आज चैत १४, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २८, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
राहुल गान्धीलाई सरकारी निवास छाड्न आदेश
भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ ।
भारतीय सञ्चारमाध्यमकानुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिस जारी गरिसकेको छ ।
लोकसभाको सांसद सुची रहेको वेबसाइटबाट नाम हटाउँदै राहुल निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषित गरिएको छ । गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणाको तयारी सुरु गरेको छ ।
कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको छ। यद्यपि उनले एक महिनाभित्र माथिल्लो अदालतमा पुनरवेदन गर्न पाउनेछन् ।
उज्वेकिस्तानमा ग्यास विस्फोट हुँदा ४ जनाको मृत्यु
उज्वेकिस्तानको समरकन्द क्षेत्रमा ग्यास विस्फोटमा परी चार जनाको मृत्यु भएको छ ।
आगो बाल्ने भट्टीको अनुचित प्रयोगका गर्दा समरकन्दको कट्टाकुर्गन जिल्लाका वृद्ध दम्पती र उनीहरूका दुई नातिनातिना मार्च १७ आगोले जलेर घाइते भएका थिए ।
उनीहरूको अस्पतालमा सघन उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अमेरिकाको एक स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु
अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।
न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक पूर्व विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा तीन कर्मचारी र तीन बालबालिकाको मृत्यु भएको हो ।
मारिएका विद्यार्थीहरु ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् । सो स्कुलमा करिब २०० विद्यार्थीहरु छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु पढ्छन् ।
उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । प्रहरीले संदिग्ध २८ वर्षीया अड्रे हेल रहेको बताएको बीबीसीले जनाएको छ । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन ।
सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने
सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।
हालै फोनपे र बोस्टन कन्सल्टिङ ग्रुपले जारी गरेको प्रतिवेदनमा भारतमा डिजिटल भुक्तानीको बजार हाल रहेको ३ ट्रिलियनबाट बढेर सन् २०२६ सम्म १० ट्रिलियन डलर पुग्ने उल्लेख गरिएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०१५ मा भारत सरकारले कारोबार गर्दा ‘फेसलेस, पेपरलेस र क्यसलेस’ भुक्तानीको उद्देश्य राखी डिजिटल इन्डिया कार्यक्रम सुरु गरेको थियो ।
भारतमा युनाइटेड पेमेन्ट इन्टरफेस यूपीआई डिजिटल भुक्तानीका लागि निकै चर्चित मानिन्छ । यसलाई सन् २०१६ मा भारतको राष्ट्रिय भुक्तानी प्राधिकरण एनपीसीआईले सार्वजनिक गरेको थियो ।
यससँगै परम्परागत रुपमा नगदी कारोबार हुने भारतीय बजारमा पछिल्लो समय डिजिटल कारोबारको हिस्सा झण्डै ४० प्रतिशत पुगेको छ । कोरोना महामारीका बेला भारतका सहरमात्र नभई गाउँसम्म युपीआईको प्रयोग विस्तार भएको थियो ।
कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ
कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क सीएनएनले जनाएको छ ।
कोभिड महामारीको प्रभावका सम्बन्धमा खोज गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार महामारीको तीन वर्षको अवधिमा संयुक्त राज्य अमेरिकामा दुई लाख ३८ हजार पाँच सय बालबालिकाले अभिभावक गुमाएका छन् ।
कोरोनाका कारण सबैभन्दा धेरै अभिभावक गुमाउने अमेरिकी छ राज्यमध्ये क्यालिफोर्निया पहिलो स्थानमा छ । न्युयोर्क राज्यले अभिभावक वा आफ्नो हेरचाह गर्ने गुमाएका बालबालिकाका निम्ति छात्रवृत्ति कोषमार्फत आर्थिक सहयोग गर्ने वैधानिक व्यवस्था गरेको छ । कोषबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा, आवासको प्रबन्ध गरिनेछ ।
रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने
रुसले भारतीय नागरिकका लागि भिसा प्रणालीलाई थप सहज बनाउने भएको छ । रुसका उपविदेशमन्त्री येभगेनी इभानोभलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले भारतसहित ६ देशका नागरिकलाई रुस प्रवेशका लागि सहज बनाउने गरी भिसा प्रणालीमा सुधार गर्ने तयारी भइरहेको छ ।
यसका लागि रुसले भारतसहित अंगोला, भियतनाम, इन्डोनेसिया, सिरिया र फिलिपिन्सका नागरिकलाई पनि मुलुक प्रवेश गर्न सहज बनाउन लागि भिसा प्रणालीलाई सुधार गर्ने बताइएको छ ।
यसअघि उपविदेशमन्त्री इभानोभले बहराइन, ओमान, साउदी अरब, बहामास, बार्बाडोस, हाइटी, जाम्बिया, कुवेत, मलेसिया, मेक्सिको, ट्रिनिडाड र टोबागोलगायत ११ देशसँग रुसले भिसामुक्त यात्रा सम्झौतामा काम गरिरहेको जनाएका थिए ।
युक्रेनमाथि आक्रमण गरेपछि पछिल्लो समय पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्धको घोषणा गरेका छन् । यस्तो अवस्थामा रुसले विभिन्न देशसँग भिसा प्रणाली सहज बनाउने तयारी गरेको हो ।
चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच टेलिफोन वार्ता
चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गरेका छन् ।
चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने सम्झौता भएको थियो । सात वर्षसम्म जारी रहेको तेहरान र रियादबीचको वैमनस्यातापूर्ण सम्बन्धलाई पुनः स्थापना गर्न चिनियाँ पक्षबाट भएको सफल प्रयासको संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले बेइजिङको सराहना गरेका थिए ।
साउदी राजकुमारसँगको वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले रियाद–तेहरान कूटनीतिक सम्बन्ध पुनः स्थापना भएसँगै पारस्परिक सहायता प्रवद्र्धनका साथै क्षेत्रीय एकता र सहयोग सुदृढीकरणमा सशक्त भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
राजकुमार मोहम्मदले दुई पक्षबीच छिमेकीसँग सुसम्बन्ध विकास गर्ने प्रयासलाई समर्थन गर्ने चिनियाँ पहलको लागि साउदी अरबका तर्फबाट चिनियाँ पक्षको प्रशंसा गरे ।
साउदी अरब र इरानले अब एक अर्काको राजधानीमा दूतावास पुनः खोल्ने तयारी गरिरहेका छन् । पवित्र महिना रमजानको अन्त्य हुनु अघि दुवै देशका शीर्ष कूटनीतिज्ञहरूबीच बैठक हुने साउदी सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी अरबका साथै इरानले पनि द्विपक्षीय सम्बन्ध पुनः स्थापनामा जनवादी गणतन्त्र चीनको नेतृत्व र सरकारले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरेको छ ।
आफ्नो एक दशकको सत्ता यात्रामा राष्ट्रपति सीको सक्रिय भूमिकाका कारण इरान र साउदी एकै स्थानमा जुट्न भएको सम्झौतालाई कूटनीतिक विश्लेषकहरूले विश्व मामिलामा सीको लागि ठूलो सफलता भनेका छन् ।
हामी सबै किसिमका आतंकवादको विपक्षमा छौँ : अमेरिका
अमेरिकाले सबै किसिमका आतंकवादको विपक्षमा रहेको स्पष्ट पारेको छ । भारतको पञ्जाबमा पछिल्लो समय पुनः देखिएको खलिस्तानी अभियानबारे सोधिएको प्रश्नमा अरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले आफ्नो मुलुक सबै किसिमको आतंकवादको विपक्षमा रहेको स्पष्ट पारेका हुन् ।
‘हामी सबै किसिमका आतंकवादको निन्दा गर्छौँ । हामी आतंकवादको निन्दा गर्छौँ, हामी हिंसात्मक अतिवादको पनि निन्दा गर्छौँ । आफ्नो लक्ष्य पूरा गर्न हिंसाको प्रयोग गर्ने सबैको निन्दा गर्छौँ’ प्रवक्ता प्राइसलाई उद्धृत गर्दै भारतीय अनलाइन द प्रिन्टले उल्लेख गरेको छ ।
उनले जस्तोसुकै उद्देश्य भएपनि त्यो पूरा गर्न हिंसाको प्रयोग अस्वीकार्य रहेको समेत स्पष्ट पारेका छन् । पछिल्लो समय भारतको पञ्जाबमा शिख धर्मावलम्बीको लागि बेग्लै खलिस्तानी पृथकतावादी आन्दोलन सतहमा आएको छ ।
केही समयअघि भारतीय सुरक्षा अधिकारीले खलिस्तान आन्दोलनका नेता अमृतपाल सिंहलाई लक्षित गरी कारवाही सुरु गरेको थियो । यद्यपि उनी भाग्न सफल भएको बताइएको छ । यद्यपि उनका दर्जनौँ सहयोगीलाई पक्राउ गरिएको छ ।
प्रतिक्रिया