कृषि र पर्यटनलाई जोडेर आवधिक योजना निर्माण « Khabarhub

कृषि र पर्यटनलाई जोडेर आवधिक योजना निर्माण


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिकाले नगरभित्र कम्तीमा १० वटा गौरवका आयोजना सञ्चालन गरेर आन्तरिक आय बढाउने र रोजगारी प्रवर्द्धन गर्ने लक्ष्यसहित आवधिक योजना बनाएको छ ।

पाँच वर्षका लागि बजेटसहितको कार्यक्रम र २० वर्षसम्मका दीर्घकालीन योजना समावेश गरेर योजना बनाइएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । 

नगरका धार्मिक तथा पर्यटकीय गन्तव्य जोड्ने कोरिडोर निर्माण गर्ने योजनामा उल्लेख छ । पर्यटन प्रवर्द्धन हुँदा स्वतः रोजगारीका अवसर सिर्जना हुने योजना बनाइएको हो ।

शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउने, शतप्रतिशत संस्थागत सुत्केरी गराउने, प्रत्येक वडामा आधारभूत सेवासहितका स्वास्थ्य संस्था स्थापना गर्ने एवं ५० शय्याको नगर अस्पताल र धौलागिरि अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजना छ ।

ग्रामीण क्षेत्रबाट बसाइँसराइ रोक्न पक्की नगर चक्रपथ निर्माण गरिने पनि योजनामा छ । यसअघिको चक्रपथले सबै वडा समावेश नगरेकाले बाहिरी चक्रपथको योजना अगाडि आएको हो । छिमेकी पर्वत, म्याग्दी र मुस्ताङलाई समेत समेट्ने पर्यटन मार्गसमेत बनाउने लक्ष यी योजनामा राखिएको छ ।

पर्यटन रुट निर्धारण गरेर प्याकेजमा लैजान सकेमा कृषि तथा गैरकृषि क्षेत्रको रोजगारी पनि बढ्ने नगरप्रमुख श्रेष्ठले बताए । होटल व्यवसाय, जीप तथा ट्याक्सी र कृषिको व्यावसायिकीकरणमा रोजगारी बढाउन सकिने उनको तर्क छ ।

यस योजनाले बीस वर्षसम्मको दीर्घकालीन योजना पनि अगाडि सारेको छ । त्यसमा कालीगण्डकी कोरिडोरले चीन र भारतको व्यवसाय गर्दा यहाँको बलेवा क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्ने योजना छ । 

त्यसका लागि अहिलेदेखिनै सडकका मापदण्ड निर्धारण, जग्गा व्यवस्थापन र यहाँको बलेवा विमानस्थल सञ्चालनका महत्वकांक्षी योजना छन् । 

कोरिडोरलाई आधार बनाएर ग्रामीण बस्तीमा आवासीय क्षेत्र बनाउन स्तरीय शाखा सडक निर्माण, पदमार्ग तथा धार्मिक र ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्धन गर्ने आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए ।

बागलुङ कालिका, शालग्राम सङ्ग्रहालय, पञ्चकोट, कुवेरधाम, मालिका हुँदै संसारकोटको धार्मिक पदमार्ग तथा सडक मार्ग बनाइने योजनामा उल्लेख छ । त्यस्तै प्रसिद्ध भैरवस्थान, भकुण्डे, सिगाना, बौद्ध गुम्बा हुँदै चापाखर्क जोड्ने अर्को पहाडी मार्ग बनाइने छ । 

हिमाली शृङ्खला हेर्दै पदयात्रा गर्ने यो मार्ग उपयोगी हुनेछ । यसअघि यो खण्डमा अमेरिकाका भेगन समूहले पनि भ्रमण गरेका छन् । पहाडी ट्रेकिङ  तथा पर्यटकीय दृष्टिले यो क्षेत्र उपयोगी भएको वडा नम्बर ८ का अध्यक्ष छमबहादुर कार्कीले बताए ।

आवधिक योजनामा एकीकृत तथा आवासीय विद्यालय बनाउने र गुणस्तर विकास गरी शैक्षिक गन्तव्य बनाउने लक्ष छ । चवालीस प्रतिशत मात्रै रहेको खाद्य सुरक्षा बढाएर ६० प्रतिशत पुर्‍याउने, तरकारी, मासु र अण्डामा आत्मनिर्भर नगर बनाउने तथा ढुङ्गाजन्य वस्तुको निकासी गर्न सक्ने बनाउने योजना छ । त्यसका लागि वस्तुपरक योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।

यी योजना सम्पन्न गर्न नगर तथा सङ्घीय सरकारको अनुदानमा आउने नियमित बजेट झण्डै १४ अर्ब खर्च हुनेछ । त्यसबाहेक केही पूर्वाधार र योजनामा निजी क्षेत्रको साझेदारी खोजिने योजनाको मोडल छ । 

गैरआवासीय नेपाली तथा ठूला व्यवसायीलाई लगानीमैत्री वातावरण बनाइदिने, सडक, खानेपानी र विद्युतीकरण गरेर उद्योग तथा व्यवसाय सञ्चालनमा साथ दिने योजनासहित ‘मेरो बागलुङ, समृद्ध र सुखी बागलुङ’ नारासमेत तय गरिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : ४३ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी