चलचित्र अभिनेता निर्देशक, लेखक र अनुसन्धानकर्ता विश्व बस्नेतको पहिचान नेपाल चलचित्रमा छुट्टै छ। विश्व बस्नेत कुनै समय नेपाली चलचित्रमा चलेको नाम हो। उनले नेपाली चलचित्र लेखन, निर्देशन र निर्माताका रुपमा २५ भन्दा बढी समय फिल्ममा उपस्थिति देखाए। २००३ सालमा धनकुटामा जन्मिए पनि काठमाडौं, मोरङदेखि लखनौँसम्म अध्ययनको लागि पुगेको अनुभव छ। अन्नाय, सिन्दुर जस्ता चलचित्रमा आफ्नो प्रस्तुति दिएका बस्नेत चलचचित्र क्षेत्रको सम्मानि व्यक्ति हुन् । आजको संवादमा विश्व बस्नेतको अहिलेको दैनिकी, आगामी जीवन र चलचित्रको विषयमा आधारित रहेर नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अशं :
तपाईंको नाममा अभिनेता तथा हिरोको छाप हामीमा मात्र हो कि तपाईंमा पनि छ ?
पहिले र अहिलेको उमेर एकदम फरक छ। सानोमा म राम्रो भएको कारण फिल्म लाइनमा गएको हुँ। सोच विचार नै फरक भएको हुन्छ। समय अनुसार हरेक व्यक्तिको जीवन पनि फरक तथा महत्वपूर्ण रहन्छ। जसकारण पहिलेको समय र अहिलेमा धेरै मात्रामा भिन्नता रहेको छ।
जन्मभूमि धनकुटामा छोडेर काठमाडौं पढ्न आउनुको कारण के थियो ?
पुर्खौली घर धनकुटा हो। जहाँ हजुरबुबा बस्नुभयो। बुवाको पालामा धरानतर्फ बसाइँ सराइ भयो। झापामा पनि जग्गा थियो। विराटनगरमा पनि घर थियो। म ९ वर्षको उमेरमा नै काठमाडौं आएर पढ्न थालेको हो।
एकै स्थानमा बसेर पढाइमा जम्न नसक्नुको कारण के होला ?
काठमाडौंको सेन्ट जेभियर्समा पाँच कक्षासम्म पढेको हो। त्यहाँबाट मलाई निकालियो। शान्ति निकेतनमा ९ कक्षामा भर्ना गरियो । एसएलसी दिने बेलामा म कलकत्ता भागेर गएको थिएँ। पछि कलकत्ताबाट आएर धरानमा नै पढेको हो। काडामाडौं विद्यालयको अनुभव संगालेर धरान गएर एसएलसी सकाएँ। म गायक पनि भएकाले एकै ठाउँमा बस्न सकिन।
तपाईंको चलचित्रमा प्रवेश कसरी भयो ?
सानै उमेरदेखि गाउन, बजाउन, अभिनय गर्न रुचि राखेको कारण पनि सफल भएको जस्तो लाग्छ । प्रकाश थापाको तर्फबाट म फिल्मको लाइनमा पुगेको हुँ। त्यसपछि प्रकाश थापा दाइ र म मिलेर फिल्म बनाउन लाग्यौ। ‘मेरो देश’ रेकर्डिङ पनि भएको थियो। तर त्यस बारेमा मलाई भने कुनै पनि जानकारी थिएन। जानकारी नभए पनि म पछाडि हटिन।
तपाईं आफ्नै लगानीमा अगाडि बढ्नुभयो वा अरुको लगानीले अवसर मिलेको थियो ?
आफै स्टुडियो तिर जाने भएपछि त्यसमा लागिपरेँ। तन, मन लगाएर अगाडि बढ्ने सोच आयो । स्टुडियोमा आउने जाने क्रममा किरण कुमारले ‘यू आर भेरी इन्टेस्टिङ फेस’ पनि भनेर प्रशंसा गर्नुभयो। जसकारण पनि अझ उत्साह जागेको थियो। हिरोबाट पनि चलचित्रको लागि राम्रो पक्ष सुन्न पाएर खुसी लाग्थ्यो।
अभिनयको लागि प्रशिक्षण तथा तालिम लिनु भयो कि सिधै आउनु भयो ?
पहिला प्रशिक्षणमा नै गएँ। प्रशिक्षणमा गएपछि काम गरेर देखाउँछु भन्ने सोच बोकेर मात्र बाहिर आएको हुँ। स्टुडियोमा जाँदा कि प्रशिक्षण भएको हुनुपर्ने कि त अभिनय गरेको हुनु पर्ने कारणले गर्दा सबै कार्यमा तल्लीन भएर मात्र म फिल्म क्षेत्रमा लागेको हुँ।
तपाईंको पहिलो चलचित्र कुन र कति सालमा छायांकन भयो ?
मेरो पहिलो चलचित्र सिन्दुर हो। २०३५ सालमा छायांकन भएर २०३६ सालमा यो चलचित्र बन्यो। यो चलचित्र बनेको करिब ४० वर्ष भयो।
सिन्दुर चलचित्र खेल्नुमा तपाईंलाई कसको साथ थियो ?
आशा चन्द्रसँगको साथ रहेको थियो। जुनताका मनको बाध भन्ने फिल्म बन्न लागेको थियो। त्यो समय म बम्बैमा नै थिएँ। चलचित्रको अनुभव अग्रेजी चलचित्रमा बटुल्ने मौका पाएँ र मलाई अभिनय गर्न सहज पनि भयो।
सिन्दुर चलचित्र अभिनय गर्दा पारिश्रमिकको विषय पनि थियो होला, त्यो कसरी मिलाउनुभयो ?
भर्खर मौका पाएको कारण त्यसको बारेमा कुनै सोच नै आएन। काम गर्न पाए भइहाल्यो भन्ने सोच थियो। ठूलो कुरा चलचित्रमा अभिनय गर्न पाएँ भन्ने थियो। साइ नेपाल चलचित्र संस्थाको अध्यक्ष वा जनरल म्यानेजर उत्तमलाल श्रेष्ठले बोलाएर तपाईं हिरोमा सेलेक्ट हुनुभयो भनेर कुरा गर्नुभयो। सिन्दुर फिल्म खेल्दा मैले सात हजार पारिश्रमिक लिएको हुँ। जसमा म धेरै खुसी भएको थिएँ।
आफूले आफूलाई पहिलो पटक चलचित्रको पर्दामा देख्दा कस्तो अनुभव भयो ?
मलाई कुनै पनि रुपमा सफल नै भएको महसुस भयो। सुरुमा भने अलिअलि नर्भस भएको थिएँ। धेरै दिनपछि भने पुरा कनफिडेन्ट भएको थिएँ।
सिन्दुर बनेको कति पछि अर्को फिल्म खेल्ने मौका पाउनुभयो ?
सिन्दुर बनेको दश वर्षपछि २०४५ सालमा सुटिङ भएर २०४६ सालमा अर्को फिल्म बन्यो। जुन फिल्म ‘अन्याय’ हो। जग्गा धितो राखेर फिल्म बनाएको हो।
चलचित्र क्षेत्रका लागि अन्यायले न्याय गरेको छ जस्तो लाग्छ ?
एक सफल पिक्चर पनि हो। यसका गीतहरू सबै हिट नै भएका थिए। फिल्म पनि सफल नै हो। २०४६ सालको आन्दोलनको समय भए पनि फिल्मले भने राम्रो न्याय गरेको थियो। आन्दोलनका कारण काठमाडौंका चार ओटा हल र भक्तपुरमा रहेको हल नै बन्द भए। त्यसपछि के को फिल्म, केही नै चल्ने अवस्था थिएन। अन्याय हैन फिल्म अन्योलमा परेको अवस्था थियो।
चलचित्र क्षेत्रमा विश्व बस्नेतको नाम अहिले फर्केर हेर्दा सफल कि असफल ?
आफै बनाउँछु गर्छु भनेर लागि परेको थिएँ। फिल्महरू धेरै बन्दैन थिए। दुई तीन वर्षमा एउटा बन्ने गरेको थियो। अर्काकोमा गएर चाकडी गरेर फिल्म खेल्न देउ भन्ने खालको मान्छे म होइन। म आफू नै निडर भएर आफैमा कर्म गरेर खाने खालको मान्छे भएको कारण आफैले नै बनाउनतर्फ लागेँ। त्यसले गर्दा दोस्रो फिल्म खेल्न दश वर्ष लाग्यो। त्यो समयमा फिल्म बनाउनु भनेको चानचुने कुरा थिएन।
पछिल्लो समय फिल्मबाहेक अन्य क्षेत्रमा किन लाग्नुभयो ?
मानव जीवनका लागि स्वास्थ्य महत्वपूर्ण छ। मेडिकल कलेजका अनुसन्धानपत्र अध्ययन गर्नु आवश्यक लाग्यो। आफूले अध्ययन गरेका विषयलाई प्रकाशनमा ल्याउनुपर्छ भनेर लेख्न थालेको हुँ। चलचित्रपछि मेरो क्षेत्र मेडिकल पनि हो भन्न सकिन्छ।
तपाईं वैकल्पिक उपचार पद्धतिको कुन चरणमा हुनुहुन्छ ?
मैले गर्ने वैकल्पिक उपचार भनेको केही चिज आयुर्वेदिक, केही चिज प्राकृतिक जस्ता अन्य पनि हुनसक्छन्। मानिस अनुसारको उपचार हुन्छ। जो मान्छे जुन पद्दतिबाट आएको हुन्छ त्यो लिमिटेड हुन्छ। राम्रो के छ भनेर सबै अपनाउँछु। मसँग आएका बिरामीलाई सकेसम्म सही तरिकाबाट अगाडि जान सुझाव दिन्छु। बिरामीले आफ्नो इच्छाले उपचार पाउनु आवश्यक छ।
स्वास्थ्य क्षेत्रमा तपाईं सफल रहनु भएको छ ?
म सफल भएको मान्दिन। त्यो मेरो पद्दति नै होइन। विश्वको टप डाक्टरले पत्ता लगाएर मान्यता प्राप्त पारेको चिजलाई मैले अपनाएको हुँ। कोभिडको भ्याकसिन लगाउने कुराको म विरोधी हुँ। जसको अनुसन्धान गर्न जरुरी छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम
प्रतिक्रिया