'राजनीति जागिर होइन, महासमिति बैठकमा उमेर हदको विषय उठ्दैन' | Khabarhub Khabarhub

‘राजनीति जागिर होइन, महासमिति बैठकमा उमेर हदको विषय उठ्दैन’


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले आज ४८औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदैछ । ‘खबरहब’ले कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासँग कांग्रेस महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन र गठबन्धनको भविष्यका बारेमा समसामयिक कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ।

यहाँहरूले महासमिति बैठक सारेको सार्‍यै  हुनुहुन्छ  । राष्ट्रियसभा निर्वाचन अगाडि महासमिति बैठक गरे पार्टीमा उथलपुथल हुने र निर्वाचनमा वर्तमान गठबन्धन पनि फुट्ने डरले महासमिति बैठक सारिएको भन्ने एकथरि कांग्रेसको भनाइ छ । स्थिति पनि त्यस्तै देखियो नि हैन ?

म हरेक पदाधिकारी, कार्यसम्पादन समिति र नेताहरूको अनौपचारिक बैठकमा उपस्थित छु । बैठक सार्नुको कारण पार्टीको आन्तरिक, साङ्गठनिक र परिस्थितिजन्य अवस्थाले हो । भूकम्प नआएको भए महासमिति बैठक सर्ने सम्भावना थिएन । महासमिति बैठक सार्नुकाे अर्को कारण गठबन्धनमा राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न नभ्याइने भएर पनि हो । यी विभिन्न कारणले फागुन ७ मा बैठक गर्ने निर्णयमा सबैको सहमति भएको हो । बैठक सार्नुमा सभापति देउवाको मात्र हात छ भन्ने आरोप गलत हो । कसैको विमति थिएन ।

महासमिति बैठक नीति महाधिवेशनमा जाने कुरा छ । यो कस्तो खालको हुन्छ प्रष्ट पार्नुस् न ?

बैठकमा चार प्रस्ताव आउँछन् । त्यसमा छलफल हुन्छ । पहिलो नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्काले लेख्दै हुनुहुन्छ । दोस्रो सांगठनिक प्रस्ताव जुन महामन्त्री गगन थापाको नेतृत्वमा लेखिँदै छ । तेस्रो समसामयिक राजनीतिक प्रस्ताव जो अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्दै हुनुहुन्छ । चौथो आर्थिक प्रस्ताव छ यो कार्यालयले तयार पार्दै छ । यी चार प्रस्ताव आउँछन् । यी चार प्रस्तावले मुलुकका अघिल्तिर देखिएका सबै अन्योल अस्थिरता र विसङ्गति चिर्न सफल हुनेछ ।

यो महासमिति बैठकमा नेतृत्वको उमेर हदको कुरा उठ्छ कि उठ्दैन ?

उठ्दैन, लोकतन्त्रमा उमेर हदको कुरा छैन । क्षमता, योग्यता र अनुभवको कुरा हो । राजनीति स्वेच्छिक हुने भएकाले यसको कुनै उमेर हद हुँदैन भन्ने कांग्रेसको निर्णय छ । यो अनिवार्य जागिर होइन । यति वर्षकाले प्रवेश पाउने र यति वर्षसम्म गर्ने भन्ने छैन । संसारको इतिहास हेर्दा उमेरको कुनै तुक छैन । शैक्षिक विषयलाई हामी जबरजस्ती  गर्दैनौँ । उमेर हद लगाएका राजनीतिक दलले पनि सच्याएका छन् ।

राष्ट्रिय सभा सदस्य बनाउने मापदण्डका विषयमा कांग्रेसभित्र विभिन्न दृष्टिकोण आएका छन् । महामन्त्री गगन थापाले त सभापति देउवाले गोजीमा बोकेर हिँडेको नामलाई अरुले ताली बजाउने हो भन्नु भएको छ । यसपल्ट पनि त्यही दोहोरिने हो ?

त्यो उहाँको व्यक्तिगत कुरा भयो । हामीले हरेक निर्णय केन्द्रीय समिति र कार्यसम्पादन समितिबाटै अनुमोदन गर्छौँ । कसैलाई त्यसमा चित्त नबुझेको हुन सक्छ । तर यो निर्णय सबै उहाँहरू समेत बसेर भएको हो । उहाँले के भन्नुभयो त्यो विषय हो । तर, यो पटक कांग्रेसले अवसरबाट वञ्चित योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिनेमा कुनै कन्जुस गरेको छैन । प्रदेशबाट आएका नाम पनि त्यस्तै छन् । सभापतिज्यू पनि नयाँलाई अवसर दिने सोचमा हुनुहुन्छ । ठूलो पार्टी भएकाले विभिन्न विषयमा कुराकानी हुने नै भयो ।

तर चर्चा त पुराना नेताकै छ नि होइन र ?

नेता पुराना भनेर पनि भएन । हामीले अवसर नपाएका पनि भनेका छौँ । पुरानाले पनि अवसर नपाएको हुन सक्छ । पार्टीको योगदानलाई त मुल्याङ्कन गर्नुपर्छ नि । प्रदेशले सिफारिस गरेका नाम बाहेक अरू नाम आउँदैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहनशील समझदार हुनुहुन्छ ।

कांग्रेसमा सभापति बाहेक अरूले बोलेको कुराको अर्थ छैन भन्छन् । अभ्यासले पनि त्यही पुष्टि गर्छ । अहिले पनि त्यही नदोहोरिने आधार के छ ?

सभापतिमा सबैलाई मिलाएर लाने लोभलाग्दो र नेतृत्वदायी क्षमता छ । सभापतिले निर्देशन दिने हो । सभापतिको क्षमता आफ्नो विषयमा सबैलाई सहमत गराउने छ । सभापतिले यस विषयमा सबैसँग छलफल गर्नुहुन्छ । देउवा कम बोल्ने र लिडरसिप क्षमता भएको व्यक्तित्व हुनुहुन्छ । उहाँले बोलेको कुरा पुरा नभएको कतै पनि छैन । सबैको कुरा सुनेर अन्त्यमा निर्णय गर्नुहुन्छ ।

अब अलिकति गठबन्धनको विषयतर्फ लागौँ, वर्तमान गठबन्धन ०८४ सम्म नै टिकाउने हो ?

पक्का जान्छ । तीनजना नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहनशील समझदार हुनुहुन्छ ।  विषय परिस्थिति अनुसार बनेको गठबन्धन भएकाले यसको यात्रा लामो छ । पछिल्लो समय जोडिएको जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि उत्तिकै जिम्मेवार नेता हुनुहुन्छ । यो गठबन्धन कसिलो छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बनेको जस्तो कमसल खालको छैन । हाम्रो प्राकृतिक गठबन्धन हो । सरकारको १ वर्ष पुरा भयो । सहमति अनुसार समय अझै १ वर्ष बाँकी छ । त्यो बाँकी रहँदै गर्दा दलहरूको बीचमा नै अगाडि बढ्छ । अहिलेसम्म गठबन्धन दलमा कुनै किसिमको बेमेल, तिक्तता छैन । प्रधानमन्त्रीले मिलाएर लानुभएको छ । गठबन्धनमा अहिले कुनै समस्या छैन ।

कांग्रेसलाई जनताले पहिलो पार्टी बनाए तर ३२ सिटको माओवादीलाई प्रधानमन्त्री मानेर प्राकृतिक गठबन्धन हो भन्दै बस्नुको पीडा त यहाँहरूलाई कम छैन होला ?

एउटै पार्टीको बहुमत नपुग्ने भएकाले यो त अनिवार्य छ । मेरो ७८ सिट छ नि भनेर मैले सरकारको नेतृत्व माग्दा गठबन्धन टुट्यो भने प्रधानमन्त्री कोही नहुँदा जनताले झन् दुःख पाउँछन् । त्यस कारण गठबन्धनमा सामेल भइसकेपछि हामीले  सबैलाई समेटेर लानुपर्छ । सिटले नभएर नेतृत्व र प्रभावले फरक पार्छ भन्ने हाम्रो बुझाइ रह्यो । यो गठबन्धनको नीति हो । गठबन्धनमा एकअर्का प्रति सहअस्तित्व र समान व्यवहार छ ।

एक दुईजना आफ्नो स्वार्थका लागि गठबन्धनबाट अलग हुनुपर्छ भन्ने साथीहरू हुनुहुन्छ ।

तर एक पक्षीय कांग्रेसले त सरकारको तीब्र आलोचना गरिरहेको छ । यहाँहरूले त्यो कुरा नै नसुन्ने बरु मिलिजुली खाउँ अरु कराउँदै गर्छन् भन्ने नीति लिनुभएको हो ?

जिम्मेवारी बोध हुनेले दूरदर्शी निर्णय दिने हो र त्यसै अनुसार बोल्ने हो । जिम्मेवारी बोध भएन भने मनका कुरा पोख्ने हो । हाम्रो पार्टीमा यस्ता गतिविधि चल्नु सामान्य हो । आफ्नै पार्टीको मान्छे  प्रधानमन्त्री हुँदा पनि अन्य दृष्टिकोण आउने गरेकै हो । विषय उठ्छन्, कुनै पनि विषय समाधान बिनाको हुँदैन । त्यसलाई संवाद, सहकार्य र सहमतिअनुसार अगाडि लिएर जान्छौँ । महामन्त्री तथा केन्द्रीय सदस्यले उठाउनु भएको विषयलाई नेतृत्वले स्वीकार गरेकै छ । सौहार्द्रपूर्ण तरिकाबाट बहस भएको छ । सम्बोधन हुन्छ । जनादेश अनुसार नै गठबन्धन सरकार बनेको हो । जनभावनाको कदर नहुने त प्रश्नै रहेन ।

सरकारको बारेमा बैठकमा कतिको बहस चल्छ ? गठबन्धनमा नबसौँ भन्ने विचार त आउँदैन ? 

उठ्छ । धेरै साथीहरूले उठाउनु हुन्छ । हिजो पनि उठेको छ । सभापतिले भन्नुभयो, ‘त्यो बेला मैले मात्र गठबन्धनमा जाने भनेको हो र ? हामी सबै बसेर निर्णय गरेको हो । नजाने भए नजाने भनेको भए हुन्थेन ?’ भन्दा फेरि कोही बोल्नु भएन । एक दुईजना आफ्नो स्वार्थका लागि गठबन्धनबाट अलग हुनुपर्छ भन्ने साथीहरू हुनुहुन्छ । हाम्रा मन्त्रीहरूलाई राम्रो काम गर्न सभापतिले निर्देशन समेत दिनुभएको छ । राम्रो काम नभए मन्त्रीहरू फेरबदल हुनु स्वाभाविक हो । तर गठबन्धन फुट्दैन ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  २ : ५६ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार