आज वैशाख १७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ३०, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
इरान–साउदी सम्बन्धबाट भारत पनि लाभान्वित हुने
इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः सुरुवात भएपछि त्यसबाट भारतलाई पनि लाभ हुने एक जना कूटनीतिज्ञले बताएका छन् । तेहरान र रियादबीचको सम्झौताले खाडी क्षेत्रमा स्थायित्व र शान्ति कायम हुने र त्यसको लाभांश भारतलाई समेत प्राप्त हुने भारतका लागि इरानी राजदूत इराज इलाहीले बताएका हुन् ।
एक पत्रकार सम्मेलनमा चीनको मध्यस्थतामा इरान र साउदी अरबबीच पुनः प्रारम्भ भएको कूटनीतिक सम्बन्ध भारतका लागि खास चासोको विषय नभएको बताउँदै राजदूत इहालीले फारसको खाडी क्षेत्रमा शान्ति र स्थायित्व सुदृढ हुँदा आप्रवासी भारतीय कामदारले ढुक्क भएर श्रम गर्न पाउने तथा सरकारीस्तरमा पनि पारस्परिक साझेदारी एवम् सहकार्य गर्न सहज हुने धारणा राखे । सुन्नीबहुल साउदी अरब र शियाबहुल इरानबीच पुनस्थितापित कूटनीतिक सम्बन्धले धार्मिक सद्भाव विस्तार गर्न बल पुग्ने उनको भनाइ छ ।
शान्ति एवम् अमनचैन हुँदा विकास निर्माण र नवप्रवर्तनका काममा ध्यान दिन सहज हुने तर्क गर्दै इलाहीले पश्चिम एसिया भारतको प्राथमिकताको क्षेत्र भएकाले दुई देशबीचको सुधारिएको सम्बन्धबाट भारत पनि लाभान्वित हुने बताए ।
इरान–साउदी सम्बन्धबाट क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सुरक्षा सुनिश्चित हुनका साथै त्यसले खाडी क्षेत्रमा मात्र नभई अन्य स्थानमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले उदीयमान अर्थतन्त्र भारतलाई आफ्ना उत्पादनको बजार विस्तार पनि एउटा अवसर हुने उनको भनाइ छ ।
यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पश्चिम एसियाका विभिन्न देशसँग भारतको सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उक्त क्षेत्रमा भारतको स्थायी चासो रहेको बताएका छन् । भारतले सधैँ मतभेदहरू समाधान गर्न वार्ता र कूटनीतिलाई जोड दिएको उनले बताए ।
सुडानमा फेरि भीषण युद्ध सुरु
अफ्रिकी देश सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध सुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ ।
सुडानी सेनाले विपक्षी अर्धसैनिक बल आरएसएफलाई चारै दिशाबाट आक्रमण गरिरहेको बताएको छ । युद्धका कारण घरमै फसेका हजारौँ सुडानी अन्नपानीको अभावमा छटपटाइ रहेका छन् । युद्धकै बीचमा जोखिम मोलेर विदेशी नागरिकलाई भने सम्बन्धित देशका सरकारले सुरक्षित स्थानतर्फ लगिरहेका छन् ।
अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बसिरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्र रुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।
सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।
आरएसएफलाई सेनामा समाहित गर्ने विषयमा सेना प्रमुख अब्देल फताह अल बुरहान र आरएसएफ प्रमुख मोहम्मद हमदान डगालोबीचको मतभिन्नता निरुपण नहुँदा समस्या बल्झेको विश्लेषकले बताएका छन् ।
पन्ध्र दिनअघि सुरु भएको युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको छ भने चार हजार एक सय ९३ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइेत हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको ठानिएको छ । राष्ट्रसङ्घीय निकायले करिब दुई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।
आठ वटा अफ्रिकी मुलुकका साथै अमेरिका, बेलायत र संयुक्त राष्ट्रसङ्घको ७२ घण्टा पुनःयुद्धविराम गराउने गहन कूटनीतिक प्रयास गत बिहीबार सफल भएको र द्वन्द्वरत पक्षले त्यसलाई पालना गर्ने बताएका थिए तर उक्त सहमति पूर्ण रुपले पालना नभएकामा अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
युद्धबाट सुडानका १८ मध्ये १२ वटा राज्य प्रभावित भएका छन् । डार्फर र राजधानी खार्तुम अधिक प्रभावित भएका छन् । राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले युद्ध जारी रहेमा एक करोड ५० लाख सुडानी भोकमरीको चपेटामा पर्ने चेतावनी दिएको छ ।
भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए
भारी हिमपात र भीषण वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्रिनाथ र केदारनाथ धाममा भारी हिमपात भएको तथा समथर भूभागमा भीषण वर्षा भएकाले तीर्थयात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले जनाएको छ ।
आवासका लागि अनलाइन बुकिङ गरेका यात्रीलाई रुद्रप्रयागसम्म जाने अनुमति दिइएको तर बुकिङ नभएका यात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले बताएको छ । श्रीनगरमा यात्रीका निम्ति पर्याप्त आवासको व्यवस्था गरिएको गढवाल प्रहरी प्रमुख रवि सैनीले बताएका छन् । मौसममा सुधार हुनेबित्तिकै उनीहरूलाई गन्तव्यतर्फ प्रस्थानको अनुमति दिइने उनले स्पष्ट गरेका छन् ।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार सबै तीर्थयात्रीलाई कोभिड–१९ लगायत स्वास्थ्यसम्बन्धी सबै परीक्षण समयमै पूरा गर्न आह्वान गरेका थिए । राज्य सरकारले निर्धारण गरेका नियम पालना गर्न उनले सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।
कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत
पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ)को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ । एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन् । अनुसन्धान जारी छ ।
टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार
अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए।
सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले शुक्रबार राति ११ः३० बजेतिर ‘आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन् ।
आठदेखि ४० वर्ष उमेर समूहका ती पीडित परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए । घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरिरले छेकेर बचाएको तर महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए । क्यापर्सले एबीसीको ह्युस्टन स्टेशन केटीआरकेसँग भने, “मेरो विचारमा, उनीहरू वास्तवमा बच्चाहरूको हेरचाह गर्न र उनीहरूलाई जीवित राख्न प्रयास गरिरहेका थिए ।”
सिरियाबारे छलफल गर्न अरब देशका विदेशमन्त्रीहरु जोर्डनमा भेला हुने
लामो समयदेखि सिरियामा जारी द्वन्द्व र यस क्षेत्रमा सिरियाको कूटनीतिक अलगाव अन्त्य गर्ने विषयमा छलफल गर्न अरब विदेशमन्त्रीहरू सोमबार जोर्डनमा भेला हुने जोर्डनी विदेश मन्त्रालयले जनाएको छ ।
सन् २०११ मा द्वन्द्व सुरु भएदेखि नै राजनीतिक रुपमा एक्लिएका सिरियाका राष्ट्रपति बशर अल असदले अरब क्षेत्रमा कुटनीतिक सम्बन्ध सुधारमा भएको प्रगतिको लाभ लिने देखिएको छ ।
दमास्कसको निकट सहयोगी साउदी अरब र इरानले गत मार्चमा कूटनीतिक सम्बन्ध पुनः सुरु गरेपछि पछिल्ला हप्ताहरूमा कूटनीतिक गतिविधिको बाढी आएको छ ।
अम्मानमा सोमबार हुने बैठकमा इजिप्ट, इराक, जोर्डन, साउदी अरब र सिरियाका विदेशमन्त्री सहभागी हुनेछन् ।
वार्ताले सिरियालीसङ्कटको राजनीतिक समाधानमा पुग्नका लागि सिरियाली सरकारसँग यी देशहरूको सम्पर्कको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त भेलालाई खाडी सहयोग परिषद्, जोर्डन, इराक र इजिप्टका देशहरूको परामर्श बैठकको निरन्तरताका रुपमा लिइएको छ । यसलाई साउदी अरबले अप्रिलको मध्यमा आयोजना गरेको थियो ।
सन् २०११ मा दमास्कससँगको सम्बन्ध तोडेपछिको लामो समयसम्मको सिरियाको ‘कूटनीतिक एक्लोपना’ अन्त्य र २२ सदस्यीय अरब लिगमा सिरियाको सम्भावित पुनरागमनबारे छलफल गर्न उक्त बैठकमा नौ अरब राष्ट्र जेद्दामा भेला भएका हुन् ।
साउदी अरबको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कूटनीतिज्ञहरूले सिरियामा जारी सङ्कट अन्त्य गर्ने प्रयासमा अरब नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।”
संयुक्त अरब इमिरेट्स युएईले सन् २०१८ को अन्त्यमा दमास्कससँग पुनः सम्बन्ध स्थापना गरेको थियो । अप्रिलमा सिरिया र ट्युनिसियाले पनि आ–आफ्नो राजधानीमा रहेका कूटनीतिक नियोगहरू पुनः सञ्चालन गर्ने घोषणा गरेका थिए ।
तथापि, दमास्कसको पुनर्मिलनको क्षेत्रीय विरोधीहरू अझै बाँकी छन् । सिरियाली विद्रोही समूहलाई समर्थन गर्दै आएको कतारले सिरिया अरब लिगमा फर्कने विचारलाई ‘अड्कलबाजी’ मात्र भनेको छ ।
सिरियामा भएको १२ वर्ष लामो युद्धका कारण करिब पाँच लाख मानिसको ज्यान गइसकेको छ र त्यहाँको करिब आधा जनसङ्ख्या अहिले शरणार्थी वा आन्तरिक रूपमा विस्थापित भएका छन् ।
केही भूभाग अझै पनि सरकारी नियन्त्रणभन्दा बाहिर छन् ।
असदले खाडीका धनी राजपरिवारसँगको सम्बन्ध पूर्ण सामान्यीकरणले देशको युद्धग्रस्त पूर्वाधारको पुनःनिर्माणमा आर्थिक सहयोग पुग्ने विश्वास गरेका छन् ।
प्रतिक्रिया