विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

आज भदौ १०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

हवाई दुर्घटना वाग्नरका प्रमुख प्रिगोजिनको मृत्यु भएको रूसी अनुसन्धानकर्ताद्वारा औपचारिक पुष्टि

वाग्नर अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनको बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएको औपचारिक आनुवंशिक विश्लेषणबाट पुष्टि भएको रूसको अनुसन्धान समितिले आइतबार जनाएको छ ।

छानबिन समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भने, “टिवर क्षेत्रमा भएको विमान दुर्घटनाको अनुसन्धानको एक भाग आणविक–आनुवंशिक परीक्षण पूरा भएको छ । नतिजाअनुसार रूसी विमान दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ । उनीहरू फ्लाइट लिस्टमा उल्लेखित सूचीसँग मिल्दोजुल्दो छन् ।”

दुर्घटनाग्रस्त एम्ब्रेयर प्राइभेट जेटमा रहेका अन्य नौ जनामध्ये वाग्नरको अपरेशनको व्यवस्थापन गर्ने र रुसी सैन्य गुप्तचर निकायमा काम गर्ने व्यक्ति दिमित्री उत्किन पनि थिए । वाग्नरले मस्कोको सैन्य नेतृत्वविरुद्ध विद्रोह गरेको ठीक दुई महिनापछि प्रिगोजिनको दुर्घटनामा मृत्यु भएको घटनामा क्रेमलिनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूका लागि घटनालाई ‘दुःखद’ भन्दै सम्भावित दुष्प्रचारको अफवाहलाई ‘सरासर झूट’ भनेका छन् ।

रूसी अधिकारीहरूले दुर्घटनापछि हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अन्यथा सम्भावित कारणको बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

महिला खेलाडीको ओठमा चुम्बन गर्ने स्पेनी फुटबलका अध्यक्ष निलम्बित

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ ।

महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो । फिफा अनुशासन समितिले रुबियाल्सको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ ।

चार दिनअघि अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो । रुबियालेसले चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उनले क्षमा याचना गरेका थिए ।

यद्यपि उनले सहमतिमा चुम्बन गरेको बताएका छन् । खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् । स्पेनको पहिलो महिला विश्वकप उपाधिको ठूलो उपलब्धिलाई चुम्बनले ओझेलमा पारेको छ ।

खेलाडी जेनीसहित उनको टोलीका सदस्यले रुबियाल्सलाई जिम्मेवारीबाट नहटाएसम्म खेल मैदानमा नफर्कने घोषणा गरेका छन् । महासङ्घमा उनीहरूले उजुरी पनि दायर गरेका छन् ।

‘भारतसँग मङ्गल र शुक्र ग्रहमा पुग्नसक्ने क्षमता छ’

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्र ग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् ।

दक्षिणी राज्य केरलाको तिरुवनन्तपुरममा पत्रकारहरूसँग कुरा गर्दै उनले भारतसँग जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य रहेको बताए ।

इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए । “हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिङ्गो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो,” उनले भने ।

यसअघि शनिबार नै प्रधानमन्त्री नरेन्द्र मोदी अर्को दक्षिणी राज्य कर्णाटकको बेङ्गलुरुमा रहेको इसरोको मुख्यालयमा पुग्दा उनलाई भव्य स्वागत गरिएको थियो ।

उनले तेस्रो चन्द्रयान अभियानमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गरेका थिए ।

गत बुधबार साँझ चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएको थियो । यससँगै चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ ।

अमेरिकामा गोलीकाण्ड : काला जातिका तीन जनाको मृत्यु

जातीय घृणाले प्रेरित घटनामा एक जना गोरा जातिका मानिसले अमेरिकाको फ्लोरिडा राज्यस्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना काला जातिका मानिसको गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।

“आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाएका थिए । उसको परिवारका सदस्यले फेला पारेको घोषणापत्रमा पनि उनीहरूलाई मार्न उसले गरेको घृणित दृढनिश्चयको विवरण छ,” कानुन कार्यान्वयन कार्यालय ज्याक्सनभिलका प्रमुख टीके वाटर्सले २० वर्षीय आक्रमणकारीबारे जानकारी दिँदै बताए ।

विशेषतः अश्वेतहरू अध्ययन गर्ने राज्यको ऐतिहासिक एडवर्ड वाटर्स विश्वविद्यालय नजिक भएको उक्त घटनामा विश्वविद्यालयका कसैलाई हानी नभएको जनाइएको छ । आक्रमणकारी केही दिनअघि पनि विश्वविद्यालय परिसरमा देखा परेका थिए ।

आक्रमणको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार आक्रमणकारीको कुनै आपराधिक वा अन्य सङ्गठित संस्थासँग कुनै संलग्नता नरहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । अब केन्द्रीय जाँच ब्युरो (एफबीआई) ले घटनाको विस्तृत अनुसन्धान गर्नेछ । आक्रमाणकारी एक्लैले उक्त घटना गराएको हो ।

अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना

संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतबार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल टापुमा दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नमा नै आफ्नो ध्यान केन्द्रित रहेको अष्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । विमानमा अष्ट्रेलियाली सैनिक नरहेको स्पष्ट गर्दै मन्त्रालयले प्रारम्भिक चरणमा दुर्घटना प्रतिकार्यलाई प्राथमिकतामा राखिएको बताएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित अमेरिकी सुरक्षा निकायका २० जना सदस्य थिए । दुर्घटनामा घाइते भएका तीन जनालाई डार्विन अस्पताल लगिएको तथा एक जनाको अवस्था गम्भीर छ ।

संयुक्त युद्धअभ्यासमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया इन्डोनेसिया र फिलिपिन्सका हजारौँ सैनिकले भाग लिएका छन् । उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ ।

एशिया–प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो ।

पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाकिस्तानमा यात्रुबाहक भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको मनसेरामा भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

सञ्चारमाध्यमका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए । सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।

सो भ्यानमा १३ जना सवार रहेको बताइएको छ । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।

ब्रिटिस संग्रहालयबाट बहुमूल्य सामान हराएपछि निर्देशकले दिए राजीनामा

लन्डनको प्रमुख पर्यटकीय आकर्षण मध्येको एक, ब्रिटिश संग्रहालयका निर्देशकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

अघिल्लो शनिबार चोरी भएका २ हजार कलाकृतिहरू मध्ये केही बरामद भएको अवस्थामा उनले राजीनामा दिएका हुन् । सो ब्रिटिस म्युजियममा हजारौँ बहुमूल्य कलाकृतिहरू राखिएका थिए । जसमध्ये केही चोरी भएपछि नैतिकताको आधारमा उनले राजीनामा दिएका हुन् ।

हार्टविग फिशरले आफ्नो राजीनामाको घोषणा गर्दै उनले भने, ‘सो घटनामा अन्ततः म दोषी छु, नेतृत्वको हिसाबले यसको दोषी भागिदारी हुन चाहन्छु ।’

संग्रहालयको बोर्ड अफ ट्रस्टीका अध्यक्ष जर्ज ओसबोर्नले शनिबार सञ्चारमाध्यमलाई भने, ‘हामीले चोरी भएका केही सामानहरू बरामद गर्न थालिसकेका छौँ, हामी विश्वास गर्छौँ कि हामी धेरै लामो समयदेखि पाइरेसीको शिकार भएका छौँ र स्पष्ट रूपमा तिनीहरूलाई रोक्न धेरै गर्न सकिन्छ ।’

फिशरको राजीनामा एक हप्ता भन्दा पछि आएको छ । जसमा संग्रहालयका एक कर्मचारीलाई संग्रहालयको भण्डारण कोठाबाट धेरै खजानाहरू चोरी भए पछि कानुनी कारबाहीमा निलम्बन गरिएको थियो ।

जिहादी समूहको आक्रमणमा परी ११ सिरियाली सैनिकको मृत्यु

युद्धग्रस्त सिरियाको उत्तरपश्चिम क्षेत्रमा शनिबार जिहादी समूहले सेनाको पोस्ट नजिकै खनिएको सुरुङमा राखिएको विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तीमा ११ जना सिरियाली सैनिकको मृत्यु भएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार अन्सार अल तौहिद समूह र तुर्केस्तान इस्लामिक पार्टी (टिआइपी) का जिहादीहरु सम्मिलित उक्त आक्रमण इदलिब प्रान्तको दक्षिणमा भएको हो ।

बेलायतस्थित अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले भने, “जिहादीहरूले सेनाको पोस्टमुनि खनेको सुरुङमा विस्फोट गराए र एकैसाथ अन्य सुरुङबाट आक्रमण सुरु गरे ।”

रूसले इदलिब नजिकैको जिसर अल शुघुर क्षेत्रमा हवाई आक्रमण गरेको एक दिनपछि २० जना सैनिक घाइते भएको अब्जरभेटरीले जनाएको छ ।

आक्रमणमा संलग्न दुवै समूह जिहादी हयात तहरीर अल–शाम एचटीएस समूहसँग आबद्ध छन्, जसले इदलिब प्रान्तका केही भागका साथै अलेप्पो, हामा र लाटकियाका केही भागलाई नियन्त्रण गरेको छ ।

यसैबीच, सिरियाको उत्तरी क्षेत्रमा सोमबार भएको रूसी हवाई आक्रमणमा सरकारी सेनाले गरेको बमबारीमा सात जना एचटीएस लडाकू मारिएका छन् भने अन्य १३ जना मारिएका छन् ।

इदलिब नजिकै रूसी आक्रमणमा परी दुई जना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ ।

युद्ध अनुगमनकर्ता समूहहरूले शनिबारको आत्मघाती आक्रमणमा ‘दुई जिहादीले आफ्नो ज्यान लिएको’ र ‘भीषण भिडन्त जारी रहेकाले’ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको जनाएका छन् ।

सिरियामा सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि गरेको दमनपछि सुरू भएको सरकार र विपक्षी विचको द्वन्द्वले सन् २०११ देखि सिरिया गृहयुद्धमा फसेको थियो ।

रूसले सन् २०१५ मा राष्ट्रपति बसर अल असदको पक्षमा हस्तक्षेप गर्दै विपक्षी समूहमाथि हवाई आक्रमण गरेको थियो । रूसी आक्रमणपछि सिरियामा विपक्षी समूहहरू कमजोर बनेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : ५९ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव