दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आज रवि र स्वर्णिमले लिए शपथ, लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण, कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत, अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता, थप १०३ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए ।

रवि र स्वर्णिमले लिए सांसदको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । लामिछाने र वाग्लेलाई सभामुख घिमिरेले शपथ खुवाएर लोगो वितरण गरेका छन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गरेका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएपछि उहाँले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको काँधमा आएको बताए । उनले प्रदेशको स्थायित्व र विकासका लागि सरकारले प्राथमिकताका साथ काम गर्ने बताए ।

“राजधानी घोषणादेखि कार्यान्वयनमा हामी सँगसँगै छौँ”, उनले भने, “हामी सहभागी अघिल्लो सरकारले राजधानी कार्यान्वयन र पूर्वाधार निर्माणको काम गरेको थियो । अहिले पनि निरन्तरता दिन्छौँ ।”

नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गत पुस २७ गते नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा सरकारको नेतृत्व गरेका नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले गत सोमबार प्रदेशसभामा दोस्रो पटक राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि सरकार ढलेको थियो ।

मुख्यमन्त्री चौधरी नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एक जना र स्वतन्त्र एक सांसद गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्। शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्।

आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परेको छ। चैत २६ गते कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए।

शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका थिए। उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

केन्द्रमा सत्ता फेरिएको फेरिएलगत्तै राप्रपा कर्णाली सरकारबाट बाहिरिएको थियो। राप्रपाकी कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन्।

राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए। यस्तै मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिएका थिए।

कर्णाली प्रदेशसभामा हाल कांग्रेसका १४ र माओवादीका १३ सांसद छन्। यस्तै एमालेका १० सांसद रहँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एक-एक सांसद छन्।

शर्माले नेकपा एमाले र राप्रपाबाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन्। उनलाई माओवादीको १३, कांग्रेसको १४, एकीकृत समाजवादी र स्वतन्त्र एक-एक जना सांसदले पक्षमा मत हालेका हुन्।

कर्णालीमा हाल माओवादी र कांग्रेसको गठबन्धन सरकार छ।

कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कला, संस्कृति, गीत–संगीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मिडिया सोलुसन प्रालिले आज आयोजना गरेको ‘म्युजिक अवार्ड–२०७९’ वितरण समारोहमा उनले सरकारले कला, संस्कृति, गीत–संगीतलाई प्रोत्साहन गर्दै लगिएको बताए ।

‘कला, संस्कृति, गीत–संगीत समाजको यथार्थतालाई अभिव्यक्ति गर्ने माध्याम हो, पुस्तान्तरणमा कला संस्कृतिको महत्वपूर्ण योगदान रहेको छ’, उनले भने। समाजको विकासमा कला, संस्कृतिको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले म्युजिक अवार्ड विजेता कलाकारबाट समाजले आगामी दिनमा कला संस्कृति, गीतसंगीतबारे धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे ।

म्युजिक अवार्ड वितरण समारोहका अध्यक्ष सुमन पण्डित ‘बैरागी’ले नेपाली गीत–संगीत क्षेत्रलाई क्रियाशिल बनाउन म्युजिक खबर टिमले विगत एक दशकदेखि अवार्ड प्रदान गर्दै आइरहेको जानकारी दिए ।

कार्यक्रममा म्युजिक खबर दीर्घ साधना सम्मान–२०७९ बाट वरिष्ठ गायीका तीर्थकुमारी थापा, दशकको स्रष्टा सम्मान गायक भोजराज काफ्ले, दशकको स्रष्टा सम्मान गायीका निशा देशार, सङ्गीत पत्रकारिता सम्मान वरिष्ठ रङ्गपत्रकार सानुकाजी श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै, म्युजिक खबर रेडियोकर्मी सम्मान रेडियोकर्मी चन्द्रमणि गौतम, डायस्पोरा सङ्गीत सम्मान गायक प्रेमराज महत, युवा प्रतिभा संगीत सम्मान गायीका मनिषा पोखरेल, बालप्रतिभा प्रोत्साहन सम्मान गायीका आयुषा गौतम र संगीत स्रष्टा सम्मान गीतकार राम अविरललाई प्रदान गरियो ।

अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता

अर्थमन्त्री डा प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । सो भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

त्यस्तै, मुस्ताङ, रसुवागढीलगायत अन्य पहाडी भू–भागसमेतमा सुरुङ मार्ग बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । चीनबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढाउने विषयमा पनि छलफल भएको सचिवालयले प्रेस नोटमार्फत जानकारी दिएको छ ।

‘अर्थमन्त्री डा महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताउनुभयो’, भेटबारे उल्लेख गर्दै भनिएको छ, ‘चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब उपलब्ध गराउन सक्ने जानकारी गराउनुभएको छ ।’

चीन सरकारले उपलब्ध गराउने सहयोग रकम पूर्वाधार क्षेत्रमै प्रयोग हुने विश्वास पनि राजदूत सोङले व्यक्त गरेका छन् ।

फरार सांसद कोइरी ‘बिरामी’ भएको बताएपछि सभामुख विवादमा, संसद बैठक स्थगित

सभामुख देवराज घिमिरेले संसदमा अनुपस्थित सांसदहरु नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरी बिरामी भएको बताएपछि संसद बैठक स्थगित गर्नुपरेको छ ।

१० भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएपछि कांग्रेस, माओवादी, रास्वपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आपत्ति जनाएका थिए । कांग्रेसका रमेश लेखकले ‘बिरामी’ शब्द रेकर्डबाट हटाउन माग गरे ।

यसपछि रास्वपाका रवि लामिछानेले कोइरी बिरामी नभएको र भागेर भारत गएको बताउँदै अभियुक्तलाई जोगाउने प्रयास नगर्न सचेत गराए । एमाले सांसद रघुजी पन्तले पनि कुनै पनि अपराधिलाई जोगाउने पक्षमा एमाले नरहेको बताए ।

तर, सभामुख घिमिरेले लक्ष्मी महतो कोइरी ‘बिरामी’ भएर बैठक अनुपस्थित भएको रेकर्डबाट हटाउन रुलिङ गर्न मानेनन् । यसपछि सांसदहरुले उठेर विरोध जनाइरहे । सभामुख घिमिरेले पटक पटक आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बस्न आग्रह गरे ।

तर, सांसदहरु बस्न मानेनन् । यसपछि सभामुख घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अदालतले फौजदारी अभियोगमा लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न आदेश दिएको छ । प्रहरीले उनलाई खोजिरहेको बताउँदै आएको छ ।

आविष्कार कोष स्थापनाको माग राखेर महावीर पुन आन्दोलनमा

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सडक आन्दोलनमा उत्रेका छन् ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नाम दिइएको आन्दोलन अन्तर्गत आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिनेछ ।

अविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होमिएका हुन् ।

मकवानपुर जिल्ला अदालतमा १३ सय मुद्दाको फैसला

मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धविच्छेद, चेक अनादर, अंश, लागूऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा सो अवधिमा फैसला भएको जनाइएको हो । अदालतले गत वर्षमा दायित्व सरेर आएका एक हजार दुई सय २० मुद्दा र नयाँ एक हजार पाँच सय आठ मुद्दा दर्ता भई कूल दई हजार सात सय २८ मुद्दा रहेकामा त्यीमध्ये ४७ प्रतिशत मुद्दा फैसला भएको अदालतको एक तथ्यांकले जनाएको छ ।

श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले सरल मार्ग, सामान्य मार्ग, विशेष मार्ग र अन्य गरी चार भागमा प्रकृतिअनुसार मुद्दा विभाजन गरी फैसला गरिएको छ । सरल मार्गअन्तर्गत छ महिनासम्म रहेका मुद्दा, सामान्य मार्गमा एक वर्षसम्म रहेका मुद्दा, विशेष मार्गमा १८ महिनासम्म रहेका मुद्दा पर्छ भने अन्यमा फैसला हुन १८ महिनाभन्दा बढी समय लाग्ने मुद्दा पर्छ ।

अदालतमा रहेका एक हजार दुई सय ९७ मुद्दामध्ये सरल मार्गका तीन सय ३४ मुद्दा फैसला भएको छ । सामान्य मार्गका पाँच सय ६५ मुद्दा, विशेष मार्गका दुई सय २४ मुद्दा र अन्य एक सय ७४ मुद्दा फैसला भएको हो ।

साथै सरल मार्गका छ सय ६२ मुद्दा, सामान्य मार्गका चार सय ८२ मुद्दा, विशेष मार्गका एक सय ९० मुद्दा र अन्य ९५ मुद्दा फैसला हुन बाँकी रहेको उनले जानकारी दिए । गत सोमबार एकै दिन चार न्यायाधीशबाट १५ वटा मुद्दा फैसला भएको बताइएको छ ।

त्यसदिन ५६ वटा मुद्दाको पेशी भएकोमा २७ वटामा आदेश जारी भएको र १२ वटा मुद्दा स्थगित गरिएको थियो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति चासो व्यक्त गरेका छन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आफ्नो अभिव्यक्तिप्रति चासो व्यक्त गरेको जानकारी दिएका हुन् ।

गत मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग लामिछानेले सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन राखिराख्नु औचित्य नभएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई टेलिफोन गरेर चासो राखेका हुन् । आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिबारे चासो राखेको लामिछानेले बताए ।

शुक्रबार शपथ ग्रहण समारोहमा उनले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए ।

थप १०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार १०३ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९२५ जनामा कोभिड परीक्षण गरिएको थियो । शुक्रबार देशभरका विभिन्न अस्पतालबाट ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यससँगै देशभर सक्रिय संक्रमितकाे संख्या ३७५ रहेकाे छन् ।

गुल्मीमा पछिल्लो समय बसाइँसराइ बढ्दो अवस्थामा

बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् । यस्तै अवस्थामा गुल्मीमा पनि छ ।

गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ । जिल्लाबाट गत वर्ष ०७९ वैशाख १ देखि चैत ८ गतेसम्म ११ महिनामा एक हजार चार सय एक परिवारका पाँच हजार तीन सय ४५ जनाले गाउँ छोडेका छन् ।

राष्ट्रिय पञ्जिकरण विभागका अनुसार जिल्लाका १२ पालिकामध्ये सबैभन्दा धेरै मुसीकोट नगरपालिका र सबैभन्दा कम इस्मा गाउँपालिकाबाट बसाइँसराइ गरेका छन् । नौ महिनामा मुसिकोटबाट एक सय ७५ परिवारका सात सय २२ एवं इस्माबाट ७२ परिवारका दुई सय ४८ जनाले गाउँ छाडेका छन् ।

त्यस्तै रेसुङ्गा नगरपालिकाबाट एक सय परिवारका तीन सय ४८, कालीगण्डकी गाउँपालिकाबाट एक सय चार परिवारका तीन सय ९४ जना, गुल्मीदरबार गाउँपालिकाबाट एक सय २२ परिवारका चार सय ८५ जनाले गाउँ छोडेको तथ्यांक छ ।

सत्यवती गाउँपालिकाबाट एक सय ५९ परिवारका पाँच सय ८१, चन्द्रकोट गाउँपालिकाबाट एक सय १८ परिवारका चार सय ५५, रुरुक्षेत्र गाउँपालिकाबाट एक सय १४ परिवारका चार सय १४, छत्रकोट गाउँपालिकाबाट एक सय ३७ परिवारका पाँच सय ३१, धुर्कोट गाउँपालिकाबाट एक सय एक परिवारका तीन सय ९१, मदाने गाउँपालिकाबाट एक सय ११ परिवारका चार सय ११ जना र मालिका गाउँपालिकाबाट ८७ परिवारका तीन सय ३१ जनाले गाउँ छाडेका छन् ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई टाई अनिवार्य नगर्न महानगरको पत्राचार

काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाई अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ ।

बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९-१२-२८ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाई अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री यादव 

पर्सा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको

बागलुङमा गर्भपतन गराउने बढे

गलकोट– बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले