भैरहवा भन्सारबाट व्यापक तस्करीको आशंका | Khabarhub Khabarhub

भैरहवा भन्सारबाट व्यापक तस्करीको आशंका


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

भैरहवा– एउटा घटना सेलाउन नपाउँदै अर्को घटना भैरहवा भन्सार कार्यालयमा निरन्तर हुँदै गइरहेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले २०७८ पुसदेखि लक्ष्यअनुसारको राजश्व असुल गर्न नसकिरहेको बेला कर छलीको लागि विभिन्न गतिविधि भएका घटनाहरू बाहिरिरहेको छ । 

गत जेठको दोस्रो सातामा कीर्ते प्रज्ञापनमार्फत् भन्सार पास गराउन खोज्दा कार्यालयको ४ नम्बर गेटबाट एक ट्रक माछा बरामद भएको थियो । १० जना आरोपितलाई पक्राउ गरि भन्सार कानुनअनुसार कारबाही थाल्यो । त्यसलगत्तै सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा असारमा दोहोरियो । 

भारतबाट नेपालका लागि भित्रिएको प्याजसहितको मालबाहक ट्रक भन्सार जाँच पासबिनै बाहिरिन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले रोकेका थिए ।  युपी ३१ टी ९९४१ नम्बरको प्याजसहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरि नै लाग्दा कीर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको हो । 

भन्सार छलीकै मनासायले भन्सारमा गत बिहीबार प्लाष्टिकको दाना भनेर भित्र्याइएको ट्रकमा  फरक सामान पाइयो । भन्सार परिसर प्रवेश गर्दा गेटमा स्वघोषणा गरिएकोभन्दा फरक सामान पाइएपछि भैरहवा भन्सार कार्यालयले सामानसहित नेपाली र भारतीय ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा सोमबार पनि सोही प्रकृतिको घटना बाहिरिएको छ । 

औषधिको कच्चा पदार्थ भनी भन्सार परिसरमा भित्रिएको ट्रकमा आइतबार राति ३७ पोका कपडा भेटिएको छ । डिएल १ जिसी ४४४६ नम्बरको ट्रक परिसरमा प्रवेश गरि भन्सारका लागि प्रक्रियामा आएको थियो । ३ दिनदेखि सामान देखाउनका लागि भने पनि आनाकानी गरेको पाएपछि शंका लागेर जाँच गर्दा कपडा र जुत्ता चप्पल भेटिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए । त्यो घटनामा यूपी ८४ टी ५३४७ नं.को ट्रकको पनि संलग्नता पाइएको छ । 

उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एकजना भन्सार एजेन्टसहित दुईजनालाई पक्राउ गरिएको छ । उक्त ट्रकभित्र रहेका कपडाका पोकामा रक्सौल नाका कोड गरिएकोले उक्त सामान काठमाडौं आसपासको हुनसक्ने भन्सार कार्यालयले आंकलन गरेको छ । 

तर, पनि रक्सौलबाट जानुपर्ने ट्रक भैरहवा भन्सार हुँदै प्रवेश गर्नुले भित्रैका केही व्यक्तिको सेटिङमा यहाँबाट ट्रकका ट्रक सामान तस्करी भइरहेको छ भन्ने पुष्टि भएको छ ।  

आइतबार बेलुका भन्सार गेटबाट प्रवेश गरेको उक्त ट्रकभित्र तोकिएभन्दा फरक सामान रहेको भन्ने गोप्य सूचनाको आधारमा निगरानीमा राखिएको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । राति साढे १० बजे सामानको प्रकृति चेकजाँच गर्ने क्रममा पोका खोल्न आलटाल गरेपछि सोमबार बिहानै चेकजाँच गर्ने भनी कर्मचारी घर लागे ।

यही मौका छोपी ट्रकभित्र रहेका १९ वटा पोका रातारात अर्को ट्रकमा स्थानान्तरण गरेको पाइएपछि केहीबेर सोमबार बिहानै भन्सारभित्र हल्लीखल्ली चल्यो । खोज्दै जाँदा उक्त ट्रकभित्र रहेका कपडाका १९ वटा पोका युपि ८४ टी ५३४७ नम्बरको ट्रकमा फेला परेकाले दुवै ट्रकलाई नियन्त्रणमा लिइएको पौडेलले जानकारी दिए ।   

एउटा ट्रकका सामान औषधिको कच्चा पदार्थ भनेर अन्नपूर्ण टमिर्नललाई घोषणा गरेको थियो भने अर्को ट्रक ७२ घण्टे म्यादभन्दा बाहिर भएकोले आइतबार राति भन्सार परिसरमा आएको थियो । औषधिको कच्चा पदार्थ भनिएको ट्रक शंकास्पद देखिएपछि जाँचका लागि भन्सारले भनिरहदा संलग्नहरुले आइतबार गएको खाली ट्रकमा ती कपडा र जुता चप्पलका सामान व्यवस्थापन गर्दै गरेको अवस्थामा घटना बाहिरिएको हो । 

सामानको मूल्यांकन भइरहेको छ । अनुसन्धानको क्रममा केही व्यक्तिको नाम आएको छ भने केही संलग्नहरु विगतको घटनामा पनि सामेल भएको पाएपछि वारेन्ट नै जारी खोजीको काम भइरहेको भन्सार प्रमुख पौडेलले बताए ।

ती तस्करको विवरणसहित सीआईबीलाई अनुसन्धानका लागि पठाइएको उनले बताए । यसमा ठुलो गिरोहको संलग्नता रहेकोले यसलाई संगठित अपराधमा मुद्दा दर्ता गरेर सीआईबीलाई अनुसन्धानका लागि जिम्मा दिने तयारी रहेको पौडेलले जानकारी दिए ।

विगतको घटनाको कारबाही सम्बन्धमा १३ जनालाई अनुसन्धानपश्चात कारबाही गरिएको भन्सारले जानकारी दिएको छ । जसमध्ये चारजना धरौटीमा रिहा भएका छन् भने नौजना धरौटी रकम जम्मा गर्न नसक्दा थुनामै छन् । थप तीन जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णय दोस्रो मुलुकबाट व्यापार गर्ने जुनसुकै कम्पनीले अनिवार्य एलसी खोल्नुपर्ने भएपछि झन्झटिलो प्रक्रिया भन्दै साना व्यापारीहरूले तस्करको सहारा लिएको भन्सार प्रमुखको तर्क छ । 

अहिले सिजन पनि देशमा  कपडाको माग बढ्दो र वैधानिक आयात झन्झटिलो भएकोले तस्करले ठाउँ पाएका उनले बताए । खुला सीमानाका कारण  भन्सारमा चोरी तस्करी बढेको र नेपाली बजार सुकेको भन्दै सर्वसाधारणलाई १ सय रुपैयाँमाथिको सामानको भन्सार शुल्क लिइने गरेको छ ।  

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १२ : ४७ बजे

कांग्रेसबाट लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरू कपिलवस्तुमा बहिष्कृत  

काठमाडौं– नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी

म्याग्दीलाई हेपेको गुनासो गर्दै माओवादी सांसदले सभामुखकै अगाडि च्याते बजेट पुस्तिका

पोखरा- गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका एकजना सांसदले रोष्ट्रममै बजेट

विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२-८३ को

सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालन

 किमाथांका– सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण

ऊर्जामन्त्रीले भने- आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्छौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत तथा