बाजुराको उत्पादन हुम्लामा « Khabarhub

बाजुराको उत्पादन हुम्लामा


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सिमकोट– छिमेकी जिल्ला बाजुरामा उत्पादन गरिएका डोको, नाम्लोलगायतका सामग्री हुम्ला आयात हुँदै आएका छन् । माथिल्लो हुम्ला सदरमुकाम सिमकोट आसपासका नागरिक हिउँदयाममा छिमेकी जिल्ला बाजुराका विभिन्न स्थानमा पुगी डोको खरिद गरेर यहाँ ल्याएर बिक्री गर्दछन्। 

हिउँदको समयमा काम नहुने सबै फुर्सदिला हुने हुँदा घरखर्च चलाउन बाजुरामा उत्पादन भएका डोको ल्याएर सदरमुकाम आसपासका गाउँमा बिक्री गर्ने चलन रहेको छ । टाढाको दूरी तीन दिन लगाएर बाजुरामा पुगी त्यहाँबाट सडक नभएको ठाउँमा पिठ्युमा बोकी र यातायात आवतजावत गर्ने ठाउँमा गाडीको भाडा तिरेर सदरमुकाम ल्याउने गरेको सिमकोट गाउँपालिका–७ चौगनफया गाउँका रमेश शाहीले बताए । 

स्थानीय शाहीले भने, ‘बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेमा उत्पादन गरिएका डोको हुम्लामा बिक्री गर्न खरिद गरी ल्याएका छौँ, अहिले सदरमुकाम आसपासका गाउँमा लिएर बिक्री भइरहेको छ ।’ ढम्कनेबाट एक सय ५० डोको सिमकोट ल्याएको उनले बताए । सिमकोट पुर्याइएका डोको यता बिक्री नभए चीनको ताक्लाकोट लैजानेसमेत शाहीको भनाइ थियो । 

हुम्लाबाट डोका ताक्लोट पुर्याएपछि त्यहाँ बिक्री हुने शाहीले बताए । निगालोको चोयाबाट हातले उत्पादन गर्न सकिने परम्परागत डोकोको सिमकोटसम्म आइपुग्दा एक हजार आठ सयदेखि दुई हजारका दरले बिक्री भइरहेको शाहीले बताए। ढम्कनेमा छ सयदेखि आठ सयसम्म पर्ने गरेको भए पनि हुम्लाको सिमकोटसम्म आउँदा गाडीभाडालगायतका खर्चले गर्दा महँगो मूल्यमा बिक्री गर्नुपरेको उनले बताए। 

जंगलमा पाइने निगालोको चोयाबाट उत्पादन हुने डोको एकदेखि चार किलोग्रामसम्म हुने गरेका छन् । डोको बुन्ने सीप भएकालाई बुन्न सजिलो हुने गरेको भए पनि जंगलमा गएर निगालो संकलन गर्न समय लाग्ने र दुःख हुने गरेको शाहीले बताएका छन् । सिमकोट बजारस्थित एयरपोर्ट चोकमा डोको बिक्री गर्दै गरेका शाहीले भने, ‘आजभोलिको समयमा निगालो ल्याउन पनि डिभिजन वन कार्यालयमा गएर पुर्जी काट्ने र त्यसपछि मात्र निकासी गर्न पाउने कारणले समस्यासँगै दुःख थपिएको छ ।’

विगत केही समयदेखि निगालोका डोका, डाला, छुन्का, सुप्पा, खार्या, छाप्री, पाथो, थुन्कोलगायतका सामग्री खरिद गरेर आफ्नो मूल्यमा बिक्री गरी गुजारा गर्दै आएको शाहीले बताए ।

बाजुराको बडिमालिका–७ स्थित ढम्कनेबाट बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, हुम्लाको ताँजकोट, अदानचुली गाउँपालिका हुँदै सर्केगाड गाउँपालिकाको गिउँसीसम्म गाडीमा र गिउसीदेखि खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका गाउँसम्म डुलाउँदै बिक्री गर्ने गरेको उनले बताए।

गाउँमा अन्य आम्दानीको स्रोत फेला नपारेका ३४ वर्षका शाही अहिले सोही पेसामा रमाउन थालेका छन् । उनले अहिले दिनभरि पिठ्युँमा डोकाको भारी लिएर गाउँ चहार्ने आफ्नो दैनिकीजस्तो बन्दै गएको बताए । गाउँमा जाँदा दिनमा चारदेखि सात जति डोको बिक्री गरेर रु १० देखि १५ हजारसम्मको आम्दानी हुने गरेको छ । उनका अनुसार खरिद र गाडीको ढुवानी जोड्दा फाइदा थोरै आउने गरेको छ ।

शाहीले आफैँले डोको बुनेर बेचे मनग्य फाइदा हुने बताए। आफ्नो गाउँको जंगलमा निगालो नहुने र आफूलाई डोको बुन्ने सीपसमेत नभएकाले अर्काले बुनेको डोको भए पनि त्यहीँ खरिद गरेर बिक्री गर्ने गरेको उनको भनाइ छ । आजभोलि बजारमा प्लाष्टिकका डोको, डालो आकारका सामग्री आएकाले पनि यसको व्यापार घट्दो क्रममा रहेको उनी बताउँछन्। 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  १ : ४८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल