सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार सुरु | Khabarhub Khabarhub

सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार सुरु


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक  विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक-साँगासाँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । 

यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महिनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमबारदेखि पहिलो चरणमा साँगा-धुलिखेल सडकखण्ड विस्तार कार्य सुरु गरिएको हो । 

उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको र  विस्तार गरिने कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । 

साँगा-धुलिखेल सडकखण्डअन्तर्गत बनेपा नगरपालिकाको साँगा नजिक सडकको बायाँतर्फ होचो स्थानमा सोमबारदेखि पर्खाल बनाउन  थालिएको छ । सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार साँगा-धुलिखेल सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा  ठेक्का परेको थियो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक-साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी लामो छ । उक्त खण्डका लागि  रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै ठेक्का सम्झौता भइसकेको विभागले जनाएको छ । 

सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माण गर्नुपर्ने पुलका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको थियो  । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०-२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको थियो  । 

उक्त डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको अध्ययनमा  जनाइएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । 

आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार काठमाडौँबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने छ ।  यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक रु अर्ब मुआब्जा दिनुपर्ने जनाइएको  छ ।

यसैबीच सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल भवन तथा जग्गाको लगत संकलन सुरु गरिएको र सडकको बीचबाट दायाँबायाँ २५-२५ मिटरको मापदण्डअनुसार कार्यालयले राजमार्गअन्तर्गत पर्ने चार नगरलाई सहयोगका लागि पत्राचार गरिएको  छ । उक्त सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरूप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत संकलन थालिएको हो । 

यस सडकखण्डमध्ये बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलब ८६ मिटर कायम हुनेछ । आयोजनाकी  सिनियर डिभिजन इन्जिनियर राधिका प्रजापतिले सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक बनाउने तयारीअन्तर्गत सो सडकखण्डको साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर राजमार्ग दायाँबायाँ २५ गज नै कायम हुने जानकारी दिए। बनेपा बजारमा मात्रै करिब तीन सयको हाराहारीमा घर छन् । 

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५-२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्‍यो । यही आधारमा सडकका  दायाँ-बायाँमा घर बनेको बताइन्छ । काभ्रेपलाञ्चोकको पूर्वी-दक्षणी क्षेत्र विपी राजमार्ग हुँदै आवागमन हुने सवारीसाधन  काठमाडौँ-पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न र  सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । 

यस्तै संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल नगरपालिका जोडिएको छ । यी सडकबाट अरनिको राजमार्गहुँदै प्रदेश १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् । सडक विस्तार भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।

– राजकुमार पराजुली रासस

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १ : ३२ बजे

हराएको २२ दिनपछि मृत भेटिए बाह्विसका पारस

धनगढी– बुढीगंगा ८ घर भएका पारस कुँवर हराएको २२ दिनपछि मृत

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बुधबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

सुर्खेत– उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

इप्पान ‘ऊर्जा ज्योति सम्मान’ वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई

काठमाडौं– यस वर्षको ‘ऊर्जा ज्योति सम्मान– २०८२’ वरिष्ठ ऊर्जाविज्ञ प्रबल

अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फकाे ब्याजदर

काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर