शहीदका सपना अधुरै छन् | Khabarhub Khabarhub

शहीदका सपना अधुरै छन्

शहीद दिवस



देशले हरेक वर्ष माघ दोस्रो सातालाई शहीदको सम्मान गर्दै शहीद सप्ताह मनाउने गरेको छ। शहीदहरु शालिकमा परिणत भएको सात दशकमा देशमा सात वटा संविधान त्यो पनि संसारकै महंगो संंविधान आए पनि शहीद लगायत अन्य सबैका सपना अधुरा छन्। धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल, दशरथ चन्ददेखि ज्ञात अज्ञात सबैका नाममा उनीहरुप्रति समर्र्पित हुने त गर्छौ। तर देशका लागि बलिदान गर्ने उनीहरुको सपना धेरै अधुरै रहँदा वितृष्णाले जरो गाडेको छ। देशमा नितान्त नौलो सरकार बनेको छ, अहिले सरकार बनेको तीस दिनमै गृहमन्त्रीको नागरिकता विवादले देशैभर सनसनी छाएको छ। उनले राजीनामा पनि दिइसकेका छन्। राजीनामा गरेको दुई दिनपछि नै नागरिकता प्राप्त गरेर पार्टी सभापति चयन भइसकेका छन्। उनले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गृहमन्त्रीमा आफ्नो दाबी कायम रहेको बताएका छन्।

लोकतन्त्रको आदर्श, बहुदलीय प्रणालीकोभन्दा पृथक प्रकृतिले बनेको यसपालिको सरकारबाट नेपालीले धेरै चाहना राखेका छन्। ठूलो आशा गरिएको सरकारले पनि विगतकै स्वभाव देखाएको छ, अपराधी समात्न विज्ञप्ति प्रकाशित गर्ने नयाँ चलन आयो। भागबण्डाको क्रम रोकिएको छैन र राजनीतिकर्मीलाई देश भागबण्डामै सुम्पिएको छ। देशको भूगोललाई चिराचिरा पारी भागशान्तिमा मिलाउने गरी बाँडफाँड गर्ने उद्देश्य शहीदको होइन, शहीद जन्माउने नेपाल आमाको पनि होइन। हाम्रा पुर्खाले भने ‘सन्तानले डाँडाकाँडा ढाकून्’ तर हाम्रा डाँडा काँडा रित्तै छन् र पनि शहीदकै सपना गोर्खाली वीरताको इतिहासमा भने कमी आएको छैन।

विश्वमा दुई सय बढी देशहरु छन्। संयुक्त राष्ट्र सँघमा आवद्ध १९२ र अन्य एसोसियट सदस्य समेत छन्। नेपाली संसारभरि पैmलिएकै कारणले हो १५८ देशबाट त हामीलाई विप्रेषण रकम नै आउने गरेको छ। ११० वटा देशसँग त वैदेशिक रोजगारीका लागि हाम्रो सम्झौता नै भएको छ। यसबाट स्पष्ट हुन्छ रगत बेचेर भए पनि नेपाल र नेपालीको गौरव संसारभर नै छरिएको छ।

विगतमा देशले आफ्नो उत्पादनको क्षमता देखाएको हो। जल, जमिन, जडीबुटी, जंगलको छुट्टै पहिचान बोकेको नेपालको मौलिक इतिहास छ। हाल अधिकांश हाम्रो दैनिकी आयातमा परनिर्भर छ, अफ सिजनमा रासायनिक मल आइपुगेको हल्ला गरिँदैछ। व्यवस्थित कृषि प्रणाली, कृषि उत्पादनमा वृद्धि, फस्टाउदो पशुपालनले गर्दा नेपालको इतिहास गौरवान्वित थियो। प्राकृतिक सुन्दरता, हराभरा दृश्य, शान्त र विशाल अनि सौम्य भावनाले नेपाली शिर उचो छ। हिमाच्छादित शिखर, ठाउँठाउँमा रहेका तालतलैया, टार र उपत्यका, चुरे क्षेत्र, विशाल मैदानी तराई भाग, थरिथरिका वनस्पति र वनजन्य, औषधि, थरिथरिका चराचुरुंगी, पशु अन्य जीवजन्तुहरु हेर्दा अझै हामी आफ्नो पुर्खाको गौरव जोगाउन सक्छौं। आन्तरिक र बाह्य पर्यटन विकासले हामी हाम्रो आर्थिक विकास आफैं गर्न सक्छौं । तर अपराधिक गतिविधि कतिसम्मको क्रूर छ भन्ने कुरा हालै विद्युतीय धरापद्दारा धनी हुने नियतले अबोध गैँडालाई मारिएको छ।

निर्मलाको अपराधी पत्तो लागेको छैन, अन्य अपराध पनि देशमा कमी छैन। सूचना र संचार क्षेत्रमा केही प्रगति छ तर सरकारी र निजी क्षेत्रको कार्य–क्षमता, कार्यशैली, कर्मचारीतन्त्रको ढीलासुस्ती, सदाचार र सुशासनमा कमी, नकारात्मक सोंच, कुण्ठा, अविश्वास, सामाजिक संरचनामा खलल, समझदारीको अभाव हेर्दा नेपालको विकासको गोरेटो अझै अल्मलिएको देखिन्छ । दशकै पिच्छे सत्ता परिवर्तन र वर्षै पिच्छेको चुनावी नाराले मात्र देश समृद्धितर्फ अग्रसर नहुने र शहीदका सपना पनि पूरा नहुने देखिएको छ।

वालकृष्ण समले भनेका थिए ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’। मुलुकको राष्ट्रियता कमजोर भएको छ। सुगौलीको सन्धिपछि कायम भएको मेची महाकालीको भूगोलमा पनि धावा बोलिएको अवस्था छ अहिले, सीमा विवादको प्रसंग छ। भाइचाराको सम्बन्ध दक्षिण हाम्रो मितेरी साइनो मजबुत हुनु पर्ने हो। राष्ट्रियताको मियो राजनीतिमै हुन्छ। केही दशक यतादेखि राजनीति रंगकर्मीको थलो बनेको छ। भारतीय जमीन खासगरी दिल्ली सानोतिनो झरीमा पनि दिल्लीको छाता नओढी सुख छैन। हालकोँ राजनीतिक परिवेशको सुत्रपात बाह्रबुँदे सम्झौता दिल्लीमै भएको थियो। नेताहरुले उतै पढे, उतै हुर्के, उतै साथीभाइ बनाए। बस्उठ्, रहनसहन सबै उतैबाट सिकियो। निर्वासित हुँदा वा स्वतन्त्र जीवन यापन गर्दा, भाषा संस्कृतिले डोर्याएर होस् वा सामाजिक परिवेशले, आर्थिक लेनदेन बजार विविधीकरण या भनौं सबै परिवेशले नेपाल भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रहिआएको हो। उत्तरतिर भृकुटीको नामले दक्षिणतिर सीताको नामले प्रसिद्धि पाएको हो।

भूपरिवेष्ठित भूमिको कारण मात्र राष्ट्रियता कमजोर भएको भन्ने पक्कै होइन। राष्ट्रियता भन्नु भूगोल मात्रै होइन। मुटु पनि हो। माया विना मुटुको धड्कनको काम छैन, माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो। नेपाल अरुको उपनिवेशमा परेन तर आर्थिक औपनिवेशिकता, पर निर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियतालाई गल्र्याम गुर्लुम ढालेको छ। देशमा रोजगारी छैन। स्वेच्छा वा विवशताले नेपाली विदेशिएका छन्। आयातित सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौं। मुलुको राष्ट्रियतारुपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरुपी चार पाङ्ग्रा हुन जरुरी छ। भूमिमा पनि कहिल्यै टनकपुर र महाकाली सन्धिको, कहिले चाँदनी दोधाराको, कहिले लिपुलेक र नालापानीको, कहिले कोशी सम्झौताको, कहिले त्रिवेणी–सुस्ताको, कहिले मेचीपुल वरिपरिको सीमानाको समस्या छ।

मुलुक बहुआयामिक संस्कृतिको धनी छ। तर मुलुकभित्रको संस्कृतिमा धमिरा लागेको छ। एक अर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ। विदेशी सस्कृतिले बढी प्रश्रय पाउन थालेको छ। खानपिन, रहनसहन, भेषभुषा सबै विदेशीमय भएको छ। विदेशीले यहाँको मौलिक संस्कृतिलाई लोप गराई राष्ट्रियता माथि धावा बोलिरहेका छन्। उत्तर दक्षिणको दौडधूप, राजनीतिक चासो, सगरमाथाको कुरादेखि दक्षिणी मित्र, उत्तरी चासो र समुद्रपारिको सन्निकटता बढेको छ। आँखा आँखा जुधाई लिपुलेक बारे किन कुरा उठ्दैन ?
हो, देशमा लैगिंक र जातीय असमानतालाई हटाई भौगोलिक विकटता र आर्थिक असमानताको अन्त्य गरेपछि मात्र देश समृद्ध हुन्छ । राष्ट्रिय हित, राष्ट्रिय स्वार्थभन्दा कोही ठूलो हुन सक्तैन।

गणतन्त्र नेपालले धेरै राजनीतिक संयन्त्रमा फड्को मारेको छ। मुलुकको संरचना संघीय प्रणालीमा छ। तर यो प्रणाली बहुत खर्चिलो छ। विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धतिले पश्रय पाएको छ। जनतालाई सार्वभौम गराउनु पर्छ तर बोलीले मात्रै होइन, व्यवहारले पनि, तर सबैजसो काम बालुवाटार, खुमल्टार, बूढानीलकण्ठ र बालकोटबाटै हुने गरेको छ। मौलिक अधिकारको पुलिन्दा कागजमा लेखेरमात्र हुँदैन व्यवहारमा पनि हुनुपर्छ। भूकम्पमा थाल थापियो, कोरोनामा पनि, कहिले देशले थाल थापेन अतीतदेखि नै ? सडकको धूलो बढार्नदेखि निर्वाचनमा समेत थालै थापिएको त छ। नेताहरुको निहित स्वार्थभन्दा नीतिले नै सञ्चालित हुनुपर्ने हो मुलुक। सत्ताको शिखर सगरमाथा चढ्नु राम्रो हो तर सगरमाथामै स्थायी घर बनाएर बस्न खोज्नु नराम्रो हो।

नेपालमा एक किसिमको द्वन्द्व कायमै छ। राजनीतिक परिवर्तन पूरा भएको भनिए पनि आर्थिक समृद्धिको मार्गमा राज्य खुलेर लाग्न सकेन। दिगो विकास र समृद्धिका लागि मुलुकको आप्mनै चिनारी हुनुपर्छ। सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक छ, भन्ने एकथरि गर्ने अर्कै। बोलीमा स्थिरता, निरन्तरता छैन।

मानवमा चित्कार छ, कुण्ठा छ, बेमेल छ, विसंगती छ, बेचैनी छ, बेरोजगारी छ, वेवास्ता छ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ, पैसाको खेल छ, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरको उखान चरितार्थ छ। राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हावी छ सबैतिर। सबैतिर भागवण्डा र राजनीतिक रोजगारी छ। दलमा नमिसिएकालाई कुनै ठाउँ छैन। सबै कुरा खुला बजारमै बिक्री वितरण हुन थालेको छ। ज्ञानभन्दा कुर्सी शक्तिशाली छ, कामतिर भन्दा मामतिर, दामतिरको स्वार्थ छ। सबैलाई कृष्ण बन्ने हतारो, युधिष्ठिर होइन, यहाँ राम बन्ने हतारो छ, लक्ष्मण बन्ने होइन, सबैलाई कुवेर बन्ने, अध्यक्ष बन्ने, नेता नै बन्नु पर्ने हतार छ, नैतिक बन्नु परेन।

व्यक्ति एक हेर्दा मरुभूमिको कण हो, तर उसँग अथाह ज्ञान छ, अथाह ऊर्जाको स्रोत छ, विश्वमान चित्रमा मुलुक नेपाल सानो छ,। तर यसको सगरमाथा, यसले अंगालेको बुद्धभूमि, अपार जलस्रोतको भण्डार, अथाह प्राकृतिक स्रोत साधन, विविधताको भूगोल, हिमाल, पहाड, पर्वतीय शृङ्खला, महाभारतको लेक, उर्वर तराईको भूमि, प्रशस्त औद्योगिक सम्भावना, एकमात्र हिन्दुबाहुल्य संस्कृति, धर्म, संस्कार, मन्दिरै मन्दिरले सजिएको सौन्दर्य, यर्पटन उद्योगको बेजोड सम्भावना, सरल स्वभावका नागरिक, विश्वमै चिनिएको वीर गोर्खाली, नेपाली कहिल्यै उपनिवेशको छायामा नपरेको स्वाभिमानी जनता बहुभाषिक एकता, धर्म र संस्कृतिमा हुर्केको समाज, पाहुनालाई देवता सरहको व्यवहार गर्ने, साहित्यको धनी बेजोड नमुनाहरु छन् यो देशमा। युगौंयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालताको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै बसिरहेको, बहुमूल्य खनिज, हिमालको गर्भगृहमा सुन भएको देश हो यो ।

वन पैदावार, जडिबुटीको खानी हो, उपयोग, उत्खनन, उपभोग गर्न सकिएन। सँधै पाइने वस्तु पानीको प्रयोग पनि सही ढंगले गर्न नसक्दा न शुद्ध पिउने पानी छ यहाँ न खेतीपातीमा पर्याप्त सिँचाइ सुविधा। पानीबाट उत्पादन हुने विद्युतको संकट त्यस्तै छ, भारी इन्धन आयात गर्नुपर्ने अवस्था छ। हाम्रो बोलीमा सत्य भन्दा मित्थ्या धेरै, व्यवहारमा सत्यभन्दा झूठ धेरै छ। सबैको मतैक्यतामा आर्थिक समृद्धिमामात्र शहीदको सपना साकार हुनसक्छ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ३६ बजे

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

अछाम– अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने

भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ

अफगानिस्तान : जसले न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेश जस्ता बलिया टोलीलाई ढाल्यो

एजेन्सी- आईसीसी टी–ट्वान्टी विश्वकप अन्तरगत बंगलादेशलाई ८ रनले पराजित गर्दै

केजरीवालको जमानतलाई उच्च अदालतले गरिदियो खारेज

काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले खारेज

स्वस्तिमा र साम्राज्ञीले जसितासँग किन मागे माफी ?

काठमाडौं– नायिका स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मीले जसिता गुरुङसँग