नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै « Khabarhub

नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो । यो विधि कोजाग्रत रातमा गरिने परम्परा छ ।

सामान्यतया आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलाहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमाउन’ भन्ने गरिएको छ । यस अवसरमा दुलही पक्षका आफन्तले दुलहाका लागि वस्त्रआभूषण र मिष्ठान्न परिकार भेट गर्ने (उपहार दिने) पुरानो परम्परा रहेको पाका मैथिल बताउँछन् ।

कोजाग्रत पूर्णिमा दोषरहित र शुभ दिन मानिँदै आइएकाले पहिलो पटक घरजम सुरु गरेकी छोरी-चेलीका परिवारजनप्रति अहोभाव दर्शाउँन यो दिन रोजिएको हुनसक्ने मैथिली लोकपरम्पराका जानकारको भनाइ छ । 

दुर्गा पूजन सकिएलगत्तै दसैँ पर्वको कोसेली पुर्‍याउन र पर्वविशेषको भेटघाट गर्न पनि यो परम्परा चलाइएको हुनसक्ने संस्कृतिविद् जलेश्वर–६ का बासिन्दा पूर्वप्रशासक महेश्वर रायको भनाइ छ ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण र कायस्थ जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमाउन’ विधि पछिल्ला केही वर्षयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ । दुलही पक्षका आफन्तले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभुषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउन पर्ने दुलाहा पक्षको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्तिले बताए ।

भेटका लागि वस्त्र आभूषण, मिष्ठान्न परिकार, दही, मखान (तलाउको पानीमा फल्ने मिथिलाको एक फल विशेष)फलफुलसहित पचासभन्दा बढी भार ९सोली० लिएर दुलही पक्षका आफन्त दुलहा घर पुग्छन् । दुलही पक्षका आफन्तको लामो लावालस्करले विवाहकै झझल्को दिने र असाध्यै खर्चिलो हुने गरेबाट अब यो विधि टार्न गरिबलाई धौधौ पर्ने गरेको मैथिल ब्राह्मण नै बताउँछन् । विगतमा एक बिडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको परम्परा थेग्न अब भने घरखेत बेच्नपर्ने सम्मको स्थिति आएको भङ्गाहा–३ का ७० वर्षीय मैथिल ब्राह्मण चन्द्रकान्त झाले बताए ।

पिता, पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शन जस्तै बनेको हुँदा अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ३ : ४० बजे

एपिएफले जित्यो राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि

उदयपुर – जिल्लाको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा भएको राष्ट्रिय महिला

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्न थाल्यो

मुस्ताङ – चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन माग

काठमाडौं – नेकपा (एमाले)ले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा

निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन योङ

ट्रम्प मार्च अन्तिममा चीन जाने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्