कांग्रेस पदाधिकारी बैठकमा सुटुक्कै छिर्‍यो तेस्रो एजेण्डा | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठकमा सुटुक्कै छिर्‍यो तेस्रो एजेण्डा



काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्यो । बैठक मुख्यगरी दुई एजेण्डामा केन्द्रित थियो ।

पहिलो- नीति अधिवेशका रुपमा हेरिएको आसन्न महासमिति बैठक । र, दोस्रो- सरकारमा सहभागी मन्त्रीको कामको समीक्षा ।

तर, पूर्वयोजनाविनै बैठकमा तेस्रो एजेण्डा घुस्यो– धर्मनिरपेक्षताबारे सभापति देउवाको अभिव्यक्ति लगायत समसामयिक विषय । अन्ततः यो तेस्रो एजेण्डामा पनि अनौपचारिक छलफल भएको कांग्रेस नेताले खबरहबलाई जानकारी दिए ।

महासमिति बैठकको विषयमा के भयो ?

कांग्रेस पदाधिकारी बैठकमा पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीबारे छलफल भएको प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले बताए ।

बैठकपछि महतले भने, ‘महासमितिको बैठकमा जनसरोकारको विषय र राष्ट्रिय महत्वको विषयलाई कसरी प्रस्तुत गराउने र छलफल गराउने भन्नेबारे भयो । अब कार्यसम्पादन समिति, केन्द्रीय समितिको बैठक बसेर सुझाव दिन्छ ।’

व्यवस्थाविरुद्ध भइरहेका गतिविधिमा कांग्रेसको धारणा

पछिल्लो समय भइरहेका व्यवस्था विरोधी गतिविधि र सोमबार नवलपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले धर्मनिरपेक्षताका विषयमा बोलेको विषयका कारण यसलाई धेरैले चासोका रुपमा हेरेका थिए । देउवा निवासमा उपस्थित पत्रकारहरुले पनि यो विषयमा चासो राखे ।

तर, प्रवक्ता तथा अर्थमन्त्री महतले यसलाई घुमाउरो तवरले उत्तर दिँदै भने ‘कांग्रेस लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी शासनमा विश्वास गर्छ । कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासप्रति पार्टी लागेको छ।’

महतले थपे ‘पछिल्लो समय प्रणालीमाथि प्रश्न उठेका छन् । यसमा प्रश्न उठाउने लक्ष्यका साथ अनेकौं बहानाबाजी गरेर कमजोर गर्ने कोसिस विभिन्न कोणबाट प्रकट भएकै छ । तर, जनताबाट स्थापित भएको व्यवस्था यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ । विविध कारणले कुनै समस्याहरु आउन सक्छन् ।’

महतको जवाफमा चित्त नबुझाएका पत्रकारहरु पार्टीका सूचना तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माप्रति सोझिए । विश्वकर्माले सभापतिको धारणा ब्यक्तिगत भएको बताए ।

उनले भने, ‘कुनै एउटा सम्मेलनमा जाँदा उपस्थित आम नागरिकको धारणालाई आत्मसाथ गरेर बोलेको कुरामा पार्टीमा छलफल भएन । यो विषय पार्टी सभापतिले उठाउनुभएन र पार्टीको एजेण्डा पनि बन्दैन ।’

पछिल्लो समय भइरहेका व्यवस्थाविरोधी गतिविधिप्रति पार्टी सचेत रहेको बताउँदै विश्वकर्माले भने, ‘यो पार्टीमा औपचारिक छलफलको विषय बनेन । अनौपचारिक छलफल भयो तर, व्यवस्था विरोधी गतिविधिप्रति पार्टी सचेत छ ।’

मन्त्रीको कामको समीक्षा

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले पार्टीका मन्त्रीहरुबाट अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

सरकारमा सहभागी मन्त्रीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रीहरुको प्रगतिबारे जानकारी गराएका थिए । मन्त्रीहरुलाई सुझाव दिनका लागि कांग्रेसले केन्द्रीय समिति बैठकमा उपस्थित गराउने निर्णय गरेको छ ।

आफ्नै सरकारलाई ध्यानाकर्षण !

कांग्रेस बैठकले जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण समेत गराएको छ । रकम पठाइसकेको तर स्थानीयको हातमा नपुगेकामा आफूहरु गम्भीर रहेको उपप्रधान तथा रक्षामन्त्री र अर्थमन्त्रीले बैठकमा बताएकोे विश्वकर्माले सुनाए ।

सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको ५० हजार एकैपटक दिन सरकारसँग कांग्रेसले माग गरेको उनले बताए ।

यो पनि…

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : ०० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि