सवको नमूना नै हो भन्न सकिन्छ।

प्राचीन समयमा व्यापारिक काममा ल्हासा पुगेका सार्थवाह सिंह सजिलै काठमाडौंको ठहिटी आफ्नो घर फर्कन सकेको उपलक्ष्यमा काठमाडौंबासीले त्यस दिनको सम्झना स्वरुप यो उत्सव मनाउन लागेको भन्ने किम्वदन्ती छन्। काठमाडौंमा अहिले पनि ‘चकद्य’ यात्राको रुपमा मनाइ चकद्य मूर्ति दीपाङ्करको आकारमा बनाई खुशियाली गर्ने परम्परा कायमै भएकाले किम्वदन्तीमा विश्वास गर्ने आधारहरू छन्। व्यापारी सार्थवाहुलाई बाटामा अनेकौं झन्झट आइलागे पनि मत्स्येन्द्रनाथको कृपाले उनी घर फर्कन सकेका र टोलीमा गएका कतिपय साथीहरू राक्षसको आहार बनेका पनि थिए रे ! गहुँ, चना, जौ को आहुति दिएर डढेको खरानी प्रसाद स्वरुप लिने परम्परा पनि छ। फागु उत्सवमा आगोमा भुटेका अन्न बढी पौष्टिक हुन्छ र शरीर निरोगी र फुर्तिलो बन्छ। बाटा घाटामा रहेका फोहोर डढाउने, हटाउने कार्यले वातावरण राम्रो र स्वस्थकर हुन्छ।

यसरी मन, मस्तिष्क र समग्र समाजको प्रदूषण हटाई नवीन चेतना, उत्साह र नयाँ कार्यशैली प्रति प्रेरणा दिने पर्व फागुपर्वले हाम्रा घर आँगनीमा सामाजिक एकता र सद्भाव कायम राख्न प्रेरणा दिन्छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  २ : २८ बजे

पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा 

काठमाडौं– नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक

राष्ट्रिय विकास समस्या समाधान समितिको बस्दै

काठमाडौं– राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक आज बस्दै

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स