आज दिनभर बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धनको निर्णय, द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सभामुखको ध्यानाकर्षण, गठबन्धनको साझा उम्मेदवार बन्दै उपेन्द्र, न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि, थप ३४ जनामा कोरोना संक्रमण, प्रहरी परिसरमै चिनियाँ नागरिकको नाराबाजीलगायत समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू :
सत्तारुठ गठबन्धनको बैठक : बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय
सत्तारुठ गठबन्धनको बैठकले बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाका विषयमा लगभग सहमति जुटेपनि कुन दललाई कुन मन्त्रालय दिनेबारे अझै टुंगो लाग्न नसकेको बताइएको छ ।
बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने जानकारी दिए ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सभामुखको ध्यानाकर्षण
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेर द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका हुन् । सरकारले संसदमा प्रस्तुत गरेका संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक एकपक्षीय भएको उनीहरुको आरोप छ ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको माग सम्बोधन नहुनेगरी सरकारले एकपक्षीय रुपमा विधेयक ल्याएको उनीहरुको भनाइ छ ।
उनीहरुले द्वन्द्वपीडितलाई संक्रमणकालीन न्यायको सिद्धान्तबमोजिम सकेसम्म चाँडो न्याय दिनेगरी कानूनमा परिवर्तन गर्न पनि सभामुखसमक्ष माग गरेका छन् ।
अर्थतन्त्र जोगाउन वाणिज्यदूतको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडलले देशको अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा राष्ट्रपतिले अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले भने, ‘वाणिज्यदूतहरुले नेपालको अर्थतन्त्र जोगाउन ठूलो भूमिका खेल्नुभएको छ । अर्थतन्त्रलाई अझ सबल बनाउन लाग्नुपर्छ ।’
वाणिज्यदूतहरुलाई राष्ट्रपतिले अर्थतन्त्रलाई माथि उठाउन आवश्यक पहल चाल्न सुझाव दिएका थिए । वाणिज्यदूतहरुले नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
राजेन्द्र लिङ्देनको प्रश्न : गणतन्त्रमा कसैलाई राजावादी हुने छुट छैन ?
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई अधिकार छैन भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार आफ्ना प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि दुर्व्यवहार भएको भन्दै घोर भर्त्सना गरे ।
मंगलबार मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन जाने क्रममा प्रमुख सचेतक शाहीमाथि दुर्व्यवहार भएको भन्दै उनले यसप्रति घोर भर्त्सना गर्दै नागरिकलाई राजावादी हुने छुट नभएको हो भन्दै प्रश्न गरे ।
‘सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यवहार गर्ने प्रयास गरियो त्यसको म भर्त्सना गर्दछु’ उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? ’
मिटरब्याजी पीडितको समस्या समाधान गर्न माग गर्दै उनले यसलाई ढाकछोप नगर्न पनि आग्रह गरे ।
एक दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छन् । रिपोर्टर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एक दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन् ।
उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन् । सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्याउन संसद्मा विधेयक गइसकेको बताइन् ।
‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पुर्याउन सरकार लागिरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ ।’ मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेर मात्र निर्णय गर्ने जानकारी दिइन् । उनले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानून बनाउनेसमेत बताइन् ।
गठबन्धनको साझा उम्मेदवार बन्दै उपेन्द्र
जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् ।
यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित यादव उपचुनाव जितेर संसदमा आउने तयारीमा छन्। उनले अबको केही दिनमै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने उनको रणनीति छ।
उनीसँग भिड्न नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर बुधबार उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो जित निश्चित रहेको बताए।
गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुशवाहा बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।
यसपटक माओवादी केन्द्रले यादवलाई सघाउने भए पछि कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर चुनावमा होमिएका हुन्।
आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आज काठमाडौँमा सुरु हुँदैछ।
काठमाडौँ महानगरको आयोजनामा सुरु हुन लागेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान साढे १० बजे सुरु हुने सम्मेलनमा देशभरका साढे चार सय पालिकाले सहभागी जनाउने बताइएको छ।
स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाई विकास गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो।
सम्मेलनमा न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलन विषयमा पाँच वटा कार्यपत्र प्रस्तुत हुने काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।
छलफल भएका विषयलाई समेटेर विवाद निरुपण काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन भोलि सकिनेछ ।
सरकारले दिएको इन्डक्सन चुलोले विद्यार्थीलाई राहत
नेपाल सरकारले जेहेन्दार तथा दुर्गम क्षेत्रबाट काठमाडौँ आएर भाडामा बसेका सरकारी तथा सामुदायिक शिक्षण संस्थामा स्नातक तथा स्नातकोत्तर तहका अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर इन्डक्सन चुलो वितरण गरेको छ ।
नेपाल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नयाँ बानेश्वरमा उक्त इन्डक्सन चुलो माघ २० गते विद्यार्थीलाइ दिएको थियो ।
अहिले देशमा आर्थिक मन्दी र तरलताको अभाव भइरहेको बेला ग्यासको भाउ आकासिँदा विद्युतीय चुलोको प्रयोगले विद्यार्थीको जीवनमा निकै परिवर्तन आएको छ ।
सरकारले छात्रवृत्ति स्वरुप दिएको यो इलेक्ट्रोनिक चुलो काठमाडौँ उपत्यकामा निकै प्रभावकारी बनेको छ ।
यसरी सरकारले नै निःशुल्क दिएको विद्युतीय चुलोले विद्यार्थीमा उत्साह र हौसला र राज्यद्वारा अभिभावकत्व निर्वाह गरेको भान विद्यार्थीहरुमा पर्न गएको छ ।
‘सरकारले दिएको यो चुलोले हाम्रो ग्यासको पैसा बचाएको छ अब यो पैसा पढाइको काममा लगाउन सकिने भयो ।’ कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी कुशुम गौतमले भनिन्, ‘यो चुलोले हामीजस्तो गाउँबाट आएर भाडामा बस्नेको लागि सजिलो भएको छ ।’
विद्यार्थीको आवश्यकतालाई बुझेर छात्रवृत्तिमा सरकारले विद्युतीय चुलो दिन थालेको हो ।
‘अहिलेको परिस्थितिअनुसार, समयको मागअनुसार विद्युतीय चुलो पाएका छौँ । यो गौरवको कुरा हो ।’ सोही क्याम्पसमा अध्ययनरत अर्का विद्यार्थी प्रेमराज रेग्मीले बताए ।
साथै अन्य विद्यार्थीहरु अर्चना केसी, अञ्जली बस्नेत लगायतले पनि इन्डक्सन चुलो पाएकोमा सरकार तथा विद्युत प्राधिकरणलाई धन्यवाद दिएका छन् ।
अहिलेको अवस्थामा चारैतिर महङ्गी बढिरहेको अवस्थामा इन्डक्सन चुलोबाट विद्यार्थीले राहतको महसुस गरेका छन् ।
काठमाडौँ उपत्यकाका २ हजार ८ सय ६५ जनालाई इन्डक्सन चुलो दिइएको छ ।
विभिन्न दुर्गम जिल्लाबाट काठमाडौँमा आएर पढ्नेको लागि राज्यले दिएको यो सहयोग निकै महत्वपूर्ण रहेको लाभग्राहीले जनाएका छन् ।
थप ३४ जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थियो ।
प्रहरी परिसरमै चिनियाँ नागरिकको नाराबाजी
साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले प्रहरी कार्यालयमै नाराबाजी गरेका छन् । बुधबार पक्राउ परेका १९ जनामध्ये ९ जना चिनियाँ नागरिक थिए । साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले बानेश्वरस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको परिसरमा नाराबाजी गरेका हुन् ।
बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरूलाई सञ्चारकर्मीमाझ सार्वजनिक गरेको थियो । चिनियाँ नागरिकले नाराबाजी मात्र गरेनन् तस्वीर खिच्न खोज्नेलाई समेत दुर्व्यवहार गरेका थिए ।
पक्राउ परेर हतकडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार देखिएको प्रहरीले जनाएको छ । ह्वाट्सएपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै यो गिरोहले नेपाली नागरिकलाई ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले बताए ।
ह्वाट्सएपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गरेको भेटिएको उनले जानकारी दिए । ‘पैसा हालेपछि सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ । यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया