चितवनका किसान नगदेबालीतर्फ आकर्षित  « Khabarhub

चितवनका किसान नगदेबालीतर्फ आकर्षित 


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् । 

माडी नगरपालिका-३ का ओमप्रकाश महतो विगत पाँच वर्षदेखि तोरीखेती गर्दै आएका छन् । उनले यसभन्दा पहिला धान भित्र्याएपछि गहुँ र आलुखेती गर्दै आएका थिए । महतोले अहिले आफ्नो १० कट्ठा र भाडामा लिएको १० कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन् । 

यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबाली क्षति गर्ने गर्दछन् । अहिले माडीमा तोरी टन्न फलेको छ । यस्तै खैरहनी नगरपालिका–१२ का नवीनकुमार श्रेष्ठ विगत दुई वर्षदेखि तोरीखेती गर्दै आएका छन् । उनले १६ कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन्। पानी कम लाग्ने र जनावरले समेत असर कम गर्ने भएपछि तोरीखेती गर्न थालेको उनको भनाइ छ । 

श्रेष्ठले भने, ‘गहुँ र मुसुरो खेती ढिला पाक्छ, त्यसैले तोरी खेती गरेको हुँ ।’ तोरी थन्काएपछि सोही बारीमा खर्बुजा खेती गर्ने योजनामा रहेको उनले सुनाए। तोरीले मूल्य पनि राम्रो पाउने भएकाले यो खेती गरिएको भए पनि अहिले बजार सुस्त हुँदा मूल्य घट्छ कि भन्ने चिन्ता लाग्ने गरेको श्रेष्ठको भनाइ छ । 

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताए। उनका अनुसार यो क्षेत्रफल गत वर्षको तुलनामा सात हजार ८५ हेक्टरले बढी हो । गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ । 

बर्खे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरी खेती गरिएको छ । तोरी बाली छिटो पाक्ने, चैते धान लगाउन सहज हुने नगदे बाली भएकाले किसानको ध्यान यस बालीतर्फ गएको योजना अधिकृत अर्यालले बताए। 

जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो । अहिले कहीँ कतै मात्रै यी बाली लगाइएको पाइएको योजना अधिकृत अर्यालले बताए । तेलहन बाली प्रवर्द्धनका लागि सरकारले समेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : ५३ बजे

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक