धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु  | Khabarhub Khabarhub

धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु 


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

मलेखु– धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ सांकोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो ।

ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताएका छन् ।

उनले करिब १० रोपनी पखेरा बारीमा आठ सय बिरुवा लगाउनुभएको छ । विसं २०७८ बाट ड्रागन फुडखेती सुरु गरेका उनले दोस्रोपटकको आम्दानी लिनथालेका छन् । अहिले चार सय बिरुवाले फल दिन थालेको छ । ड्रागन फल लिन घरैसम्म मानिस पुग्ने गरेका छन् । उनले भने, ‘घरैमा पुग्नेलाई प्रतिकिलो पाँच सयमा बिक्री गरिरहेको छु ।’

टाढा–टाढाका मानिस खेती हेर्नकै लागि मात्रै पनि बारीमा पुग्ने गरेका छन् । किसान श्रेष्ठले फेसबुकमा ड्रागन फुड पाकेको सूचना हालेपछि यतिखेर ताजा फल खान र चाख्नैका लागि जनाउँदै फल किन्न बारीमै पुग्ने गरेका छन् । औषधीय गुण हुने र नेपालकै लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको उनको भनाइ छ ।

उनले भने ‘विसं २०५० तिर शिक्षकको जागिर छाडेपछि कृषि पेसा अँगाल्दै आएको छु । ड्रागन फुडखेतीका लागि रु २२ लाख लगानी भइसकेको छ । यसलाई अझ विस्तार गर्ने सोचमा रहेको छु ।’

कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै उहाँ व्यावसायिक ड्रागन फुडखेतीमा रमाउन थालेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् व्यवसायी श्रेष्ठ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फुडसमेत बजारमा नरहेको उनले बताए । 

युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ जनाउँदै ड्रागन फुडखेतीको सुरुआत गरिएको र ड्रागन फुडको उत्पादनभन्दा बजारमा माग बढिरहेको बताए । उनका अनुसार फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।

कृषिमा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवर्द्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदानलगायतका सहयोग पाउने वातावरण हुनुपर्ने श्रेष्ठको माग छ । नेताका पछि लागेकालाई दिने गरेको अनुदानले कृषि क्षेत्रको प्रवर्द्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले सबै वादभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न उनको आग्रह छ ।

नीलकण्ठ –१ का गणेश गुरुङले पनि दुई वर्षअघिदेखि बिक्री गरिरहनुभएको छ । तीन रोपनी बारीमा दुई सय बोट ड्रागन लगाएका गुरुङले यो वर्ष पनि धमाधम बिक्री गरिरहेका छन्  । भारतीय सेनाको जागिरबाट पेन्सन पकाएर ड्रागन फुडको खेती सुरु गरेका गुरुङले अहिले आम्दानी लिइरहेका छन् ।

एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव गुरुङले बटुलेका छन् । गुरुङको बारीबाटै प्रतिकेजी रु पाँच सयदेखि छ सयसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएका फल धादिङबेँसी बजारमा नै खपत भइरहेको छ । जिल्लाभर एक दर्जन किसानले यसको खेती सुरु गरेका छन् ।

गर्मी समयको वैशाखदेखि मङ्सिरसम्म मुख्यरूपमा फल दिने ड्रागन फुड वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । उनको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनका लागि पनि कोपिला बसिसकेको छ । ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १० : २८ बजे

नेप्सेको सीईओका लागि पाँचजनाको नाम सार्वजनिक, बुधबार अन्तर्वार्ता

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत

पिएम कप : कोशीको आक्रामक बलिङ, १९ रन बनाउँदा गण्डकीले गुमायो ७ विकेट

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत

चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

म्याग्दी– समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि

स्यूचाटारमा आगलागी, १५ लाख बढीको क्षति

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण

काठमाडौं – यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण