विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

आज पुस १२ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सन् २०२५ सम्म संयुक्त आइएसएस उडान जारी राख्न रुस र नासा सहमत
रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीहरू कम्तीमा पनि सन् २०२५ सम्म अन्तर्राष्ट्रिय स्टेसन (आइएसएस)मा चालक दललाई पुर्याउनका लागि मिलेर काम गर्न सहमत भएको रुसी निगम रोस्कोस्मोसले बिहीबार बताएको छ ।

एउटै अन्तरिक्ष यानमा विभिन्न राष्ट्रियताका चालक दल सहभागी गराएर पठाइने कथित क्रस(फ्लाइटहरू समावेश भएको अन्तरिक्ष क्षेत्र रुसले युक्रेनमा सेना पठाएपछि मस्को र वासिङ्टनबीच सहयोगको एउटा दुर्लभ क्षेत्र हो ।

‘सन् २०२५ सम्म क्रस–फ्लाइट जारी राख्नेबारे सम्झौता भएको छ’, रोस्कोस्मोसले विज्ञप्तिमा भनेको छ, ‘यो निर्णय समग्ररूपमा आइएसएसको विश्वसनीयतालाई कायम राख्न लिइएको थियो, यसको उद्देश्य रुसी खण्डमा रोस्कोस्मोसको कम्तीमा एक प्रतिनिधिको उपस्थिति र अमेरिकी खण्डमा नासाको कम्तीमा एक प्रतिनिधिको उपस्थितिलाई ग्यारेन्टी गर्नु हो ।’

शीत युद्ध ‘स्पेस रेस’ पछि अमेरिका(रुस सहयोग बढेको समयमा सन् १९९८ मा आइएसएस सुरु गरिएको थियो । आइएसएसका साझेदारहरू अमेरिका, रुस, युरोप, क्यानाडा र जापान अहिले सन् २०२४ सम्म मात्र परिक्रमा प्रयोगशाला सञ्चालन गर्न प्रतिबद्ध छन् । यद्यपि अमेरिकी अधिकारीहरूले यसलाई सन् २०३० सम्म जारी राख्न चाहेको बताएका छन् ।

रुसले सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको प्रयोग गर्ने योजना बनाएको अप्रिलमा बताएको थियो । यो सन् २०२४ पछि परिक्रमा प्रयोगशाला छाड्ने रुसको पूर्वघोषणाको पूरै विपरीत हो ।

बंगलादेशमा पूर्ववायुसेना प्रमुख कारागार चलान
बङ्गलादेशको एक अदालतले आगामी महिना हुने निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षीहरूलाई दोषी ठहर गर्ने पछिल्लो कदममा बिहीबार पूर्ववायुसेना प्रमुख र एक पूर्वमन्त्रीलाई कारागारको सजाय सुनाएको छ ।

सन् १९९५ सम्म वायुसेनाको नेतृत्व गर्ने अल्ताफ हुसेन प्रधानमन्त्री हसिनाको सत्तारूढ अवामी लिगको प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० मा सामेल भएका छन् । सन् २०११ मा हिंसात्मक विरोध प्रदर्शनलाई उक्साएको आरोपमा ढाकाको अदालतले कारागार पठाएका आठ जनामा हुसेन र बिएनपीका पूर्वजलमन्त्री हफिजुद्दिन अहमद थिए । उक्त प्रदर्शनमा बिएनपीका समर्थकहरूले कारहरूमा आगजनी गरेका थिए ।

मुख्य अभियोजक अब्दुल्ला अबुले भने, ‘उहाँहरूलाई २१–२१ महिनाको कारागारको सजाय सुनाइएको छ।’ विपक्षीले अदालतमाथि आगामी जनवरी ७ को निर्वाचनअघि प्रधानमन्त्री हसिनाका विरोधीहरूलाई कारागारमा हाल्न सरकारी निर्देशनहरूको पालना गरेको आरोप लगाएको छ र मुद्दालाई ‘आधारहीन, झुटो र मनगढन्ते’ भन्दै अस्वीकार गरेको छ ।

निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने भन्दै बिएनपी र मुलुकको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामीले दर्जनौँ साना दलहरूसँग मिलेर निर्वाचनलाई बहिष्कार गर्दैछन् । दुवै दलले प्रधानमन्त्री हसिनाको राजीनामा र निर्वाचनको निरीक्षण गर्न तटस्थ कार्यवाहक सरकार गठनको माग गर्दै यस वर्ष ठूलो विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

बिएनपीका अनुसार सेप्टेम्बरदेखि बंगलादेशमा उसका सम्पूर्ण वरिष्ठ नेतृत्वसहित विपक्षी दलहरूका २५ हजारभन्दा बढी सदस्यलाई गिरफ्तार गरिएको छ । यद्यपि हसिना सरकारले उक्त आँकडालाई अस्वीकार गर्दै ११ हजारलाई मात्र हिरासतमा लिइएको बताएको छ ।

‘अहिलेसम्म तल्लो अदालतहरूले पछिल्ला तीन महिनामा कम्तीमा एक हजार पाँच सय ६१ बिएनपी कार्यकर्ता र नेतालाई दोषी ठहर गर्दै सजाय सुनाएका छन्’, बिएनपीका कानूनी मामिलाप्रमुख केसर कमालले भने, ‘यीमध्ये केही अदालतले सरकारको आदेशमा विपक्षी नेता तथा कार्यकर्तालाई लक्षित गरी राजनीतिकरूपमा प्रेरित फैसला सुनाएका छन् ।’

मुख्य अभियोजक अबुले कमालको आरोपलाई अस्वीकार गर्दै मुद्दा चलाइएका र सजाय सुनाइएका व्यक्तिहरूविरुद्ध स्पष्ट प्रमाण रहेको बताए ।

सन् २००९ मा प्रधानमन्त्री पदमा फर्किएपछि तीव्ररूपमा विकास भएको तयारी पोशाक निर्यात उद्योगको बलमा हसिनाले अभूतपूर्व आर्थिक वृद्धिको नेतृत्व गरेका छन् । यद्यपि विरोधीहरूले हसिनाले कठोर शासन गरेको र उहाँको सुरक्षा बलले व्यापकमात्रामा मानवअधिकारको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

लाइबेरियामा इन्धन ट्यांकर दुर्घटना, ४० भन्दा बढीको मृत्यु
मध्य लाइबेरियामा इन्धन बोकेको ट्यांकर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँका प्रमुख चिकित्सा अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् ।

राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्यांकर बुधबार दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो । त्यसपछि चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए ।

चिकित्सक फ्रान्सिस कातेहले भने, ‘पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । घटनास्थलमा देखिएका जलेका मानवीय अवशेष हेर्दा यो सङ्ख्या अहिले जानकारीमा आएकोभन्दा केही बढी हुन सक्छ ।

युरोपेली आयोगका पूर्वप्रमुख डेलोर्सको निधन
युरोपेली आयोगका पूर्व प्रमुख तथा युरोपेली सङ्घको ऐतिहासिक एकल मुद्रा परियोजना स्थापना कर्ता व्यक्तित्व ज्याक डेलोर्सको ९८ वर्षको उमेरमा निधन भएको अल जजीराले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार पेरिसमा आफ्नै घरमा राति सुतिरहेको अवस्थामा मृत्यु भएको हो । डेलर्सले सन् १९८५(०९४ को अन्त्यसम्म तीन कार्यकालका लागि युरोपेली आयोगको अध्यक्षको रूपमा सेवा गरेका थिए।

युरोपेली आयोग प्रमुखको रूपमा डेलोर्सको कार्यकालको दशकमा इयूले आफ्नो एकीकृत एकल बजार प्रवर्द्धन गर्दै एकल मुद्रा युरो लागू गरेको थियो ।

फ्रान्सेली राजनीतिको एक प्रमुख व्यक्तित्व, डेलोर्सले सन् १९८१ देखि सन् १९८४ सम्म राष्ट्रपति फ्रान्कोइस मिटर्रान्डको नेतृत्वमा अर्थमन्त्रीको रूपमा पनि काम गरेका थिए ।

फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँले इयूका पूर्व नेतालाई युरोपको अतुलनीय वास्तुकार र मानव न्यायका लागि लडाकुको रूपमा सम्झँदै उनीप्रति अन्तिम सम्मान व्यक्त गरेका छन् ।

बेइजिङमा आगलागी हुँदा चारको मृत्यु, पाँच घाइते
बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहीबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

उनीहरूका अनुसार घाइतेहरूको उपचार भइरहेको छ ।

विद्युतीय साइकलबाट आगलागी सुरू भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । बिहान ३ः४३ मा आगो नियन्त्रणमा लिई ५४ जनालाई उद्धार गरेको चायोयाङ जिल्लाको दमकल विभागले जनाएको छ ।

इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना
इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ ।

आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार साँझ एलियाड बस्तीको दक्षिणमा खसालिएको थियो ।

इरान समर्थक सशस्त्र समूहहरूको कमजोर समूह इस्लामिक रेजिस्टेन्स इन इराकले वक्तव्य जारी गर्दै एलियाडको दक्षिणमा रहेको ‘महत्वपूर्ण लक्ष्य’ मा ‘उपयुक्त हतियार’ प्रहार गरेको जनाएको छ ।

इजरायलले अक्टोबर ७ मा एक हजार १४० जनाको ज्यान जाने गरी भएको रक्तपातपूर्ण आक्रमणको बदलामा हमासलाई नष्ट गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार इजरायलको बमबारी र स्थलआक्रमणमा परी कम्तीमा २१ हजार ११० जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

गाजामा युद्ध सुरु भएदेखि इराकमा इस्लामिक रेजिस्टेन्सले इराक र सिरियामा अमेरिकी र अन्तर्राष्ट्रिय गठबन्धन सेनाविरुद्ध भएका थुप्रै आक्रमणको जिम्मेवारी लिएको छ ।

वासिङ्टनले अक्टोबर १७ यता इराक र सिरियामा आफ्ना सेनाविरुद्ध १०३ वटा आक्रमण गरेको अमेरिकी सेनाका एक अधिकारीले बताएका छन् ।

कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु
कंगोमा बाढी पहिरोमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार रातिदेखि परेको भारी वर्षापछिको बाढीमा परी ४० जनाको मृत्यु भएको हो ।

उक्त बाढीपहिरोमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्।

यसअघि मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ५९ बजे

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए