धनकुटा भागदौडका प्रत्यक्षदर्शी भन्छन्- ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’ | Khabarhub Khabarhub

धनकुटा भागदौडका प्रत्यक्षदर्शी भन्छन्- ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो ।

गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड निन्त्रण गर्न हम्मे भयो । तर्साउन प्रहरीले लाठी चार्ज ग¥यो । भीड झन् आक्रोशित हुँदै गेटतिर बढ्यो । अगाडिको समस्या पछाडिका मान्छेलाई थाहा थिएन । पछाडिबाट भीडले ठेल्दै ल्याउँदा अगाडि रहेका मान्छे च्यापिएर घाइते भए ।

यो उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको धनकुटा महोत्सवको आठौँ दिनको दृश्य हो । भीड नियन्त्रण गर्न नसक्दा भएको भागदौडमा बालबालिकासहित ३१ जना घाइते भएका छन् । सोह्र जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ । सोह्रमध्ये नौ जनाको हाल पनि उपचार भइरहेको छ भने अन्यलाई उपचारपछि घर पठाइएको छ ।

धनकुटा–५ का विष्णु राईका छ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेका करिब तीन वर्षीय बच्चालाई विराटनगर लगिएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि उनीहरुलाई विराटनगर लगिएको हो । उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य भने स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

धनकुटा–७ अस्पताल अगाडिकी रुशा राई परिवारसहित महोत्सव गएकी थिइन् । उनकी २२ वर्षीया बहिनी अनिशा राई साथीहरूसँग एक घण्टा अगाडि महोत्सव पुगेकी थिइन् । उक्त समयमा अगाडि रहेकी अनिशालाई अचेत अवस्थामा भीडमा परिवारले भेटे । रुशा र उनका बुबा प्रदीप भीड छिचोल्दै भित्तामा छेउ लागेर बालबाल बचेको सुनाउँछन् । “एक मिनेट हामी ढिला गरेका भए हामी सबैको हालत उस्तै हुने थियो । भित्तामा छेउ लागेर बच्यौँ । कसरी यस्तो अवस्था भयो केही थाहा भएन । हामी कसरी बच्यौँ थाहा छैन । भीडबाट बहिनीलाई खोज्दै गर्दा बेहोस अवस्थामा लडेको भेटेर बाहिर निकाल्यौँ”, रुशाले भनिन् ।

शनिबार राति उपचारका लागि धरान ल्याइएकी अनिशाकी दिदी–बहिनी प्रतिष्ठानमा उपचाररत छन् । बहिनीको आज बिहानमात्र होस खुलेको उनले बताइन् । अनिशाको अनुहार पूरै कालो भएको छ । पानी पेट र ढाड दुखिरहेको उनले बताइन् । अनिशासँगै अन्य आठ जनाको विपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

उपचारका क्रममा चिकित्सकले समय नदिएको उनीहरूको गुनासो छ । आयोजक संस्थाबाट आइतबार बिहान आएर बिरामीको अवस्था बुझे पनि उपचारका लागि अस्पतालसँग कुनै कुरा नगरेको रुशाले गुनासो गरिन् । “बहिनीको १२ जना साथी थिए, उनीहरू सबै बचेछन् तर बहिनी भने भीडमा च्यापिएर घाइते अवस्थामा भेट्यौँ”, बिपी प्रतिष्ठानमा रहेकी रुशाले भनिन्, “धन्य समयमा भेटेर बहिनीलाई बचाउन सफल भयौँ । एकछिन नभेटेको भए बहिनीलाई कुल्चिएर भीडले मार्ने थियो ।”

प्रतिष्ठानस्थित प्रहरी पोष्टका प्रहरी जवान रुपेशकुमार यादवका अनुसार नौ जनाको उपचार भइरहेको छ र घाइतेको अवस्था सुधारोन्मुख छ । चौध वर्षमुनिका सबै डिस्चार्ज भएको उनले बताए ।

यसैबीच उद्योग वाणिज्य सङ्घ धनकुटाले आइतबार साँझ नै पत्रकार सम्मेलन गरी घटना र घाइतेको अवस्थाबारे जानकारी गराएको छ । सङ्घले घटनाप्रति दुःखसमेत व्यक्त गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले पनि घाइतेलाई प्रतिष्ठानमा पुगेर भेटेकी छिन् ।

धनकुटामा यही माघ ६ गतेदेखि चलेको महोत्सवमा शनिबार साँझ गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुती राखिएको थियो । उक्त प्रस्तुती हेर्न पुगेका दर्शकको भीड नियन्त्रणभन्दा बाहिर गएपछि भागदौड मच्चिएको थियो । गायक खरेलेको प्रस्तुतिभन्दा पनि धेरैले स्कुटी उपहार रहेको हाउजिङको टिकट काटेका कारण भीड अत्यधिक भएको आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । मैदानको क्षमताभन्दा बढी मानिस भेला भएका थिए । गेटबाटभित्र छिरेपछि घटना भएको भए झन् बढी क्षति हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ५२ बजे

नेपाल-भारत सीमा नाका बन्द हुने

बैतडी– भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

महेन्द्रनगर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

धनुषा– वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न

कालो नम्बर प्लेटभन्दा बाहिर राइड शेयरिङ गर्नुहुन्न : अध्यक्ष खनाल

काठमाडौं– सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनालले कालो