काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त भएको केही घण्टामै महाराष्ट्रस्थित आफ्नो गाउँतर्फ प्रस्थान गरेका छन् । शनिबार हजुरआमाको निधन भएपछि उनी शोकमा परेको आफ्नो परिवारसँग रहन गाउँ फर्किएका हुन् ।
प्रहरी हिरासतबाट छुटेपछि सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै दिप्केले दु:खको यस घडीमा परिवारको साथमा रहन गाउँ फर्किरहेको जानकारी गराएका छन् । गाउँ फर्किए पनि आफ्नो समूह पछाडि नहट्ने र कसैसँग नडराउने भन्दै उनले दृढता व्यक्त गरेका छन् ।
दिप्केका अनुसार सिजेपीका सह-संयोजकहरू सौरभ दास र आशुतोष राङ्काले चाँडै दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै पार्टीले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई अधिकारीहरूले रोकिदिएपछि दिप्केलाई नियन्त्रणमा लिइएको थियो ।
सामाजिक सञ्जाल ‘एक्स’ मा दिप्केले लेखेका छन्, ‘शोकको यस क्षणमा परिवारको साथमा रहन आफ्नो गाउँतर्फ जाँदैछु । सौरभ र आशुले चाँडै दिल्लीमा पत्रकार सम्मेलन सम्बोधन गर्नेछन् । सिजेपी न त पछि हट्नेछ न त डराउनेछ । अक्टोबर १० यस तानाशाहीको अन्त्यको सुरुवातका रूपमा दर्ज हुनेछ ।’














प्रतिक्रिया