बेसहारा ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ विराट महायज्ञ सुरु « Khabarhub

बेसहारा ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ विराट महायज्ञ सुरु


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनाथ, असहाय, बेसहारा नागरिकलाई निःशुल्क गाँस, बास र कपास उपलब्ध गराउने उद्देश्यले आश्रम निर्माणार्थ चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापमा विराट महायज्ञ सुरु भएको छ ।

ताथलीस्थित छापमा सञ्चालनमा आएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’मा आजदेखि सुरु भएको श्रीमद्भागवत् पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० मा एक हजार आठ कलशयात्रा गरी महायज्ञको सुरु गरिएको हो । बाजागाजा र सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कलशयात्रामा सहभागी दुई हजारभन्दा बढी नागरिक नगरपालिकाका विभिन्न क्षेत्रको भ्रमण गरी पुनः महायज्ञस्थलमा भेला भएको थियो ।

देशभरका बेसहारा, पीडित, दुःखी, अनाथ, असहाय, अपाङ्ग, निमुखा तथा आधारभूत आवश्यकताबाट बञ्चित ज्येष्ठ नागरिकका लागि विशाल आश्रम निर्माणको गर्ने उद्देश्यले १७ दिने विराट ज्ञान महायज्ञ लगाइएको छोरीको घर ज्येष्ठ नागरिक आश्रमका प्रमुख बालयोगेश्वर विजयमूर्ति महाराजश्रीले जानकारी दिए ।

ज्येष्ठ नागरिकका लागि विशाल आश्रम निर्माण गर्न जमिन खरिद प्रक्रियासमेत सुरु गर्दै आश्रमका लागि तीन रोपनी जग्गा खरिदका लागि रु ५० लाख बैना दिइसकेको र महायज्ञबाट सङ्कलित रकमबाट बाँकी रकम दिएर महायज्ञस्थलमै बृहत् आश्रम निर्माण गरी स्थानीय सरकारको रोहबरमा सञ्चालन गरिने उनले बताए ।

ज्येष्ठ नागरिक आश्रमस्थल, बृहत् आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, सन्त निवास, ज्येष्ठ नागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न उत्पादन, बगैँचा क्षेत्र तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने बृहत् योजनासहित महायज्ञ सञ्चालन गरिएको हो ।

महायज्ञका प्रमुख विजयमूर्ति महाराजले महायज्ञ अवधिभर दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त सन्त महात्मा, विद्वान विदूषी, प्रसिद्ध कथा वाचक, धार्मिक प्रवचन, विभिन्न वाचक, वाचिकाका मुखारविन्दुबाट कथा वाचन हुने जानकारी दिए । महायज्ञ सुरु हुनुपूर्व मोटरसाइकल र्याली, सरसफाइ, प्रचार–प्रसार, महायज्ञस्थल र आसपासका क्षेत्रमा दीप प्रज्वलन गरिएको थियो ।

सत्र दिनसम्म सञ्चालन हुने महायज्ञमा प्रसिद्ध कथा वाचिकाद्वय गरिमा उपाध्याय र उमा महेश्वरीले कथा वाचन गर्नेछन् । आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं चर्चित श्रीमद्भागवत् वाचक बालयोगेश्वर विजयमूर्ति महाराजले महायज्ञ ऐतिहासिक हुने तथा भक्तपुरलाई चिनाउने दाबी गर्दै महायज्ञमा श्रीमद्भागवतका कथाका अतिरिक्त स्वदेश तथा विदेशबाट आएका प्रतिष्ठित विद्वानले प्रवचन दिने बताए ।

महायज्ञका अवसरमा पाँच सयभन्दा बढी बाल कन्याको पूजन, एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान, विशिष्ट एवं दानवीरको अभिनन्दन, सयौँ जनाको सामूहिक तुलादान, एक सय आठ गौमाताको दूध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गरिने छ ।

प्रत्येक दिन राष्ट्रियस्तरका राजनेता र कलाकारको उपस्थिति रहने महायज्ञमा रात्रिको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति र पहिचान झल्कने सांस्कृतिक झाँकी, देश–विदेशका ख्यातिप्राप्त सन्त, महात्मा, धर्मगुरुको प्रवचन हुनेछ ।

महायज्ञमा पाँच लाखभन्दा बढी भक्तजनको उपस्थिति हुने र रु पाँच करोड आर्थिक सहयोग सङ्कलन हुने अनुमान गरिएको उनले जानकारी दिए । महायज्ञमा दैनिक पाँच हजार भक्तजनलाई निःशुल्क प्रसाद वितरण गरिने छ ।

महायज्ञ सफल बनाउन एक सय आठ सदस्यीय मूल आयोजक समिति र स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा एक हजार आठ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति गठन गरिएको छ । हाल ३० जना अट्ने क्षमता रहेको आश्रमको क्षमता वृद्धि गरी एक सय जनासम्म बस्न सक्ने आश्रम निर्माण गरिने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : ५३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु