बाँदर आतङ्कले किसान हैरानी, कुरुवा बस्दै बित्छ दिन « Khabarhub

बाँदर आतङ्कले किसान हैरानी, कुरुवा बस्दै बित्छ दिन


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको अधिकांश ग्रामीण क्षेत्र जङ्गलसँग जोडिएका छन् । जङ्गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ । हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ ।

यतिबेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन् । बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् ।

उनीहरु यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन् । एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन् । यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नुपर्ने बाध्यतामा उनीहरू छन् ।

जिल्लाको धेरै स्थानमा रातो बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतङ्क मच्चाउने गरेको कृषकले गुनासो गर्दै आएका छन् । हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने गरेको पाइन्छन् । तर बाँदर नियन्त्रणका लागि स्थानीय पालिकाले कुनै नीति नल्याउँदा किसान निराश छन् ।

सयौँको सङ्ख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताए । असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको जनाउँदै उनले अब असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्न नपर्ने बताए । बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘पहिले–पहिले बाँदर कम लाग्थ्यो, अहिले निकै ठूलो सङ्ख्या आउँछन्, दुई–तीन सयको सङ्ख्यामा आउने बाँदरले सिङ्गो बारीको मकै १० मिनेटमै सखाप पारिदिन्छ, त्यही भएर बिहानैदेखि यहाँ बस्नुपर्छ’, उनले भने, ‘के गर्ने बल्लतल्ल दुःख गरेर बाली लाइयो, यहाँ कुरेर बसिएन भने वर्षभरि भोकै बस्नुपर्छ, यो गाउँको सबैभन्दा ठूलो शत्रु नै बाँदर हो, हामी वर्षौँदेखि आजित भएका छौँ, सरकारले यो समस्या समाधानका लागि केही उपाय दिए ठूलो राहत मिल्ने थियो ।’

कतिपय किसानले बाँदरलाई डराउन दिनका लागि बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको डमी बनाएर राखेको देखिन्छन् । पहिले–पहिले कुकुर र डमीदेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको निसीखोलाका किसान निमबहादुर घर्तीले बताए ।

उनले घरमा कम सदस्य हुने परिवारले मान्छे खोजेर भए पनि कुरुवा राख्ने गरेको बताए । बाँदर कुर्दा घरको अन्य काम गर्न नपाउने घर्तीले दुःखेसो पोखे । बाँदरले हैरानी बनाएपछि गाउँका खेतीयोग्य जमिनमा बाली लगाउन छाडिएको उनको भनाइ छ ।

घर्तीले भने, ‘बाँदर नियन्त्रण गर्न धेरै कोसिस गरियो, धेरै उपाय पनि अपनाइयो तर सकिएन, दिनभरि कुरुवा नबसेसम्म बाली जोगिन्न, पहिले–पहिले कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थालेको छ, मान्छे हैरान भइसके, त्यही भएर खेती पनि गर्न छाडे, हामी सानो–सानो हुँदा गाउँमा कुनै पनि बारी बाँझो रहँदैनथ्यो, अहिलेजस्तो बाँदर आतङ्क पनि थिएन, राम्रो उत्पादन हुन्थ्यो, अहिले घर अगाडिकै बारीमा आएर बाँदरले बाली खाइदिन्छ, त्यही भएर पनि मान्छेहरू बसाइँ सरे ।’

बाँदर नियन्त्रणका लागि निसीखोला गाउँपालिका–४ ले अघिल्लो वर्ष रु साढे चार लाख छुट्याएर काम गरेको थियो तर प्रभावकारी भने हुनसकेको थिएन । यस वर्ष नयाँ प्रविधिको प्रयोग गरेर बाँदर नियन्त्रण गर्ने योजना रहेको वडाध्यक्ष टीकानिधि पौडेलले बताए । पछिल्लो समय लेक–लेकबाट मध्यगाउँमै बाँदर आउन थालेको उनको भनाइ छ । कृषकलाई आधुनिक प्रविधिसँग जोडेर बाँदर आतङ्कबाट मुक्त बनाउनका लागि तीनवटै सरकारले सहकार्य गर्नुपर्ने अध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : ४५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि