मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप, किसानलाई चिन्ता | Khabarhub Khabarhub

मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप, किसानलाई चिन्ता


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित भएको बताउँछिन्। हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले उत्पादनमा घट्ने उनको गुनासो छ ।

‘करिब चार रोपनी जमिनमा मकै लगाइएकोमा कीरा लागेर हैरान पारेको छ, गतवर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र कीराको प्रकोपले समस्या सिर्जना गर्छ’, उनले भनिन् ।

जिल्लाका दरवाङ, बाबियाचौर, ताकम, बिम, देविस्थान, ज्यामरुककोट, भकिम्ली लगायतका गाउँमा लगाएको मकैमा मौसमको प्रतिकूलताका कारण फौजी कीराको प्रकोप देखिएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा कतै मकै भर्खरै उम्रेको छ भने कतै गुवा हाल्दै गरेको र गोडमेल गर्ने समय भएको छ । सबै मकैका बोटमा फौजी कीराको प्रकोप बढ्न थालेपछि किसान चिन्तित भएको केन्द्रको भनाइ छ ।

केन्द्रका प्रमुख किरण सिग्देलले मकैमा अमेरिकन फौजी कीराको प्रकोप देखिन थालेको भन्दै कीराले मकैको पात र गुभा खाने गरेको बताए ।

जिल्लाको रत्नेचौर, ज्यामरुककोट लगायतका क्षेत्रमा सञ्चालित आइपिएम किसान पाठशालाका प्रशिक्षक क्षेत्रबहादुर कटुवालले यो वर्ष कीराले मकैको बोट खान थालेको र गर्मी बढ्दै जाँदा रोग कीराको प्रकोप फैलिन सक्ने जोखिम पनि बढ्दै जाने बताए ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार वयस्क कीराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो कीराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पुर्‍याउँछ ।

करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अण्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उनको भनाइ छ ।

म्याग्दीका विभिन्न छ स्थानीय तहका १४ समूहले मकैको बीउ उत्पादन गरिरहेका छन् । ती समूहलाई अमेरिकन फौजी कीराको प्रकोपबारे केन्द्रले जानकारी गराएको छ । फौजी कीराले रातिको समयमा बढी क्षति गर्ने गरेको कृषि प्राविधिक बताउँछन् ।

फौजी कीरा बढी नै खन्चुवा खालको हुने भएकाले जति बेला पनि मकैको बोट खाइरहने प्राविधिकको भनाइ छ । कीराको लार्भाले धान, गहुँ, कोदो, उखु, तेलहन बाली, लहरेबाली, काउली बाली, भटमास, प्याज, गोलभेँडा, आलुलगायतका बालीमा पनि क्षति पुर्‍याउने गरेको छ ।

यसको व्यवस्थापनको लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीचमा ‘डेस्मोडियम’ घाँस लगाउनुपर्ने कृषि प्राविधिकको सुझाव छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ३ : १० बजे

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै

चितवन– चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’

गभर्नरको ‘बहिर्गमन’ बहानामा उचालेर थेचारिएको साताको शेयर बजार

काठमाडौं – यो साता सामाजिक सञ्जालदेखि प्रायः सबैजसो सञ्चारमाध्यमसम्म नेपाल

विकास निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै

सात वर्षमा सात सरकार झेल्दै गण्डकी प्रदेश : सर्वत्र टुक्रे योजना

पोखरा – गण्डकी प्रदेश स्थापना भएर सञ्चालनमा आएको सात वर्ष

विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल, इरानी विदेशमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं– हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको