आर्थिक

धनुषाको बाल मन्दिरलाई खर्च धान्न मुस्किल

By खबरहब

September 30, 2023

जनकपुरधाम– जिल्ला बाल सङ्गठन धनुषाको स्वामित्वमा रहेको जनकपुरधामस्थित श्री आधारभूत विद्यालय (बाल मन्दिर)बारे जानकारी नभएका सायद कोही होलान् ।

विसं २०३३ देखि सञ्चालित बाल मन्दिरले गरिब तथा असहाय बालबालिकाको पठनपाठन र लालनपालनको जिम्मेवारीसमेत सम्हाल्दै आएकाले पनि परिचित थियो । तर विसं २०७४ पछि भने यहाँ अन्य सार्वजनिक सामुदायिक विद्यालयमा जस्तै नियमित पठनपाठन मात्रै भइरहेको छ ।

कक्षा सातसम्म अध्ययन अध्यापन हुने बाल मन्दिरमा अहिले दुई सय ६४  विद्यार्थी छन् । त्यसैगरी प्राविमा तीन, निमाविमा एक, बाल विकासमा दुई, स्वयंसेवक दुई र कार्यालय सहयोगी एक जना गरी नौ शिक्षक कर्मचारी कार्यरत छन् । 

यसमध्ये प्राविका तीन स्थायी शिक्षकबाहेक ६ जना करारमा काम गरिरहेका छन् । करारमा काम गर्ने छ मध्ये सहयोगीसहित तीन (दुई स्वयंसेवकसहित) को तलब बाल मन्दिर आफैँले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ ।

कुनै बेला जनकपुर क्षेत्रमा प्रसिद्ध यो बाल मन्दिर पछिल्लो समय भने समस्याले घेरिँदै छ । आर्थिक अभावले शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन गर्न नसक्दा विद्यार्थी घट्दो क्रममा छन् ।

आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने कर्मचारीलाई तलब खुवाउनै मुस्किल छ । रेखदेख, नियमन र व्यवस्थापनका लागि विसं २०७४ मा पुरानो समिति विघटन भएपछि अभिभावकत्व निर्वाह गर्ने कुनै समिति छैन । यसले गर्दा समस्यामाथि समस्या छन् । 

आर्थिक अभावले अतिरिक्त शैक्षिक गतिविधि सञ्चालन र कर्मचारीलाई तलब खुवाउन समस्या भोगिरहेको यस विद्यालयमा आन्दानीको आन्तरिक स्रोत नभएको पनि होइन, वार्षिक छ लाखभन्दा बढी त भाडा रकम मात्रै उठ्नुपर्नेछ । 

तर त्यसरी भाडा तिर्ने सहमतिसहित बाल मन्दिरकै संरचनामा उच्च तहको शिक्षा दिइरहेको एउटा निजी क्याम्पसले नियमितरुपमा भाडा नतिर्दा निकै समस्या भएको प्रधानाध्यापक श्यामप्रसाद साहले जानकारी दिए ।

बाल मन्दिरकै संरचनामा विगत करिब २५ वर्षदेखि भाडामा सञ्चालित सो पब्लिक युथ क्याम्पसले भाडाबापतको करिब ३४ लाख बक्यौता तिर्न बाँकी हुँदा शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन र विगत ६–७ सात महिनादेखि आन्तरिक स्रोततर्फका कर्मचारीलाई तलब खुवाउनसमेत नसकेको उनको गुनासो छ । 

यसले गर्दा गुणस्तरीय शिक्षण सिकाइ र अतिरिक्त क्रियाकलाप सञ्चालन हुन नसक्दा भएकै विद्यार्थी पनि घट्दो अवस्थामा रहेका र तलब खुवाउन नसक्दा शिक्षक पनि निराश रहेका उनको भनाइ छ ।

जिल्ला बाल सङ्गठनका पूर्वअध्यक्ष रामरतन मिश्रले पवित्र सामाजिक कार्य गर्ने उद्देश्यसहित स्थापित बाल मन्दिरको संरचना प्रयोग गरेर भाडा नतिर्नु दुःखद भएको बताए । 

विसं २०७४ अघिसम्म आफू अध्यक्ष हुँदा पनि भाडा असुल गर्न समस्या हुने गरेको स्मरण गर्दै उनले अहिले ३४ लाखभन्दा बढी भुक्तानी नगरेको सुन्दा नरमाइलो लागेको बताए ।

त्यसैगरी जिल्ला समन्वय समिति धनुषाका संयोजक राजनन्दन मण्डलले बाल मन्दिरले भाडा असुलीका लागि सहजीकरण गरिदिन भनी जिल्ला प्रशासनलाई पठाएको पत्रको बोधार्थ प्राप्त भएपछि समन्वयको प्रयास गर्दा पनि निकास ननिस्किएको बताए ।

पब्लिक युथ क्याम्पसमा स्नातकसम्मको पढाइ हुन्छ । जहाँ करिब पाँच सय विद्यार्थी छन् । बाल मन्दिरका १४ कोठा पूर्णकालीन रुपमा र पाँच कोठा बिहान ६ बजेदेखि ९ः४५ बजेसम्म प्रयोग गर्ने गरी विसं २०७२ साउन १ गतेदेखि लागू हुने गरी अन्तिम पटक जिल्ला बाल सङ्गठनका तत्कालीन अध्यक्ष रामनरेश मिश्र र क्याम्पस सञ्चालक शिवनारायण झाबीच सम्झौता भएको थियो ।

सम्झौतानुसार प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरी सुरुमा वार्षिक चार लाख ८० हजार भाडा तय भएकामा अहिले त्यो दर ६ लाख ३८ हजार ८० पुगेको छ । 

पब्लिक युथ क्याम्पसले थप विजुली, पानी र टेलिफोनको समेत शुल्क तिर्ने सम्झौता छ । तर यो सबै गरी हालसम्म ३४ लाखभन्दा बढी रकम बक्यौता रहेको बाल मन्दिर व्यवस्थापन पक्षको भनाइ छ ।

युथ क्याम्पसका सञ्चालक शिवनारायण झाले भने क्याम्पस सञ्चालनका लागि भौतिक संरचना निर्माण र अन्य व्यवस्थापकीय काममा समेत लगानी गरेकाले बाल मन्दिरले दाबी गरे जति बक्यौता रकम तिर्न बाँकी नरहेको दाबी गरे । उनका अनुसार संरचना निर्माण, कोभिड महामारीका बेला आठ महिनाको भाडा मिनाहा गर्ने निर्णय कार्यान्वयन र बीचबीचमा भुक्तानी गरेको रकमको हिसाब गर्दा धेरै बक्यौता छैन ।